ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

ठप्प हुँदै खानेतेल निकासी

२०७९ असार, २६  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ओमप्रकाश खनाल

वीरगञ्ज । भारतले आफ्नो आन्तरिक बजारमा खानेतेलको मूल्यवृद्धि रोक्न अपनाएको नीतिको प्रतिकूल असर नेपालबाट हुने निर्यातमा परेको छ । भारतले खानेतेलको कच्चा पदार्थको आयात गर्दा तिर्नुपर्ने शुल्क भारी मात्रामा कटौती गरेपछि नेपालबाट प्रशोधित तेलको निर्यात स्वाट्टै घटेको छ । यही अवस्था रहिरहे खानेतेल निकासी पूरै बन्द हुने उद्यमीहरू बताउँछन् ।

भारतले उसको चालू आर्थिक वर्ष (आव) २०२२/२३ र आगामी आव २०२३/२४ का लागि २०/२० लाख मेट्रिक टन भटमास र सूर्यमुखीको अर्धप्रशोधित तेलमा आयात र कृषि पूर्वाधार विकास कर हटाएको छ । यस आधारमा भारतमा सन् २०२४ को मार्चसम्ममा ८० लाख टन अर्धप्रशोधित तेल शून्य शुल्कमा भित्रिनेछ ।

त्योभन्दा बढी परिमाणमा आयात भएको खण्डमा २ दशमलव ५ प्रतिशत शुल्क तिरे पुग्छ । एक समय भारतले आफ्ना किसान र उत्पादकको संरक्षणका लागि भन्दै यस्तो शुल्क ४० प्रतिशतसम्म पुर्‍याएको थियो । त्यसबेला नेपालका तेल उत्पादकले दक्षिण एशियाली स्वतन्त्र व्यापार क्षेत्र (साफ्टा) अन्तर्गतका मुलुकमा निकासी गर्दा भन्सार सहुलियत पाइने कारण खानेतेल भारत निकासी गरेका थिए । यो अवसर उपयोग गर्न नेपालका थुप्रै उद्योगले क्षमता विस्तार पनि गरेका थिए । अब भारतमा आयात शुल्क घटेपछि नेपालका उद्योगको लगानी नै जोखिममा परेको उद्योगी सुरेश रूंगटा बताउँछन् ।  

भारतीय नीतिको प्रभाव तेल निकासीमा देखिइसकेको वीरगञ्ज भन्सारका प्रमुख भन्सार अधिकृत हरिहर पौडेलले बताए । तेल निकासी हुने मुख्य नाका वीरगञ्जबाट चालू आव २०७८/७९ को वैशाख र जेठ दुवै महीनामा प्रशोधित तेल निर्यात घटेको वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत हरिहर पौडेलले जानकारी दिए ।

भारतले गत मेमा भटमास र सूर्यमुखीको अर्धप्रशोधित तेलमा आयात शुल्क र कृषि पूर्वाधार विकास कर शून्यमा झारेको हो । ‘त्यसअघि वीरगञ्ज नाकाबाट दैनिक १३५ ट्यांकर हाराहारी अर्धप्रशोधित तेल भित्रिन्थ्यो । अहिले दिनमा ३०/३५ ट्यांकर पुग्न पनि कठिन छ,’ प्रमुख भन्सार अधिकृत पौडेलले आर्थिक अभियानसित भने, ‘कच्चा पदार्थको आयात घटेपछि प्रशोधित तेल निर्यातमा पनि त्यसको प्रभाव देखिने नै भयो । दिनमा ८०/९० गाडी पुग्ने प्रशोधित तेल निकासी अहिले १० गाडी हाराहारीमा झरेको छ ।’

वीरगञ्जस्थिगत ओसीबी फुडका सञ्चालकसमेत रहेका उद्यमी रूंगटा भारतीय नीतिले नेपालबाट तेल निकासीमा प्रतिकूल असर पारेको बताउँछन् । नेपालमा तेलको कच्चा पदार्थ आयात गर्दा १० प्रतिशत भन्सार महसुल र १३ प्रतिशत मूल्य अभिवृद्धिकर लाग्छ । निकासी गर्नेले यो दुवै रकम फिर्ता पाउँछन् । कोरोना महामारी र रूस–युक्रेन तनावका कारण बढेको बजार मूल्य नियन्त्रणमा राख्न भारतले केही महीनायता आयात शुल्क घटाउँदै लगेकोमा अहिले शून्यमा झारेपछि नेपालका उद्योग संकटमा परेका हुन् ।

भारतले आयात शुल्क घटाउँदै लगे पनि केही समयसम्म अन्तरराष्ट्रिय बजारमा अर्धप्रशोधित तेलको मूल्य बढिरहेको मौकामा निकासी सम्भव थियो । यस्तोमा नेपाली उद्यमीले मौज्दात तेल निर्यात गरिरहेका थिए । रूस र युक्रेनबीच युद्ध र विभिन्न देशले लगाएको निर्यात प्रतिबन्धका कारण मौज्दात रित्तिएपछि अहिलेको मूल्यमा निकासी गर्न नसकिएको उद्यमीले बताएका छन् ।

भारतले कर पूरै मिनाहा गरेपछि निकासीको सम्भावना अब सकिएको उद्यमी बताउँछन्

‘भारतले आयतमा शुल्क हटाइसकेको अवस्थामा अब निकासी सम्भव छैन,’ रूंगटाले भने । प्रशोधित तेल नेपालको निर्यात हुने वस्तुको प्रमुख स्थानमा छ । यसको निकासी रोकिएपछि व्यापारघाटा अझ बढ्ने उत्पादकहरू बताउँछन् । नेपाल र भारतको भन्सार दर अन्तरको लाभको आधारमा मात्र खानेतेल निकासी भएकाले यो टिकाउ हुन नसकेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका पूर्वसहसचिव रविशंकर सैंजू बताउँछन् ।

‘भन्सार दर अन्तरको लाभ उठाउन निर्यात ह्वात्तै बढेपछि यसमा भारतको आँखा परिसकेको थियो । अहिलेको आर्थिक संकटले भारतले यो नीति केही चाँडै लियो । ढिलोचाँडो निर्यात रोकिने नै थियो,’ सैंजू भन्छन् ।

उनी अहिलेको तेल उद्योगमा आएको समस्यालाई एक समय वनस्पति घिउ उद्योगको अवस्थासँग तुलना गर्छन् । यस्तै भन्सार दरको फाइदा लिएर राम्रो नाफा कमाएका घिउ उद्योग भारतले आयातमा कोटा लगाइदिएपछि धराशयी भएका थिए ।

यस्तो छ निकासी
वीरगञ्जबाट गत आव २०७७/७८ को वैशाख र जेठको तुलनामा चालू आवको सोही अवधिमा निर्यात परिमाण घटेको छ । चालू आवको जेठमा २ हजार २४४ टन भटमासको तेल भारत निकासी भएको छ । यो परिमाण गत आवको सोही महीनामा २२ हजार २ सय टन थियो । त्यस्तै सूर्यमुखी तेलको निकासीसमेत उल्लेख्य परिमाणमा घटेको देखिन्छ । यो १० लाख ६ हजार लिटरबाट २ लाख ८२ हजार लिटरमा झरेको छ । गत आवको वैशाखमा २२ हजार २८७ टन भटमासको प्रशोधति तेल भारत निकासी भएकोमा चालू वर्षको वैशाखमा यो परिमाण ५ हजार ४०१ टनमा सीमित भएको छ । आर्थिक वर्ष २०७७/७८ को वैशाखमा १७ लाख ४९ हजार लिटर सूर्यमुखीको तेल निर्यात भएको थियो । चालू वर्षको सो अवधिमा यो ६ लाख ३७ हजार लिटरमात्र निकासी भएको वीरगञ्ज भन्सारको तथ्यांकले देखाएको छ । वीरगञ्जबाट बारा–पर्सा औद्योगिक कोरिडोरका १४ उद्योगले तेल निर्यात गर्दै आएका छन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)