सन् १९९३ यता नेपाली रुपैयाँ र भारुको विनिमय दर एक भारु बराबर १ रुपैयाँ ६० पैसामा यथावत् छ । अमेरिकी डलर, बेलायती, पाउन्ड वा जापानी येन र चिनियाँ युआनको तुलनामा नेपाली रुपयाँ दैनिक रुपमा घटबढ हुन्छ तर नेपाली रुपैयाँ र भारतीय रुपयाँबीचको विनिमय दरमा हेरफेर हुँदैन ।
बुधबार डलर रुपैयाँ विनिमय दर पहिलो पटक १२७ रुपयाँ तल आयो । अर्थात् उक्त दिन एक डलर किन्न नेपालीहरुले १२७ रुपयाँ ३० पैसा खर्च गर्नु पर्यो । नेपालीहरुको लागि डलर यति महँगो भएको यो इतिहासमै पहिलो पटक थियो । अमेरिकी डलरको तुलनामा भारुको तीव्र अवमूल्यन जारी रहँदा हालैका हप्ताहरुमा कयौं पटक डलरको तुलनामा नेरु कीर्तिमानी न्यून स्तरमा झरेको छ । मंगलबार भारतीय मुद्रा बजार बन्द हुँदा डलरको तुलनामा भारुको भाउ ४१ पैसाले घटेर ७९ रुपयाँ ३६ पैसाको कीर्तिमानी न्यून स्तरमा झरेको थियो । भारुको भाउ यो वर्षको अहिलेसम्मको अवधिमा ५ रुपयाँ २ पैसाले घटिसकेको छ । भने सोही अवधिमा डलरको तुलनामा नेरुको भाउ पनि ८ रुपैयाँ ६ पैसा घटेको छ ।
सीमापार डलर बलियो बनेको अनि भारतको पूँजी बजारबाट विदेशी लगानी बाहिरने क्रम जारी रहँदौ पछिल्लो समय रुपयाँको भाउ दबाबमा परेको छ । भारतको अपेक्षाकृत कमजोर निर्यात तथ्यांकका कारण रुपयाँमाथिको दबाब बढेको हो । हुन त पछिल्लो समय डलरको तुलनामा तीव्र अवमूल्यनको सामना गर्ने भारु एक मात्रै उदीयनमान बजारको मुद्रा भने होइन । यस अवधिमा डलरको तुलनामा फिलिपिनी पेसो ७ दशमलव ७ प्रतिशत, मलेशियाली रिङ्गिट ५ दशमलव ७ प्रतिशत, दक्षिण कोरियाली वन ८ दशमलव ६ प्रतिशत, इन्डोनेशियाको रुपी ४ दशमलव ९ प्रतिशत र टर्किश लिरा २१ दशमलव ८ प्रतिशतले घटिसकेको छ । तर नेपालको सबैभन्दा ठूलो व्यापार साझेदार भएको अनि नेरुलाई भारुँसग स्थिर रुपमा आबद्ध गरिएको र भारु डलरको विनिमय दरले नेपाली रुपैयाँ डलरको विनिमय दर निर्धारण गर्ने भएकोले पनि भारुको भाउमा पछिल्लो समय भइरहेको तीव्र अवमूल्यन नेपालीको लागि टाउको दुखाइको विषय बनेको छ ।
आबद्धताको इतिहास
एउटा देशको मुद्रालाई अर्को देशको मुद्रासँग स्थिर आबद्धता राखिँदा जस्तो सुकै अनुकूल वा प्रतिकूल अवस्थामा पनि ती दुई देशबीचको मुद्रा विनिमय दर स्थिर रहन्छ । सन् १८७० र सन् १९१४ को बीचमा विश्वभर विनिमय दर सुनसँग स्थिर थियो । सबै मुद्राको भाउ सुनसँग जोडिन्थे । सन् १९४४ मा ब्रेटन वूड्ज सम्झौतापछि नयाँ अन्तरराष्ट्रिय मुद्रा प्रणाली स्थापना भयो । यसले स्वर्ण मापदन्डलाई विस्थापित गर्दै अमेरिकी डलरलाई विश्वव्यापी मुद्राहरुसँग आबद्धको बाटो खोलिदियो । यो मापदन्डमा डलरलाई सुनसँग प्रतिऔंस ३५ डलरमा आबद्ध गएिको थियो । यो प्रणाली पनि सन् १९७१ सम्म चल्यो ।
यो प्रणालीमा महँगी, आर्थिक वृद्धिदर र वित्तीय प्रणाली सबैमा स्थिरता न्यून थियो । पटक पटक आर्थिक मन्दी आइरह्यो । उपभोक्ता मूल्यमा तीव्र उतारचढाव देखियो र कयौं पटक बैंकिङ संकट पनि उत्पन्न भए । यस्तोमा अमेरिकामा आकाशिएको महँगी नियन्त्रण गर्न र डलर बेचेर सुन थुपार्ने प्रवृत्तिका कारण वित्तीय प्रणाली दबाबमा पर्ने अवस्था रोक्न तत्कालीन अमेरिकी राष्ट्रपति रिचर्ड निक्सनले स्वर्ण मापदन्ड खारेज गरे । यो घटना निक्सन झट्का भनेर पनि चर्चित छ । यसपछि स्वतन्त्र अस्थायी विनिमय दर शुरु भयो ।
नेपाली रुपयाँ र भारुसँगको आबद्धता
नेपालमा रुपैयाँ सन् १९३२ मा प्रचलनमा आएको हो । सन् १९५६ मा केन्द्रीय बैंकको रुपमा नेपाल राष्ट्र बैंकको स्थापना भयो र बैंकले नेरु र भारु दुबैलाई वैधानिक मुद्राको मान्यता दियो । सन् १९५७ मा नेपाल मुद्रा प्रचलन र विस्तार ऐन आएपछि द्वैध मुद्रा प्रणाली खारेज भयो । अनि राष्ट्र बैंकले सय भारु बराबर १६० नेपाली रुपैयाँमा नेरुलाई भारुसँग आबद्ध गर्यो । आर्थिक वर्ष १९६४÷६५ देखि आर्थिक वर्ष १९९२÷१९९३ को बीचमा भारु नेरुबीचको आबद्धता दर कयौं पटक परिवर्तन भए । यस बीचमा सात पटक विनिमय दर घट बढ गरेर थोरैमा सय भारु बराबर १०१ नेपाली रुपैयाँदेखि बढीमा सय भारु बराबर १६८ नेपाली रुपैयाँ सम्म कायम गरियो ।
सन् १९६६ मा भारतले भारुको तीव्र अवमूल्य गरेको बेलामा सय भारु बराबर १०१ नेरु कायम भएको थियो । सन् १९८५ देखि सन् १९९० को बीचमा विनिमय दर सय भारु बराबर १६८ नेरु रह्यो । तर सन् १९९३ यता यो सय भारु बराबर १६० नेपाली रुपैयाँमा स्थिर छ । अर्थात् गएको झन्डै तीन दशकमा आबद्धता दरमा कुनै हेरफेर भएको छैन । सन् १९६२ मा ल्याइएको विदेशी विनिमय नियमन ऐनले नेपाली रुपैयाँलाई अन्य मुद्रासँग परिवत्र्यको अनुमति दिएको भएपनि सन् १९९३ को फेब्रुअरी १ मा दुई देशका मुद्राको मूल्य समायोजना गरिएयता यसलाई चलाइएको छैन ।
किन गरियो भारुसँग आबद्धता ?
भारत नेपालको सबैभन्दा ठूलो व्यापार साझेदार हो । नेपालमा आयात हुने अधिकांश सामान भारतबाटै आउने गरेको छ । भारु तुलनात्मक रुपमा शक्तिशाली मुद्रा हो । अन्तरराष्ट्रिय बजारमा उच्च माग र आपूर्तिका कारण पनि भारु स्थिर छ । नेपाल राष्ट्र बैंकले नेरुको भाउ स्थिर बनाउन र क्षेत्रीय स्तरमा तुलनात्मक रुपमा शक्तिशाली मानिने मुद्रासँग आबद्ध गरेर अन्तराष्ट्रिय बजारमा नेरुको विनिमय दरलाई टेवा दिन नेरु–भारुबीच स्थिर सटही दर कायम गरेको हो । तर यो प्रणालीका कारण भारतसँगको निर्भरता बढेको छ ।
भारतबाट आयात घट्नुको सट्टा झन झन बढ्दै गइरहेको छ । सन् २००६ देखि सन् २०२१ को बीचनमा भारतबाट आयात वार्षिक १५ दशमलव ८३ प्रतिशतको चक्रिय दरमा बढेको नेपाल राष्ट्र बैंकको तथ्यांकले देखाएको छ । स्थिर आबद्धताका भारतीय अर्थतन्त्रमा देखिने कुनै पनि सानो ठूलो झट्काको प्रभाव नेपाली अर्थतन्त्रमा पनि उत्तिकै वा सो भन्दा पनि जोडसँग देखिने गरेको छ । भारतलाई हाँच्छियू लाग्यो भने नेपाललाई पनि रुँघाले समात्छ भन्ने भनाई त्यतिकै आएको होइन ।
भारतीय केन्द्रीय बैंक ‘रिजर्भ बैंक अफ इन्डिया’ (आरबीआई)को मौद्रिक नीतिमा हेरफेर अनुसार अन्य मुद्राका तुलनामा भारुको मूल्यमा हेरफेर भइरहन्छ । पछिल्लो समय अमेरिकी केन्द्रीय बैंकले धमाधम ब्याजदर बढाइरहेको अवस्थामा भारतीय शेयर बजारबाट विदेशी लगानीकर्ताहरुले धमाधम लगानी फिर्ता गरिरहेका छन् । यसका कारण भारु तीव्र दबाबमा आएको छ । रुसले युक्रेनमाथि आक्रमण गरेयता विश्व बजारमा कच्चा तेलको भाउमा भएको वृद्धिका कारण भारतको व्यापार घाटा र चालु खाता घाटाा फराकिलो बन्ने चिन्ताबीच पछिल्लो समय डलरको तुलनामा भारु कमजोर भएर कीर्तिमानी न्यून स्तरमा आएको छ ।
यसको प्रभावस्वरुप डलरको तुलनामा नेरुको भाउ पनि यस अघि कहिले नदेखिएको स्तरमा ओर्लिएको छ । भारुसँग नेरुको आबद्धताको एउटै मात्र विकल्प भनेको अस्थायी विनिमय दर व्यवस्था अर्थात् अन्य मुद्राका तुलनामा नेपाली रुपयाँको दैनिक रुपमा हुने आपूर्ति र मागका आधारमा विदेशी मुद्रा विनिमय बजारले नेरुको भाउ निर्धारण गर्नु हो । डलरको तुलनामा भारुको तीव्र अवमूल्यनको कारण भारुसँग नेरुको आबद्धता हटाउनु पर्छ भन्ने बहस पनि बेला बेलामा चर्किने गरेको छ ।
तर अहिलेको अवस्थामा यो बहस छेड्नै नहुने बताउँछन् अर्थशास्त्री केशव आचार्य । ‘अहिले यो बहस छेड्नु नेपाली अर्थतन्त्रको लागि घातक हुन्छ,’ उनले भनेका छन् । अहिले डलरको भाउ भारतीय अर्थतन्त्रको विद्यमान अवस्थाका कारण घटिरहेको र भारतीय अर्थतन्त्र बलियो बनेपछि भारु बलियो बन्ने र सोही अनुरुप नेरुको भाउ पनि सुध्रिने उनले बताए । आबद्धता हटाउने भएपनि नेपालको निर्यातमा उल्लेख्य वृद्धि गर्ने, नेपाली रुपैयाँ कमजोर बन्दा सोलाई टेवा दिने चाहिने पर्याप्त विदेशी विनिमय सञ्चिति थुपार्नेलगायत कदमहरु चालेर मात्रै यसबारे सोच्नु पर्ने उनी बताउँछन् । के गर्दा ठिक हुन्छ भनेर नेपाल राष्ट्र बैंक लगायत सम्बन्धित निकायले गहन अध्ययन गर्नु पर्ने सुझाव उनले दिएका छन् ।
सबल अवस्थामा भएका साउदी अरब, संयुक्त अरब इमिरेट्स, ५ दर्जन भन्दा बढी मुद्राको अमेरिकी डलरसँग आबद्धता छ । स्थिर आबद्धता हटाएपछि तीव्र अवमूल्यन बेहोर्ने मुद्राको जल्दो बल्दो उदाहरण श्रीलंकाको रुपी हो । डुब्न लागेको अर्थतन्त्रलाई जोगाउन यही मार्चमा श्रीलंकाले रुपीलाई फ्लोट गरेको थियो । अर्थतन्त्र डुब्नै लागेको अवस्थामा खुला मुद्रा बजारमा रुपीको माग र आपूर्तिको अधारमा मूल्य निर्धारण गर्ने प्रणाली अपनाउँदा अहिले डलर रुपी विनिमय दर भाउ २०० आसपासबाट ३६० माथि पुगेको छ । अस्थिर विनिमय दर अपनाउँदा मुद्रामा पर्न सक्ने नकारात्मक प्रभावको अर्को राम्रो उदाहरण थाई भाट । सन् १९९७ को जुलाईमा अन्तरराष्ट्रिय मुद्रा कोषको वित्तीय उद्धार दिनु अघि कोषले थाई सरकारलाई भाटको अस्थीर विनिमय दर अपनाउन बाध्य पारेको थियो । सोही वर्ष जुलाई देखि अक्टोबरको बीच थाई भाटको मूल्य ४० प्रतिशतसम्म घटेको थियो । अस्थीर विनिमय दर प्रणालीका कारण उत्पन्न हुन सक्ने दूरावस्थाको ज्वलन्त उदाहरण जिम्बाबे हो ।
राष्ट्र बैंकले भारु किन्नकै लागि वर्षेनी ४÷५ अर्ब डलर खर्च गर्ने गरेको छ । भारुसँग आबद्धता भएकै कारण डलर खर्चेर भारु किन्दा नेपाललाई दोहारो घाटा भइरहेको छ । तर नेपालको राजनीतिक र आर्थिक अस्थिरताको समयमा स्थिर विनिमय दरले नै नेपाली अर्थतन्त्रलाई जोगाएको पनि हामीले भुल्नु हुँदैन । स्थिर आबद्धता हटाएपछि नेपालको अर्थतन्त्र शिथिल बनेमा नेरु डलर विनिमय दर बढ्दै जाने सम्भावना पनि टड्कालो छ । यस्तो भएमा नेरुमाथि नेपालीहरुकै विश्वास पनि गुम्नेछ नेपालको अवस्थामा सन् १९९० को दशकको थाइल्यान्डको जस्तै हुनेछ ।
स्थिर आबद्धताले नेपालको अन्तरराष्ट्रिय व्यापारलाई असर गरेको छ । नेपाललाई भारतबाट आयात गर्न सस्तो पर्छ । भारतलाई नेपालसँग किन्न महँगो । भारतीय सामान सस्तो भएपछि नेपालको आयात बढिरहेको छ भने भारतमाथिको निर्भरता चुँलिदैछ । अहिले भारतसँगको व्यापार घाटा बड्नुको कारण हामीले आफ्नो निर्यात क्षमता बढाउन नसकेर हो । भारुसँगको स्थिर आबद्धताले गर्दा होइन । आन्तरिक रुपमा आत्मनिर्भर बन्ने वा निर्यात बढाउने भन्दा पनि आयातमुखी बन्दा नेपालको प्रतिस्पर्धात्मक वातावरणमा प्रतिकूल असर परेको छ । तर अहिलेसम्म सरकारले आबद्धता हटाउने वा हेरफेर गर्ने तर्फ कुनै काम नगरेको र स्थिर विनिमय दरले यति बेला अपेक्षा अनुरुप नै काम गरिरहेकोले हटाउनु हुन्न भन्छन् आचार्य । नेपाली रुपैयाँको यो हविगत नेपालको कारणले गर्दा भएको होइन । भारुसँग नेरुको आबद्धताले गर्दा हो । विनिमय दर स्थिर भएकोले नेरुमा नेराबैंको कुनै नियन्त्रण छैन । तर सरकार र सम्बन्धित अन्य नियकाले भारतसँगको व्यापार घाटा कम गर्न निर्यातमुखी वस्तुको विविधिकरण र विस्तार एवम् निर्यात क्षमता अभिवृद्धिलाई बढावा दिने लगायतका पहलहरु गर्न सक्छ ।