ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

डलरको भाउ १२८ रूपैयाँ माथि

२०७९ असार, ३१  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar रमा सुवेदी

काठमाडौं । नेपाली रूपैयाँको तुलनामा अमेरिकी डलरको भाउ लगातार चौथो दिन कीर्तिमानी स्तरमा उक्लिएको छ । नेपाल राष्ट्र बैंकले शुक्रवारका लागि डलरको विक्री दर १२८ रुपैयाँ ११ पैसा तोकेको छ । यो अघिल्लो दिनको तुलनामा ३९ पैसा महँगो हो । 

मंगलवारयता डलरको विनिमय दरले दिनहुँ नयाँ उचाइ कायम गरिरहेको छ । मंगलवार १२७ रूपैयाँ ४१ पैसा रहेको डलरको भाउ बुधवार र बिहीवार क्रमशः १२७ रूपैयाँ ६६ पैसा र १२७ रूपैयाँ ७२ पैसा कायम भएको थियो ।

यसअघि असार १५ देखि १८ को बीचमा पनि चार दिन लगातार विनिमय दरले कीर्तिमानी स्तर छोएको थियो । गएको एक महीनामा विनिमय दरले १० पटक नयाँ उचाइ छोएको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ । २०७९ शुरू भएयता अहिलेसम्मको अवधिमा डलरको तुलनामा रूपैयाँको भाउ ५ रूपैयाँ ९२ पैसा सस्तो भएको छ । 

बिहीवार भारतीय मुद्रा बजारमा कारोबार बन्द हुँदा डलरको मूल्य भारतीय रूपयाँ (भारू) ७९ दशमलव ८३ मा आएको थियो । योसँगै लगातार चौथो दिन पनि भारूको भाउ डलरको तुलनामा कीर्तिमानी न्यून स्तरमा झरेको छ ।

पछिल्लो समय अमेरिकी केन्द्रीय बैंक (फेड)ले ब्याजदर बढाउन थालेसँगै विश्व बजारमा डलर बलियो हुनु नै नेपाल र भारतमा डलरको भाउ कीर्तिमानी स्तरमा उक्लिनुको मुख्य कारण भएको बताउँछन् नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक नरबहादुर थापा । फेडको ब्याजदर वृद्धिसँगै विदेशी पोर्टफोलियो लगानीकर्ताले भारतीय पूँजी बजारबाट धमाधम लगानी फिर्ता गर्दा यसको प्रभाव भारू डलर विनिमय दरमा परेको र स्थिर आबद्धताको कारण सो प्रभाव नेपाली रूपैयाँ र डलर विनिमय दरमा देखिएको उनी बताउँछन् । 

अहिले नेपालमा डलर महँगो हुनुमा भारतीय अर्थतन्त्रको अवस्था जिम्मेवार रहेको नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर दिपेन्द्रबहादुर क्षेत्रीले बताए । भारतीय बजारमा डलरको माग उच्च हुँदा भारू दबाबमा आएको उनी बताउँछन् । भारतीय बजारबाट विदेशी लगानी पलायन, फेडको ब्याजदर वृद्धि आदिका कारण भारूसँग डलरको विनिमय दर महँगिरहेको र यसैले नेपाली रूपैयाँ डलर विनिमय दर बढाएको उनको भनाइ छ । 

अघिल्लो दिन अमेरिकाको श्रम मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकअनुसार जुनमा महँगी ९ दशमलव १ प्रतिशतमा उक्लिएको थियो । यो सन् १९८१ को सेप्टेम्बरयताकै उच्च स्तर हो । अमेरिकी केन्द्रीय बैंकले महँगी नियन्त्रण गर्न पछिल्लो समय आक्रामकरूपमा ब्याजदर बढाइरहे पनि घट्नुको सट्टा उल्टै अकासिएको छ । यस्तोमा फेडले यही महीनाको अन्त्यतिर बस्ने नीतिगत बैठकमा ब्याजदर १ प्रतिशतसम्म बढाउने अड्कलबाजी बलियो बनेपछि विश्व बजारमा डलर सूचक उकालो लागेको थियो ।

फेडले जसरी भए पनि महँगीमाथि अंकुश लगाउने अडान लिएको छ । फेडले आक्रामकरूपमा ब्याजदर बढाउँदा अर्थतन्त्र सुस्ताउने अनि मन्दीमै जान सक्ने सम्भावना बढ्दै गइरहेको छ । 
यस्तोमा लगानीकर्ताले जोखिम कम गर्न सेफ हेभन एसेट मानिने डलरमा धमाधम लगानी बढाइरहँदा हालैका दिनमा डलर सूचक निरन्तर उकालो लागिरहेको छ । बिहीवार मुद्रा डालोमा आबद्ध प्रमुख मुद्राका तुलनामा अमेरिकी डलरको भाउ मापन गर्ने डलर सूचक १ दशमलव २१ प्रतिशतले बढेर १०९ दशमलव शून्य ५ अंकमा पुगेको थियो । अन्य समकक्षी बैंकको तुलनामा फेडले आक्रामकरूपमा ब्याजदर बढाउने सम्भावना बढ्दा डलर सूचकमा उच्च वृद्धि भइरहेको छ । गएको एक वर्षमा डलर सूचक १६ दशमलव ६६ प्रतिशतले बढिसकेको छ । 

अमेरिकी डलर बलियो बन्दै गइरहेको र विश्वभर लगानीकर्ताले जोखिम कम गर्ने प्रवृत्ति जारी रहँदा भारूको भाउमा थप कमी आउने विश्लेषकले बताएका छन् । भारतीय पूँजी बजारबाट विदेशी लगानीकर्ताले धमाधम लगानी झिक्ने क्रम र मन्दी आउने चिन्ताले पनि भारूको भाउलाई क्षति पुग्न सक्ने बताइएको छ । पछिल्लो समय विश्व अर्थतन्त्रको अवस्था र भारतीय अर्थतन्त्रमा देखिएको कमजोरीलगायत कारणलाई हेर्दा आगामी दिनमा पनि भारु–डलर विनिमय दर महँगो बन्ने देखिएको र रूपैयाँको भाउमा पनि यसको प्रभाव देखिने पनि थापाले बताए । 

हालै भारतीय केन्द्रीय बैंकले भारूमा भुक्तानी गर्ने संयन्त्र ल्याए पनि यसले नेपाली अर्थतन्त्रलाई अहिलेभन्दा धेरै फाइदा पु¥याउँछ जस्तो आफूलाई नलागेको उनले बताए । भारतले नेपालको निर्यातमा लगाएको परिमाणात्मक बन्देज फुकाउने, ५ सय, हजार र दुई हजार जस्ता ठूला नोटमा लगाएको प्रतिबन्ध हटाउने र २५ हजारसम्म भारू ओहोरदोहोर गर्न पाउने भनेर तोकेको सीमा नबढाउँदासम्म सो संयन्त्रले नेपाललाई फाइदा नपुग्ने उनको तर्क छ । भारूमा भुक्तानीको व्यवस्था रणनीतिक हिसाबले अगाडि बढाइएको र यो रणनीति सफल भयो भने भारू बलियो बन्ने र यसले नेपाली रूपैयाँलाई फाइदा पुग्नेमा क्षत्री भने आशावादी देखिएका छन् । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)