ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

बीमामा एकै दिन २ मर्जर सहमति

२०७९ असार, ३०  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar मिलन विश्वकर्मा

काठमाडौं । बीमा क्षेत्रमा एकै दिन दुईओटा मर्जरसम्बन्धी प्रारम्भिक सहमति भएको छ । बुधवार जीवनतर्फ सानिमा र रिलायन्स तथा निर्जीवनतर्फ सानिमा जनरल र जनरल इन्स्योरेन्स कम्पनीबीच मर्जरको प्रारम्भिक सहमति भएको हो । 

जीवनतर्फको मर्जर सहमतिपत्रमा सानिमा र रिलायन्स लाइफका सञ्चालक क्रमशः घनश्याम थापा र भरतकुमार तोदीले हस्ताक्षर गरे । यी दुईले मर्जरको नाम, कर्मचारी समायोजनलगायत विषय बीमा समितिबाट सैद्धान्तिक स्वीकृति पाएपछि टुंगो लगाउनेछन् । स्वाप रेसियो भने सम्पत्ति र दायित्वको मूल्यांकन (डीडीए) पछि टुंगो लगाइनेछ । यी कम्पनी समान हैसियतमा गाभिए चुक्ता पूँजी ४ अर्ब १८ करोड रुपैयाँ पुग्नेछ । हाल सानिमाको २ अर्ब ८ करोड र रिलायन्सको २ अर्ब १० करोड चुक्ता पूँजी छ । 

जीवन बीमा कोषको आकार भने ६ अर्ब ८० करोड रुपैयाँ पुग्नेछ । हाल सानिमाको ३ अर्ब १३ करोड र रिलायन्सको ३ अर्ब ६७ करोडको जीवन बीमा कोष छ । 
सानिमा जनरल र जनरल इन्स्योरेन्सबीच भने समान हैसियतमा मर्ज हुने सहमति भएको छ । यसलाई पनि डीडीएपछि अन्तिम टुंगो लगाइने बताइएको छ । हाललाई कर्मचारी सबैलाई समायोजन गर्ने र मर्जपछि सानिमा जीआईसी इन्स्योरेन्स नामबाट एकीकृत कारोबार गर्ने सहमति छ ।

यसको सहमतिपत्रमा सानिमा जनरलका अध्यक्ष खेमराज लामिछाने र जनरलका अध्यक्ष कुनाल कयालले हस्ताक्षर गरे । मर्जरपछिको कम्पनीमा कयाल अध्यक्ष हुनेछन् । प्रमुख कार्यकारी अधिकृत (सीईओ) भने सुद्युम्न उपाध्याय हुने सहमति छ । मर्जपछि कम्पनीको चुक्ता पूँजी २ अर्ब रुपैयाँ पुग्नेछ ।

बीमा समितिले चुक्ता पूँजी बढाउन निर्देशन जारी गरेर अप्रत्यक्ष रूपमा मर्जरमा जान दबाब दिइरहेको छ । आर्थिक ऐनमा यही असारभित्र मर्जरको प्रारम्भिक सहमति गरे करलगायतमा छूट पाउने व्यवस्था छ । उक्त छूट लिन बीमा कम्पनीहरुले धमाधम मर्जर सहमति गरेका हुन् । हालसम्म बीमामा ६ ओटा मर्जर सम्झौता भएको छ । 

यसअघि निर्जीवनतर्फ हिमालयन जनरल र एभरेष्ट इन्स्योरेन्स तथा सिद्धार्थ र प्रिमियर इन्स्योरेन्सबीच प्रारम्भिक मर्जर सम्झौता भइसकेको छ । हिमालयन जनरल र एभरेष्टले आगामी आइतवारदेखि हिमालयन एभरेष्ट इन्स्योरेन्सको नामबाट एकीकृत कारोबार गर्दै छन् । जीवनतर्फ प्राइम लाइफ, गुराँस लाइफ र युनियन गाभिँदै छन् । सूर्या लाइफ र ज्योति लाइफले पनि मर्जरमा जाने सहमति गरेका छन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)