ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

बेनीका किसानको पीडा : लालपुर्जा छ, जग्गा छैन

२०७९ असार, २७  
गण्डकी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ध्रुवसागर शर्मा

म्याग्दी । जग्गाधनी प्रमाणपत्र (लालपुर्जा) भए पनि उपभोग गर्ने जग्गा नहुँदा म्याग्दीको बेनी नगरपालिका–२ बगरफाँटका केही किसान मर्कामा परेका छन् । म्याग्दी नदीको कटानका कारण बेनी नगरपालिका–२ बगरफाँटको ३६ रोपनी जग्गा बगरमा परिणत भएपछि यहाँका किसानको हातमा लालपुर्जा मात्र बाँकी छ । कमाइखाने जग्गा नभएपछि जीविका धान्न गाह्रो भएको गुनासो उनीहरूको छ ।

२०५७ सालदेखि म्याग्दी नदीमा आएको बाढीले कटान गरेर बगरमा परिणत भएको ३६ रोपनी बराबर जग्गा उपभोग गर्न नपाए पनि उनीहरूले कर भने तिर्दै आएका छन् । बगरफाँटस्थित ढलेबगरको बिरौटा भन्ने ठाउँमा अहिले म्याग्दी नदी बगिरहेको छ । नदी बगेको ठाउँबाट पारिपट्टि बेनी नगरपालिका–६ को डम्मरासम्म फैलिएको बिरौटाको अहिले नामनिशान छैन । तर, किसानसँग जग्गाधनी पूर्जा कामय रहेकाले हुँदै नभएको जग्गा र उपभोग गर्नै नमिल्ने ठाउँको समेत कर तिर्नुपरेको बेनी नगरपालिका–२ का ओमबहादुर थापाले बताए । 

थापाका अनुसार स्थानीय हीराबहादुर घिमिरे, भक्तबहादुर घिमिरे, ओमबहादुर थापा, कृष्णबहादुर थापा लगायत ८ जना व्यक्तिले मालपोत कर तिर्दै आएका छन् । पहिला जग्गा (खेत, बारी र घर) भएको ठाउँमा अहिले म्याग्दी नदी बगेको र आफ्नो जग्गा भएको ठाउँ बेनी नगरपालिका–६ डम्मरा बगरमा परिणत भएको थापाले बताए ।
२०५७ सालमा म्याग्दी नदीमा आएको भीषण बाढीले डम्मराको जग्गा बगाएको थियो । त्यसयता पनि जग्गाधनीले नियमित रूपमा मालपोत कर तिर्दै आएको जिल्ला मालपोत कार्यालय म्याग्दीको विवरण छ । 

जिल्ला मालपोत कार्यालय, म्याग्दीका प्रमुख कृष्णबहादुर कार्कीले जग्गा नभए पनि जग्गाधनी प्रमाणपत्रमा जग्गा कायमै रहेको देखिएकाले जग्गाधनीले कर तिर्दै आएका बताए । स्थानीयले सो जग्गालाई सार्वजनिक जग्गामा दर्ता गरी मालपोत कर कट्टा गर्न आग्रह गरेका छन् ।

गाउँ नै जोखिममा

बगरफाँट गाउँ पहिरो र नदी कटानको जोखिममा पर्दै आएको छ । २०५७ सालदेखि म्याग्दी नदीले कटान गर्न शुरू गरेको बगरफाँटमा रहेका २०० घरधुरी वर्षाको समयमा गाउँको शिरानबाट खस्ने पहिरो र गाउँको पुछारमा म्याग्दी नदीको कटानबाट त्रसित हुने गरेका छन् ।

म्याग्दी नदीको कटान नियन्त्रणका लागि नदी किनारमा ग्याबिन जाली भर्ने गरिए पनि वर्षामा ढुंगा र लेदोसहित उर्लिएर आउने बाढी नियन्त्रण हुन नसकेको स्थानीय बताउँछन् । ‘गाउँ जोखिममा छ । शिरानबाट खस्ने पहिरो र पुछारमा बग्ने नदीका कारण वर्षामा कहिल्यै ढुक्कसँग सुत्न सकिँदैन,’ स्थानीय नारायण कार्कीले भने, ‘कतिबेला के हुन्छ भन्ने त्रास रहिरहन्छ ।’

म्याग्दी नदीको कटानका कारण बगरफाँटको १५० रोपनीभन्दा बढी खेतीयोग्य जमीन क्षय भइसकेको र नदी कटानको समस्या अझै बढ्दै गएको कार्कीको भनाइ छ । बेनी नगरपालिका–३ को तारोखेतबाट बगेर बगरफाँटको शिरानमा अवस्थित पहरो हुँदै आउने पहिरो नियन्त्रण सम्भव नभए पनि नदी कटान नियन्त्रण गर्न सके गाउँ केही हदसम्म सुरक्षित बन्ने उनले बताए ।

गाउँको शिरानमा रहेको विशाल पहिरो नियन्त्रणका लागि स्थानीय तहको प्रयासले मात्र नहुने भएकाले प्रदेश वा संघबाटै ठूलो योजना आवश्यक पर्ने देखिएको छ । तर, समस्याको समाधान नभएकाले यसले सदरमुकाम बेनी बजार समेत प्रभावित हुने अनुमान गरिएको छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)