असार ३०, काठमाडौं । बर्दिया, ठाकुरबाबा–३, का प्रेम लामिछानेको स्वदेशमै व्यापार–व्यवसाय गर्ने चाहना थियो । तर, उनको चाहनामा बाधक थियो– लगानी । अर्थात् उनीसँग व्यापार–व्यवसायका लागि लगानी थिएन ।
स्वदेशमै ‘केही गर्ने’ चाहना लगानी नहुँदा पूरा हुन नसकेपछि उनी परिवारको घरखर्च चलाउन ९ वर्षअघि साउदी अरब हानिए । ‘घरको आर्थिक अवस्था कमजोर भएकाले त्यतिबेला साउदी अरब जानुपर्याे,’ सन् २०१३ मा साउदी अरब गएका उनले सुनाए ।
उनले साउदी अरबमा ३ वर्ष काम गरे । ‘त्यहाँ पैसा पनि राम्रै कमाइ भयो,’ उनले भने । पैसा कमाएपछि फेरि उनमा नेपालमै ‘केही गर्ने’ भावना जागृत भयो । र, उनी नेपाल फर्किए । ‘त्यहाँ पैसा राम्रै कमाइरहेको थिएँ । तर, पैसा मात्रै ठूलो कुरा होइन नि । मलाई नेपालमै ‘केही गर्ने’ हुटहुटी थियो,’ उनले स्वदेश फर्किनुको कारण खुलाए ।
अब भने उनलाई स्वदेशमै ‘केही गर्न’ लगानीले छेक्न सक्दैनथ्यो । र, उनले कृषि क्षेत्रसँग सम्बन्धित व्यवसाय गर्ने सोच बनाए । उनमा साउदी अरबमै रहँदा स्वदेश फर्किएर कृषिसँग सम्बन्धित व्यवसाय गर्ने सोच आइसकेको थियो ।
तर, उनले परिवारका सदस्यको सहमति पाएनन् । ‘बाख्रा पाल्छु भन्दा परिवारका सदस्यले मानेनन्,’ उनले घर फर्किएपछिका सुरुवाती दिनका घटना सुनाए, ‘बंगुर पाल्छु भन्दा पनि कसैले मानेनन् । उल्टै बाहुनको छोराले घरमा बंगुर पाल्नुहुन्न भने ।’
बंगुरपालन नगर्न परिवारको दबाब आएपछि उनी यसबाट पनि पछि हटे । त्यसपछि उनले बाँकेको नेपालगन्जमा रक्सीको होलसेल डिलर खोले । तर, त्यसबाट राम्रो प्रतिफल आएन ।
त्यो असफलताबाट उनको सोच बदलियो । उनले पुनः विदेश जाने सोच बनाए । उनले जापान जाने प्रक्रिया पनि अघि बढाए । तर, त्यही क्रममा उनलाई एउटा प्रश्नले सतायोे– जापान जान पाइएन भने के गर्ने ?
यही प्रश्न उनका लागि ‘टर्निङ प्वाइन्ट’ बन्यो । उनले विदेश जाने इच्छा त्यागेर पुनः स्वदेशमै व्यवसाय गर्ने सोच बनाए । र, थोरै लगानीमा गर्न सकिने कृषिसँग सम्बन्धित व्यवसायबारे अध्ययन थाले । र, बाख्रापालन गर्ने योजना बनाए । ‘बाख्रापालनबाट थोरै लगानीमा राम्रो आम्दानी हुने थाहा पाएँ । त्यसपछि बाख्रापालन गर्ने सोच आयो,’ उनले सुनाए ।
लगत्तै उनले ठाकुरबाबा–२ मा प्रेशिका एग्री फर्म सञ्चालन गरे । उक्त फर्ममा १० लाख रूपैयाँ लगानी गरे उनले । यसअघि बाख्रापालन गर्न नमानेका परिवारका सदस्यले पनि साथ दिए । उनको बाख्रापालन व्यवसाय फस्टायो । गाउँकै ठूलो बाख्रापालन फर्म बन्यो उनको । ‘बाख्रापालन गरेको एक–दुई वर्षपछि त फर्म हेर्न किसानहरू आउन थाले,’ उनले सुनाए ।
तीन वर्ष बाख्रापालन गरेपछि उनले कृषि कामदारकारूपमा इजरायल जाने मौका पाए । उनले त्यहाँ बाख्रापालन गर्न सिके ।
‘त्यहाँ मैले अन्य जातको भन्दा स्थानीय जातको बाख्रा पाल्दा राम्रो हुने देखें,’ उनले सुनाए, ‘स्वदेश फर्किएपछि मैले पनि त्यही ‘आइडिया’ अपनाए । र, स्थानीय जातको बाख्रामा फोकस गरें ।’ इजरायल जानुअघि उनले स्थानीय जातको बाख्रा पालेका थिएनन् । उनले ‘बाेयर’ जातको बाख्रा पालेका थिए ।
अहिले उनको व्यवसायमा १ करोड लगानी पुगिसकेको छ । उनको फर्ममा ११२ ओटा बाख्रा छन् । बर्खा सकिएपछि साढे दुई सय माउ बाख्रा मात्रै राख्ने उनको सोच छ ।
उनले बाख्राका लागि घाँस पनि लगाएका छन् । उनले ३ बिघा जमीनमा विभिन्न प्रजातिका घाँस लगाएका छन् ।
फर्ममा उत्पादन भएका खसी उनी चितवन र काठमाडौं पठाउने गरेका छन् । ‘स्थानीय स्तरमा पनि खसी विक्री हुने गरेका छन्,’ उनी भन्छन् ।
उनको फर्म १७ कट्टा जग्गामा फैलिएको छ । उनको फर्ममा ५ जनाले रोजगारी पाएका छन् । ‘आगामी दिनमा रोजगारी पाउनेको संख्या थपिन सक्छ,’ उनले भने ।
उनले बाख्रापालन व्यवसायमा सम्भावना रहेको बताए । यस व्यवसायमा लगानी गर्न चाहनेले राम्रोसँग बुझेर मात्रै काम शुरू गर्नुपर्ने उनको सुझाव छ । ‘बाख्रापालनबारे जानकारी लिएर व्यवसाय गरे सफल हुन सकिन्छ,’ उनले भने ।
कृषि संकलन केन्द्र खोल्ने उनको योजना छ । ‘उक्त केन्द्रबाट कृषिसँग सम्बन्धित सबै कुरा उपलब्ध गराउने सोच छ,’ उनी भन्छन् ।
विदेश जाने तयारीमा रहेका वा गएकालाई उनको सुझाव छ– विदेशजतिको दुःख नेपालमै गरे यही राम्रो आम्दानी गर्न सकिन्छ ।