ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

बीमा कम्पनीमा मर्जर उत्साह : केहीले गरे सम्झौता, केही तयारीमा 

२०७९ असार, २९  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar मिलन विश्वकर्मा

काठमाडौं । बीमाक्षेत्रमा मर्जरको उत्साह व्यापक देखिएको छ । ७५ वर्षको इतिहास भएको बीमाक्षेत्रमा हालसम्म एउटै पनि मर्जर सम्पन्न भएको छैन । नियामक निकाय बीमा समितिले पूँजी बढाएर मर्जरमा जान दबाब दिएसँगै थुप्रै कम्पनी उक्त प्रक्रियामा सामेल भइसकेका छन् । असार मसान्तभित्रै थप कम्पनीले प्रारम्भिक मर्जर सम्झौता/समझदारी गर्ने तयारी गरेका छन् । 

आर्थिक ऐनमा २०७९ असार मसान्तभित्र मर्जरसम्बन्धी प्रारम्भिक सम्झौता गर्ने कम्पनीलाई पूँजीगत लाभकर, लाभांश कर र कर्मचारीको अवकाश भुक्तानी करमा छूट दिने व्यवस्था छ । उक्त सुविधा लिन पनि असारभित्रै मर्जर सम्झौता वा समझदारी गर्ने तयारीमा बीमा कम्पनी छन् । असारभित्र थप चारओटा मर्जर सम्झौता वा समझदारी हुने बीमा समितिका एकजना उच्च अधिकारीले बताए । 

हालसम्म निर्जीवनतर्फ हिमालयन जनरल र एभरेष्ट इन्स्योरेन्स तथा सिद्धार्थ र प्रिमियर इन्स्योरेन्सबीच प्रारम्भिक मर्जर सम्झौता भइसकेको छ । हिमालयन जनरल र एभरेष्टले त आगामी आइतवारदेखि हिमालयन एभरेष्ट ईन्स्योरेन्सको नामबाट एकीकृत कारोबार गर्दै छन् ।  जीवनतर्फ प्राइमलाइफ, गुराँस लाइफ र युनियन गाभिँदै छन् । सूर्या लाइफ र ज्योति लाइफले पनि मर्जरमा जाने सहमति गरिसकेका छन् । 

हाल नेपालमा १९ जीवन र २० निर्जीवन बीमा कम्पनी सञ्चालनमा छन् । हालसम्म सम्झौता वा समझदारी गरेका कम्पनीहरू मर्ज भइसकेपछि जीवनतर्फ ३ र निर्जीवनतर्फ २ कम्पनीको संख्या घट्नेछ । सहमति वा सम्झौता गरिसकेका कम्पनी गाभिएपछि जीवनतर्फ १६ र निर्जीवनतर्फ १८ कम्पनी कायम हुनेछ । 

यीबाहेकका कम्पनी पनि असारभित्रै मर्जर प्रक्रियामा सामेल हुने बीमा समितिका उच्च अधिकारीले बताउँछन् । ‘मर्जर प्रक्रियामा बीमा कम्पनीहरू व्यापक मात्रामा सहभागी हुने देखिएको छ । हालसम्म चारओटा मर्जर सहमति भइसकेको छ । हामीलाई प्राप्त अनौपचारिक जानकारीअनुसार असारभित्र थप चारओटा सहमति हुन सक्छ,’ उनले भने, ‘बीमा कम्पनीहरूलाई मर्जरमा नगई सुख पनि छैन, कि चुक्ता पूँजी बढाउन पर्‍याे । होइन भने मर्जरमा जानुको विकल्प छैन । त्यसले गर्दा पनि मर्जरमा आकर्षण बढेको छ ।’ 

असारभित्रै मर्जर सहमति गर्ने कम्पनीले करलगायतमा छूट पाउने व्यवस्था रहेकाले पनि उनीहरूले त्यो काम यही अवधिमा गर्न चाहेको हुन सक्ने ती अधिकारीको बुझाइ छ । ‘यद्यपि, मर्जर निरन्तर प्रक्रिया हो । असारभित्रै गर्नुपर्छ भन्ने छैन,’ उनले भने, ‘बीमा समितिबाट दिइने सेवासुविधामा समयसीमा छैन ।’

बीमा समितिले कम्पनीहरूको चुक्ता पूँजी बढाउने नीति ल्याएर मर्जरमा जान दबाब दिएपछि धमाधम सहमति हुन थालेको हो । बीमा समितिले केही समयअघि बीमा कम्पनीको चुक्ता पूँजी बढाउने निर्णय गरेको थियो । हाल निर्जीवन बीमा कम्पनीको १ अर्ब र जीवन बीमा कम्पनीको २ अर्ब रुपैयाँ न्यूनतम चुक्ता पूँजी हुनुपर्ने व्यवस्था छ । अब निर्जीवनको २ अर्ब ५० करोड र जीवनको ५ अर्ब रुपैयाँ चुुक्तापूँजी हुनुपर्ने समितिको निर्देशन छ । समितिले आगामी चैतभित्रै तोकिएको चुक्ता पूँजी पुर्‍याउन निर्देशन दिएको छ । समितिले आन्तरिक रूपमा बीमा कम्पनीहरूलाई मर्जरमार्पmत चुक्ता पूँजी बढाउन दबाब दिएको छ । 

बीमा कम्पनीहरूको पछिल्लो गतिविधिले मर्जरमा उत्साह बढेको देखाउँछ । बीमा समितिले हकप्रदबाट चुक्ता पूँजी बढाउने विकल्प दिए पनि थुप्रै कम्पनीले मर्जरलाई प्राथमिकता दिएका छन् । पछिल्लो समय मर्जरसम्बन्धी प्रस्ताव पारित गराउनेसहितको एजेन्डा राखेर थुप्रै कम्पनीले वार्षिक वा विशेष साधारणसभा बोलाएका छन् । प्रभु लाइफ, रिलायन्स लाइफ, सिटिजन लाइफ, सानिमा लाइफ, प्रभु, युनाइटेड लुम्बिनी जनरल, सानिमा जनरललगायत थुप्रै कम्पनीले मर्जरको एजेन्डासहित साधारणसभा आह्वान गरेका छन् । मंगलवार सम्पन्न प्रभु इन्स्योरेन्सको विशेष साधारणसभाले मर्जर प्रक्रियामा सामेल हुन सञ्चालकलाई अख्तियारी दिइसकेको छ । युनाइटेड इन्स्योरेन्सको साधारणसभाले पनि मर्जरसम्बन्धी काम गर्न सञ्चालक समितिलाई अख्तियारी दिएको छ ।

अन्य कम्पनीले पनि सोहीअनुसार साधारणसभा गर्दै छन् । स्रोतका अनुसार जनरल इन्स्योरेन्स, सानिमा जनरल इन्स्योरेन्स, नेपाल इन्स्योरेन्स, प्रुडेन्सियल इन्स्योरेन्सले असारभित्रै मर्जर सहमति गर्ने गरी काम गरिरहेका छन् । जनरल इन्स्योरेन्सका एक उच्च अधिकारीले असारभित्र मर्जर सहमति गर्ने गरी काम भइरहेको बताए । ‘एकातिर बीमा समितिले तोकेअनुसार चुक्ता पूँजी बढाउनुपर्ने बाध्यता छ । अर्काेतिर असारभित्रै मर्जर सहमति गरे कर छूट पाइने व्यवस्था छ,’ उनले भने, ‘हामी असारभित्रै मर्जर प्रक्रियामा सहभागी हुनेछौं । पूँजी बढाउन मर्जर उचित विकल्प पनि हो ।’

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)