पर्वत । पर्वतको फलेवास नगरपालिकाको आगामी आर्थिक वर्ष २०७९/८० का लागि बजेट नीति तथा कार्यक्रम पारित भएको छ । नगरपालिकाको बुधवार राति सम्पन्न एघारौं नगरसभामा नगरप्रमुख गंगाधर तिवारीले प्रस्तुत गरेको नीति तथा कार्यक्रम र उपप्रमुख शोभाकुमारी क्षेत्रीले पेश गरेको आगामी आर्थिक वर्षको बजेट नगरसभाले पारित गरेको हो ।
नगरपालिकाले आगामी आर्थिक वर्षमा चालू तथा पूँजीगततर्फ एकमुष्ठ १ अर्ब ५ करोड ५८ लाख १ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको थियो । तिवारीले प्रस्तुत गरेको नीति तथा कार्यक्रम र क्षेत्रीले प्रस्तुत गरेको बजेट बहुमतले पारित गरिएको पालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद श्रेष्ठले जानकारी दिए । फलेवासमा चालूतर्फ ४३ करोड ८ लाख ८ हजार, सामाजिक सुरक्षातर्फ १५ करोड र पूँजीगततर्फ ४७ करोड ४९ लाख ९३ हजार बजेट विनियोजन गरिएको छ ।
सभाले न्यायिक समिति गठन सम्बन्धी प्रस्ताव, लेखा समिति गठन सम्बन्धि प्रस्ताव, विधायन समिति गठन सम्बन्धी प्रस्ताव, आर्थिक विधेयक, २०७९, विनियोजन विधेयक, २०७९, साझेदारी कार्यक्रम सञ्चालन तथा व्यवस्थापन विधेयक, २०७९ पनि पारित गरेको बताइएको छ ।
फलेवासका सबै ११ ओटै वडाका सडक कालोपत्र तथा ग्राभेल गरी पाँच वर्षभित्र स्तरोन्नति गर्ने, नगरबस सेवा सञ्चालन गर्ने, कालीगण्डकी बहुउद्देश्यीय परियोजनालाई पूर्णता दिने र आगामी वर्षसम्म प्रशासनिक भवन निर्माणको काम सम्पन्न गर्ने कार्यक्रम प्राथमिकतामा राखिएका छन् । कृषि, शिक्षा, स्वास्थ्य पूर्वाधार विकास, पर्यटन प्रर्वद्धन गर्ने कार्यक्रमलाई फलेवास नगरपालिकाले प्राथमिकतामा राखेको छ । अघिल्लो कार्यकालमा शुरू गरिएका नगरका गौरवका आयोजनालाई यो कार्यकालमा पनि निरन्तरता दिइएको छ ।