ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

नेरु-भारु स्थिर विनिमय दर नभएको भए नेपालले एक डलर किन्न कति रुपैयाँ खर्च गर्नु पर्थ्यो ? 

२०७९ असार, २६  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar रमा सुवेदी

काठमाडौं । गत हप्ता बुधवार अमेरिकी डलर र नेपाली रुपैयाँ बीचको विनिमय दर पहिलो पटक १२७ रुपयाँ भन्दा धेरै कायम भयो ।

उक्त दिन एक डलरको भाउ नेपाली बजारमा १२७ रुपयाँ ३० पैसा कायम भएको थियो । अर्थात् उक्त दिन नेपालीहरुले एक डलर किन्नका लागि १२७ रुपैयाँ ३० पैसा खर्च गरेका थिए ।

नेपालीहरुको लागि डलर यति महँगो भएको यो इतिहासमै पहिलो पटक थियो । अमेरिकी डलरको तुलनामा भारुको तीव्र अवमूल्यन जारी रहँदा हालैका हप्ताहरुमा कयौं पटक डलरको तुलनामा नेपाली रुपैयाँ (नेरु)को भाउ  कीर्तिमानी न्यून स्तरमा झरेको छ ।

मंगलवार भारतीय मुद्रा बजार बन्द हुँदा डलरको तुलनामा भारुको भाउ ४१ पैसाले घटेर ७९ रुपयाँ ३६ पैसाको कीर्तिमानी न्यून स्तरमा झरेको थियो । त्यसयता विनिमय दर केही घटेको छ ।

भारुको भाउ यो वर्ष अहिलेसम्म ५ रुपयाँले घटिसकेको छ । सोही अवधिमा डलरको तुलनामा नेरुको भाउ पनि ८ रुपैयाँ घटेको छ । सीमापार डलर बलियो बनेको अनि भारतको पूँजी बजारबाट विदेशी लगानी बाहिरने क्रम जारी रहँदा पछिल्लो समय रुपयाँको भाउ दबाबमा परेको छ ।

भारतको अपेक्षाकृत कमजोर निर्यात तथ्यांकका कारण पनि गत हप्ता रुपयाँमाथिको दबाब झन बढेको हो । हुन त पछिल्लो समय डलरको तुलनामा तीव्र अवमूल्यनको सामना गर्ने भारु एक मात्रै उदीयनमान बजारको मुद्रा भने होइन । यस अवधिमा डलरको तुलनामा फिलिपिनी पेसो ७ दशमलव ७ प्रतिशत, मलेशियाली रिङ्गिट ५ दशमलव ७ प्रतिशत, दक्षिण कोरियाली वन ८ दशमलव ६ प्रतिशत, इन्डोनेशियाली रुपी ४ दशमलव ९  प्रतिशत र टर्किश लिरा २१ दशमलव ८ प्रतिशतले घटिसकेको छ ।

तर नेपालको सबैभन्दा ठूलो व्यापार साझेदार भएको अनि नेरुलाई भारुसँग स्थिर रुपमा आबद्ध गरिएको र भारु डलरको विनिमय दरले नेपाली रुपैयाँ-डलरको विनिमय दर निर्धारण गर्ने भएकोले पनि भारुको भाउमा पछिल्लो समय भइरहेको तीव्र अवमूल्यन नेपालीको लागि टाउको दुखाइको विषय बनेको हो । 

नेरु र भारुबीच स्थिर आबद्धता छ । सन् १९९३ यता नेपाली रुपैयाँ र भारुको विनिमय दर एक भारु बराबर १ रुपैयाँ ६० पैसामा यथावत् छ । अमेरिकी डलर, बेलायती, पाउन्ड वा जापानी येन र चिनियाँ युआनको तुलनामा नेपाली रुपैयाँ दैनिक रुपमा घटबढ हुन्छ तर नेपाली रुपैयाँ र भारतीय रुपयाँबीचको विनिमय दरमा हेरफेर हुँदैन । पछिल्लो समय डलरको तुलनामा भारु कमजोर बन्ने क्रम जारी रहँदा यसको प्रत्यक्ष प्रभावस्वरुप डलरको तुलनामा नेरुको भाउ पनि यस अघि कहिले नदेखिएको स्तरमा ओर्लिएको छ ।

भारुसँगको आबद्धताको कारण नेरु डलरको भाउ कीर्तिमानी न्यून स्तरमा झर्दा हरेक पटक भारुसँगको नेरुको आबद्धता बहसको विषय बन्ने गर्छ । स्थिर विनिमय दरमा हेरफेर वा आबद्धता नै हटाउनु पर्ने बहस पनि चर्किन्छन् । 

भारुसँग नेरुको आबद्धताको अर्को विकल्प भनेको अस्थायी विनिमय दर व्यवस्था अर्थात् अन्य मुद्राका तुलनामा नेपाली रुपयाँको दैनिक रुपमा हुने आपूर्ति र मागका आधारमा विदेशी मुद्रा विनिमय बजारले नेरुको भाउ निर्धारण गर्नु हो । डलरको तुलनामा भारुको तीव्र अवमूल्यनको कारण भारुसँग नेरुको आबद्धता हटाउनु पर्छ भन्ने बहस चर्किनु स्वभाविक पनि हो । तर अहिलेको अवस्थामा यो बहस छेड्नै नहुने बताउँछन् अर्थशास्त्री केशव आचार्य ।

‘अहिले यो बहस छेड्नु नेपाली अर्थतन्त्रको लागि घातक हुन्छ,’ उनले भनेका छन् । अहिले डलरको भाउ भारतीय अर्थतन्त्रको विद्यमान अवस्थाका कारण घटिरहेको र भारतीय अर्थतन्त्र बलियो बनेपछि भारु बलियो बन्ने र सोही अनुरुप नेरुको भाउ पनि सुध्रिने उनले बताए ।

आबद्धता हटाउने भएपनि नेपालको निर्यातमा उल्लेख्य वृद्धि गर्ने, नेपाली रुपैयाँ कमजोर बन्दा सोलाई टेवा दिने चाहिने पर्याप्त विदेशी विनिमय सञ्चिति थुपार्नेलगायत कदमहरु चालेर मात्रै यसबारे सोच्नु पर्ने उनी बताउँछन् ।

के गर्दा ठिक हुन्छ भनेर नेपाल राष्ट्र बैंक लगायत सम्बन्धित निकायले गहन अध्ययन गर्नु पर्ने सुझाब उनले दिएका छन् । 

सबल अवस्थामा भएका साउदी अरब र संयुक्त अरब इमिरेट्स लगायत ५ दर्जन भन्दा बढी मुद्राको अमेरिकी डलरसँग आबद्धता छ । स्थिर आबद्धता हटाएपछि तीव्र अवमूल्यन बेहोर्ने मुद्राको जल्दो बल्दो उदाहरण श्रीलंकाको रुपी हो । डुब्न लागेको अर्थतन्त्रलाई जोगाउन यही मार्चमा श्रीलंकाले रुपीलाई फ्लोट गरेको थियो ।

अर्थतन्त्र डुब्नै लागेको अवस्थामा खुला मुद्रा बजारमा रुपीको माग र आपूर्तिको अधारमा मूल्य निर्धारण गर्ने प्रणाली अपनाउँदा अहिले डलर रुपी विनिमय दर भाउ २०० आसपासबाट ३६० माथि पुगेको छ । अस्थिर विनिमय दर अपनाउँदा मुद्रामा पर्न सक्ने नकारात्मक प्रभावको अर्को राम्रो उदाहरण थाई भाट पनि हो ।

सन् १९९७ को जुलाईमा अन्तरराष्ट्रिय मुद्रा कोषको वित्तीय उद्धार दिनु अघि कोषले थाई सरकारलाई भाटको अस्थीर विनिमय दर अपनाउन बाध्य पारेको थियो । सोही वर्ष जुलाई देखि अक्टोबरको बीच थाई भाटको मूल्य ४० प्रतिशतसम्म घटेको थियो । अस्थीर विनिमय दर प्रणालीका कारण उत्पन्न हुन सक्ने दूरावस्थाको ज्वलन्त उदाहरण जिम्बाबे पनि हो । 

स्थिर अबद्धताको सट्टा खुला विनिमय दर व्यवस्था नेपालले थेग्न सक्दैन भन्छन् नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर दीपेन्द्र बहादर क्षेत्री । निर्यात र उपभोग गर्ने क्षमतामा आन्तरिक उत्पादनलाई बढवा दिने परिस्थिति नबनिकन स्थिर आबद्धता हटाउँदा नेपालले नधान्ने उनको भनाई छ ।

अहिले भारतीय सेनामा गएका वा त्यहाँ मजदूरी वा काम गर्न जानेहरुले भारु ल्याउने हुन् । भारतबाट निर्यात भएका सामानको बदलामा आउने भारु पनि अर्को स्रोत हो । तर यतिले भारतसँग किन्ने सामानको भुक्तानीका लागि चाहिने भारु पुग्दैन । यस्तोमा भारतबाट आयातित वस्तुको भुक्तानी गर्न चाहिने भारुको पूर्ति राष्ट्र बैंकले सिधैं डलर दिएर भारतीय केन्द्रीय बैंकसँग किनेर गर्ने गरेको छ । 

स्थिर विनिमय दर हुँदा नै चाहिएजति भारु नपाउने वा सीमा पारिका बजारमा  नेपालीहरु किनमेल गर्न जाँदा सय भारु बराबर १६५ देखि १७० रुपैयाँसम्म तिर्नु पर्ने अवस्था छ । स्थिर विनियम दर नै हुँदा यो हालत छ भने स्थिर विनिमय दर हटाउँदा वा दर हेरफेर गर्दा नेरु दबाबमा आउने जोखिम उच्च छ ।

पछिल्ला ३ दशकमा भारतीय अर्थतन्त्रले निकै फड्को मारेको छ । तर नेपालको अर्थतन्त्र सोही अनुरुप फस्टाएको छैन । आयातमा भारतमाथिको निर्भरता वर्षेनी बढ्दै गइरहेको छ । हाल सय भारु बराबर १६० रहेको विनिमय दर २०० नेरु मात्रै पुग्यो भने पनि भारतबाट वस्तु आयातका लागि २५ प्रतिशत बढी तिर्नु पर्ने अवस्था आउने छ  । यस्तोमा  भारतसँगको १० खर्बको व्यापार घाटा बढेर सोझै साढे १२ खर्बमा उक्लिनेछ । 

स्थिर आबद्धता हटाएपछि नेपालको अर्थतन्त्र शिथिल बनेमा नेरु डलर विनिमय दर बढ्दै जाने सम्भावना पनि बलियो छ । यस्तो भएमा नेरुमाथि नेपालीहरुकै विश्वास पनि गुम्नेछ । नेपालको अवस्था सन् १९९० को दशकको थाइल्यान्डको जस्तै हुनेछ । 

स्थिर आबद्धताले नेपालको अन्तरराष्ट्रिय व्यापारलाई असर गरेको छ । नेपाललाई भारतबाट आयात गर्न सस्तो पर्छ । भारतलाई नेपालसँग किन्न महँगो । भारतीय सामान सस्तो भएपछि नेपालको आयात बढिरहेको छ भने भारतमाथिको निर्भरता चुलिँदै गएकोछ ।

अहिले भारतसँगको व्यापार घाटा बढ्नुको कारण हामीले आफ्नो निर्यात क्षमता बढाउन नसक्नु नै हो । भारुसँगको स्थिर आबद्धताले गर्दा होइन ।  आन्तरिक रुपमा आत्मनिर्भर बन्ने वा निर्यात बढाउने भन्दा पनि आयातमुखी बन्दा नेपालको प्रतिस्पर्धात्मक वातावरणमा प्रतिकूल असर परेको छ ।

तर अहिलेसम्म सरकारले आबद्धता हटाउने वा हेरफेर गर्ने तर्फ कुनै काम नगरेको र स्थिर विनिमय दरले यति बेला अपेक्षा अनुरुप नै काम गरिरहेकोले हटाउनु हुन्न भन्छन् अर्थशास्त्री आचार्य ।

नेपाली रुपैयाँको यो हविगत नेपालको कारणले गर्दा भएको होइन । भारुसँग नेरुको आबद्धताले गर्दा हो । विनिमय दर स्थिर भएकोले नेरुमा राष्ट्र बैंकको कुनै नियन्त्रण छैन । तर सरकार र सम्बन्धित अन्य नियकाले भारतसँगको व्यापार घाटा कम गर्न निर्यातमुखी वस्तुको विविधिकरण र विस्तार एवम् निर्यात क्षमता अभिवृद्धिलाई बढावा दिने लगायतका पहलहरु गर्न सक्ने आचार्य बताउँछन् ।  

आबद्धताको इतिहास 

एउटा देशको मुद्रालाई अर्को देशको मुद्रासँग स्थिर आबद्धता राखिँदा जस्तो सुकै अनुकूल वा प्रतिकूल अवस्थामा पनि ती दुई देशबीचको मुद्रा विनिमय दर स्थिर रहन्छ । सन् १८७० र सन् १९१४ को बीचमा विश्वभर विनिमय दर सुनसँग स्थिर थियो । सबै मुद्राको भाउ सुनसँग जोडिन्थे ।

सन् १९४४ मा ब्रेटन वूड्ज सम्झौतापछि नयाँ अन्तरराष्ट्रिय मुद्रा प्रणाली स्थापना भयो । यसले स्वर्ण मापदन्डलाई विस्थापित गर्दै अमेरिकी डलरलाई विश्वव्यापी मुद्राहरुसँग आबद्धको बाटो खोलिदियो । यो मापदन्डमा डलरलाई सुनसँग प्रतिऔंस ३५ डलरमा आबद्ध गएिको थियो । यो प्रणाली पनि सन् १९७१ सम्म चल्यो । 

यो प्रणालीमा महँगी, आर्थिक वृद्धिदर र वित्तीय प्रणाली सबैमा स्थिरता न्यून थियो । पटक पटक आर्थिक मन्दी आइरह्यो । उपभोक्ता मूल्यमा तीव्र उतारचढाव देखियो र कयौं पटक बैंकिङ संकट पनि उत्पन्न भए ।

यस्तोमा अमेरिकामा आकाशिएको महँगी नियन्त्रण गर्न र डलर बेचेर सुन थुपार्ने प्रवृत्तिका कारण वित्तीय प्रणाली दबाबमा पर्ने अवस्था रोक्न तत्कालीन अमेरिकी राष्ट्रपति रिचर्ड निक्सनले स्वर्ण मापदन्ड खारेज गरेका थिए । यो घटना निक्सन झट्का भनेर पनि चर्चित छ । यसपछि स्वतन्त्र अस्थायी विनिमय दर शुरु भएको थियो । 

नेपाली रुपैयाँ र भारुसँगको आबद्धता 

नेपालमा सन् १९३२ मा मात्रै रुपैयाँ प्रचलनमा आएको हो । सन् १९५६ मा केन्द्रीय बैंकको रुपमा नेपाल राष्ट्र बैंकको स्थापना भयो र बैंकले नेरु र भारु दुबैलाई वैधानिक मुद्राको मान्यता दिएको थियो ।

सन् १९५७ मा नेपाल मुद्रा प्रचलन र विस्तार ऐन आएपछि द्वैध मुद्रा प्रणाली खारेज भयो । अनि राष्ट्र बैंकले सय भारु बराबर १६० नेपाली रुपैयाँमा नेरुलाई भारुसँग आबद्ध गर्यो । आर्थिक वर्ष १९६४/६५ देखि आर्थिक वर्ष १९९२/१९९३ को बीचमा भारु नेरुबीचको आबद्धता दर कयौं पटक  परिवर्तन भए । यस बीचमा सात पटक विनिमय दर घट बढ गरेर थोरैमा सय भारु बराबर १०१ नेपाली रुपैयाँदेखि बढीमा सय भारु बराबर १६८ नेपाली रुपैयाँसम्म कायम गरिएको थियो ।

सन् १९६६ मा भारतले भारुको तीव्र अवमूल्य गरेको बेलामा सय भारु बराबर १०१ नेरु कायम भएको थियो । सन् १९८५ देखि सन् १९९० को बीचमा विनिमय दर सय भारु बराबर १६८ नेरु रह्यो । तर सन् १९९३ यता यो सय भारु बराबर १६० नेपाली रुपैयाँमा स्थिर छ ।

अर्थात् गएको झन्डै तीन दशकमा आबद्धता दरमा कुनै हेरफेर भएको छैन । सन् १९६२ मा ल्याइएको विदेशी विनिमय नियमन ऐनले नेपाली रुपैयाँलाई अन्य मुद्रासँग परिवर्त्यको अनुमति दिएको भएपनि सन् १९९३ को फेब्रुअरी १ मा दुई देशका मुद्राको मूल्य समायोजना गरिएयता यसलाई चलाइएको छैन । 

किन गरियो भारुसँग आबद्धता ?

भारत नेपालको सबैभन्दा ठूलो व्यापार साझेदार हो । नेपालमा आयात हुने अधिकांश सामान भारतबाटै आउने गरेको छ । भारु तुलनात्मक रुपमा शक्तिशाली मुद्रा हो । अन्तरराष्ट्रिय बजारमा उच्च माग र आपूर्तिका कारण पनि भारु स्थिर छ । नेपाल राष्ट्र बैंकले नेरुको भाउ स्थिर बनाउन र क्षेत्रीय स्तरमा तुलनात्मक रुपमा शक्तिशाली मानिने मुद्रासँग आबद्ध गरेर अन्तराष्ट्रिय बजारमा नेरुको विनिमय दरलाई टेवा दिन नेरु–भारुबीच स्थिर सटही दर कायम गरेको थियो । तर यो प्रणालीका कारण भारतसँगको निर्भरता भने दिनानुदिन बढिरहेको छ । 

भारतबाट आयात घट्नुको सट्टा झन झन बढ्दै गइरहेको छ । सन् २००६ देखि सन् २०२१ सम्म भारतबाट वार्षिक १५ दशमलव ८३ प्रतिशतको चक्रिय दरमा आयात बढेको नेपाल राष्ट्र बैंकको तथ्यांकले देखाएको छ ।

स्थिर आबद्धता भारतीय अर्थतन्त्रमा देखिने कुनै पनि सानो ठूलो झट्काको प्रभाव नेपाली अर्थतन्त्रमा पनि उत्तिकै वा त्योभन्दा पनि बढी देखिने गरेको छ ।  

भारतीय केन्द्रीय बैंक ‘रिजर्भ बैंक अफ इन्डिया’ (आरबीआई)को मौद्रिक नीतिमा हेरफेर अनुसार अन्य मुद्राका तुलनामा भारुको मूल्यमा हेरफेर भइरहन्छ । पछिल्लो समय अमेरिकी केन्द्रीय बैंकले धमाधम ब्याजदर बढाइरहेको अवस्थामा भारतीय शेयर बजारबाट  विदेशी लगानीकर्ताहरुले धमाधम लगानी फिर्ता लगिरहेका छन् । यसका कारण भारु तीव्र दबाबमा आएको छ । रुसले युक्रेनमाथि आक्रमण गरेयता विश्व बजारमा कच्चा तेलको भाउमा भएको वृद्धिका कारण भारतको व्यापार घाटा र चालू खाता घाटा फराकिलो बन्ने चिन्ताबीच पछिल्लो समय डलरको तुलनामा भारु कमजोर भएर कीर्तिमानी न्यून स्तरमा आएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)