असार २६, काठमाडौं । काठमाडौं, नारायणहिटी परिसरमा सूचना टाँगिएको छ– ‘प्रदेश १, ४ (गण्डकी), ५ (लुम्बिनी)को सबै जिल्ला र प्रदेश २ (मधेश प्रदेश)को बारा, रौतहट, महोत्तरी र सिरहाका नागरिकले राष्ट्रिय परिचयपत्रको लागि टोकन लिन बिहान ४ बजेपछि मात्रै लाइनमा बस्नुहोला । टोकन जम्मा १५० ओटा वितरण हुनेछ ।’
नारायणहिटी परिसरमा रहेको सूचनाबाटै स्पष्ट हुन्छ कि त्यहाँस्थित राष्ट्रिय परिचयपत्र वैयक्तिक विवरण संकलन केन्द्रमा राष्ट्रिय परिचयपत्र बनाउन आउनेहरूको बिहान ४ बजेभन्दा अगाडिदेखि नै भीड लाग्छ । त्यही कारण भीड व्यवस्थापनका लागि उक्त सूचना टाँगिएको हो ।
तर, त्यहाँ बिहान ४ बजेअघि नै सेवाग्राही लाइन बस्न आउने गरेका छन् । गत मंगलवार बिहान नारायणहिटीमा लाइन बसेका एक युवक आफू बिहान २ बजे नै पुगेको सुनाउँछन् । ‘त्यतिबेला नपुगेको भए त चाँडै कामै हुँदैनथ्यो नि !’ उनले कारण खुलाए ।
उनी मात्रै होइनन्, लाइन बस्नका लागि बिहानै नारायणहिटी पुग्ने अरु पनि थिए । सेवाग्राहीहरू त्यहाँ बिहानै पुग्नुको कारण थियो– राष्ट्रिय परिचयपत्र बनाउनका लागि कुपन लिन । बिहान नआउँदा पछिको कुपन पाइने र दिनभर समय लाग्ने सेवाग्राहीको गुनासो छ ।
यस्तै गुनासाे गर्दै थिए ताप्लेजुङका धर्मवीर मगर ।आफू बिहान साढे ८ बजे नारायणहिटी पुगेकाे र १२३ नम्बरको टोकन पाएकाे उनले बताए । पुछारतिरकाे टाेकन पाएपछि उनी निरास देखिन्थे । ‘राष्ट्रिय परिचयपत्र बनाउन आज दिनभर लाग्ने भयो,’ उनले निरास हुँदै भने ।
नारायणहिटी परिसरमा मात्रै नभएर राष्ट्रिय सभागृह र जिल्ला प्रशासन कार्यालय, काठमाडौंमा पनि राष्ट्रिय परिचयपत्र बनाउन आउनेको भीड छ । जिल्ला प्रशासन कार्यालय, काठमाडौंमा भने बाग्मती प्रदेशसँगै मधेशका केही जिल्लाका नागरिकले राष्ट्रिय परिचयपत्र बनाउने व्यवस्था गरिएको छ । सो कार्यालयमा मधेश प्रदेशका पर्सा र धनुषावासीले राष्ट्रिय परिचयपत्र बनाउन पाउने प्रबन्ध मिलाइएको छ । सुदूरपश्चिम र कर्णाली प्रदेशका नागरिकका लागि भने जिल्ला प्रशासन कार्यालय, ललितपुरमा परिचयपत्र बनाउने व्यवस्था गरिएकाे छ ।
राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले सम्बन्धित जिल्ला वा इलाकासँगै उपत्यकाका यी स्थानमा नागरिकको लागि राष्ट्रिय परिचयपत्र बनाउने व्यवस्था गरेको छ ।
सकसमा सेवाग्राही
राष्ट्रिय परिचयपत्र बनाउने सेवाग्राहीलाई भीडको सास्ती त छँदैछ । कागजातबारेको जानकारी नहुँदा झन् हैरानी खेप्नुपरेको छ । गत मंगलबार राष्ट्रिय परिचयपत्र बनाउन जिल्ला प्रशासन कार्यालय, काठमाडौं पुगेका कपनका दोर्जे शेर्पाले यस्तै हैरानी खेप्नुपर्याे । ‘परिचयपत्र बनाउन लाइनमा बसियो । पालो आएपछि कर्मचारीले विवाह दर्ता प्रमाणपत्र नभएको भन्दै फिर्ता पठाइदिए,’ उनले सुनाए ।
लाइनमा बसेका कतिपय सेवाग्राहीहरूले कार्यालयले कुपन नबाँड्दा लाइन बस्नुपरेको र यसले सेवा लिन समस्या भएको दुखेसो पोखे । यस्तै, भीड व्यवस्थापनमा सरोकारवालाले चासो नदिएको उनीहरूको भनाइ थियो ।
किन बढ्यो भीड ?
राहदानी बनाउनेहरू राष्ट्रिय परिचयपत्र बनाउन आएकाले भीड बढेको सम्बन्धित कार्यालयका कर्मचारीहरू बताउँछन् । विद्युतीय राहदानी बनाउन राष्ट्रिय परिचयपत्र नम्बर अनिवार्य गरिएको छ ।
राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका निर्देशक एवं सूचना अधिकारी लक्ष्मण ढकाल राष्ट्रिय परिचयपत्र बनाउन जिल्लाबाट मान्छेहरू आएकाले भीड बढेको बताउँछन् । यद्यपि, पहिलेको तुलनामा भीड कम हुँदै गएको उनको दाबी छ । ‘राष्ट्रिय परिचयपत्र बनाउन सञ्चालन गरिएको अभियानमा नगएका मान्छेहरू आउन थालेका छन्,’ उनले भने, ‘केही दिनपछि भीड कम हुनेछ ।’
उनले राष्ट्रिय परिचयपत्र बनाउन देशैभरी करिब हजार स्टेशन रहेकोमा आधाभन्दा बढी अभियानमा राखिएको बताए । त्यसरी सञ्चालन गरिएका अभियानमा सहभागिता कम देखिएको उनको भनाइ थियो ।
भीड व्यवस्थापनका लागि काठमाडौंका केही पालिकामा राष्ट्रिय परिचयपत्र बनाउने अभियान चलाइने ढकाल बताउँछन् । ‘अभियान सञ्चालन भएपछि भीड घट्नेछ,’ उनी भन्छन् ।
Republic federal le janata mathi thopareko jhanjat.