काठमाडौं । नेपालमा बीमा व्यवसायको इतिहास ७५ वर्ष लामो छ । २००४ सालमा नेपाल बैंक लिमिटेडको सक्रियतामा नेपाल माल चलानी तथा बीमा कम्पनी (हालको नेपाल इन्स्योरेन्स) स्थापना भएको थियो । त्यसको २१ वर्षपछि बीमाक्षेत्रको नियामक निकायको रूपमा बीमा समिति स्थापना भयो ।
अहिले नेपाली बीमाक्षेत्रमा १९ जीवन, २० निर्जीवन र २ पुनर्बीमा कम्पनी सञ्चालनमा छन् । बीमाक्षेत्रको यति लामो इतिहास र यति धेरै कम्पनी हुँदा पनि मर्जरको अभ्यास भने भएको थिएन । साढे ८ दशकको इतिहास भएको बैंक तथा वित्तीय क्षेत्रमा धेरै पहिलेदेखि नै मर्जर अभ्यास छ । बैंकभन्दा १० वर्ष कान्छो बीमाक्षेत्रमा भने मर्जरको सफल अभ्यास अहिलेसम्म भएको थिएन । अहिले त्यसलाई ब्रेक गर्दै हिमालयन जनरल र एभरेष्ट इन्स्योरेन्स एकआपसमा गाभिएर बीमाक्षेत्रमै नयाँ इतिहास रचेका छन् । उनीहरूले आर्थिक वर्ष २०७९/८० को पहिलो दिन (२०७९ साउन १ गते) देखि हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडको नामबाट एकीकृत कारोबार शुरू गर्दै छन् । यी कम्पनीहरू १००ः८५ को सेयर स्वाप अनुपातमा गाभिएका भएका हुन् । नेपालको बीमाक्षेत्रमा मर्जर सम्झौता गरेर एकीकृत कारोबार गर्ने यो नै पहिलो कम्पनी हो । मर्जर सहमति भएको भने यो पहिलो होइन । आजभन्दा १०/११ वर्षअघि नेको र प्रिमियर इन्स्योरेन्सले मर्जरमा जाने समझदारी गरेका थिए । अन्तिममा गएर त्यो मर्जर भाँडिएको थियो ।
नेकोका तत्कालीन प्रमुख कार्यकारी अधिकृत (सीईओ) भोजराज शर्मा प्रिमियरसँग आफ्नो कम्पनी मर्ज गरेर इतिहास रच्न चाहन्थे । मर्जरको तयारी अन्तिम चरणमा पुगेको थियो । त्यही बेला नेकोका सञ्चालकहरू मर्जरमा जान नचाहेपछि सहमति भाँडिएको थियो ।
हिमालयन जनरल र एभरेष्ट इन्स्योरेन्सबीच गत वैशाख २२ गते मर्जरसम्बन्धी प्रारम्भिक सहमति भएको थियो । त्यसपछि सम्पत्ति र दायित्वको मूल्यांकन (डीडीए) लगायतका प्रक्रिया पूरा गरेर यी दुई कम्पनीले छोटो समयमै एकीकृत कारोबार शुरू गरेका हुन् । बैंक तथा वित्तीय संस्थाले मर्जरको प्रारम्भिक सहमति गरेको महिनौंसम्म पनि एकीकृत कारोबार गर्न सकेको देखिँदैन तर बीमाक्षेत्रको पहिलो मर्जर कम्पनीले २ महीनामै एकीकृत कारोबार गर्न सफल भएको देखिन्छ ।
यस्तो हुनेछ नयाँ कम्पनी
मर्जरपछि बनेको हिमालयन एभरेष्ट इन्स्योरेन्सको अध्यक्षमा साबिक हिमालयनका अध्यक्ष महेन्द्रकृष्ण श्रेष्ठ रहनेछन् । उनीसहित कम्पनीको सञ्चालक समितिमा विजितकृष्ण श्रेष्ठ, अजयरत्न स्थापित, भुबल राई, रामप्रसाद खनाल र हेमराज थापा सदस्य रहनेछन् ।
यस्तै, प्रमुख कार्यकारी अधिकृत (सीईओ) पनि साबिक हिमालयनकै विजयबहादुर शाह हुनेछन् । एभरेष्टका सीईओ कमल गौतम वरिष्ठ डीसीईओको भूमिकामा हुनेछन् । यसैगरी पवन थापा नायव प्रमुख कार्यकारी अधिकृत रहनेछन् ।
कम्पनीको चुक्तापूँजी २ अर्ब २३ करोड ९९ लाख ३६ हजार रूपैयाँ पुग्नेछ । हिमालयन जनरलको १ अर्ब १७ करोड ३५ लाख र एभरेष्टको १ अर्ब २५ करोड ४६ लाखको चुक्तापूँजीलाई १००ः८५ को स्वाप अनुपातमा समायोजन गर्दा सो बराबरको चुक्तापूँजी कायम भएको हो । योसँगै आजको दिनमा चुक्तापूँजीको आधारमा हिमालयन एभरेष्ट इन्स्योरेन्स नेपालकै ठूलो निर्जीवन बीमा कम्पनी बनेको छ । तर, यो बीमा समितिले आगामी चैतभित्र पुर्याउनुपर्ने भनी तोकेको न्यूनतम चुक्तापूँजीको सीमाभन्दा कम हो ।
बीमा समितिको पछिल्लो निर्देशनअनुसार निर्जीवन बीमा कम्पनीले आगामी चैतभित्रै २ अर्ब ५० करोड रूपैयाँ न्यूनतम चुक्तापूँजी बनाउनुपर्छ । त्यसअनुसार कम्पनीले अझै २६ करोड १ लाख रूपैयाँ बराबरको पूँजी थप गर्नुपर्ने हुन्छ । त्यो चुक्तापूँजी आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट बोनस शेयर जारी गरेर पूरा गर्ने अध्यक्ष महेन्द्रकृष्ण श्रेष्ठले बताए ।
नयाँ कम्पनीको बीमा कोषको आकार १ अर्ब १३ करोड ७२ लाख रूपैयाँ पुग्नेछ । यसमा हिमालयन जनरलको ६७ करोड ४ लाख र एभरेष्टको ४६ करोड ६८ लाख रूपैयाँ बराबरको बीमा कोष समायोजन गर्ने हो ।
गत चैत मसान्तसम्ममा यी दुई कम्पनीको नाफा २१ करोड ६४ लाख रूपैयाँ छ । असार मसान्तसम्मको हिसाब हुँदा नाफा अझ बढ्नेछ । चैत मसान्तसम्म हिमालयन जनरलले १० करोड ६९ लाख र एभरेष्टले १० करोड ९४ लाख नाफा कमाएको थियो ।
यस्तै, गत असार २५ गतेसम्मको हिसाब अनुसार कम्पनीको कुल बीमाशुल्क संकलन ३ अर्ब १९ करोड २६ लाख रूपैयाँ पुग्नेछ । सो मितिसम्म हिमालयनले २ अर्ब र एभरेष्टले १ अर्ब १९ करोड १० लाख रूपैयाँ बीमाशुल्क संकलन गरेको छ ।
बीमालेख (पोलिसी) संख्या भने १ लाख ९६ हजार ९०७ पुग्नेछ । तथ्यांकअनुसार हिमालयनको ९२ हजार ५५१ र एभरेष्टको १ लाख ४ हजार ३५६ पोलिसी संख्या छ ।
कम्पनीको शाखा संख्या ७५ कायम हुनेछ । हाल हिमालयनको ३८ र एभरेष्टको ४० शाखा छन् । त्यसमा ३ शाखा मर्ज गर्दा ७५ कायम हुन्छ । कर्मचारी संख्या भने ४४० पुग्नेछ । हिमालयनमा २२२ र एभरेष्टमा २१८ कर्मचारी छन् ।
कम्पनीको लक्ष्य
कम्पनीले शुरूआती आर्थिक वर्ष २०७९/८० मा ४ अर्ब २५ करोड रूपैयाँ कुल बीमाशुल्क संकलन गर्ने लक्ष्य लिएको छ । समग्र निर्जीवन बीमा व्यवसायमा न्यूनतम १० प्रतिशत हिस्सा कायम गर्ने कम्पनीको लक्ष्य छ । त्यसपछिका आर्थिक वर्षहरू २०८०/८१ मा ४ अर्ब ४० करोड, २०८१/८२ मा ४ अर्ब ८४ करोड, २०८२/८३ मा ५ अर्ब ५२ करोड र २०८३/८४ मा ५ अर्ब ८५ करोड रूपैयाँ बीमाशुल्क संकलन गर्ने लक्ष्य छ । यस्तै, आर्थिक वर्ष २०७९/८० मा कम्पनीको शाखा कार्यालय १०० पुर्याउने लक्ष्य छ ।
दुई कम्पनीको संक्षिप्त इतिहास
हिमालयन र एभरेष्ट नेपालको दोस्रो पुस्ताका बीमा कम्पनी हुन् । मुलुकको पहिलो बीमा कम्पनी नेपाल माल चलानी तथा बीमा कम्पनी (हालको नेपाल इन्स्योरेन्स) हो । त्यसपछि निजीक्षेत्रमा एनएलजी इन्स्योरेन्स स्थापना भयो । दोस्रो चरणमा हिमालयन जनरल, एभरेष्टलगायतका कम्पनी स्थापना भए । हिमालयन जनरल २०५० मंसिर १६ र एभरेष्ट २०५१ साउन ७ गते सञ्चालनमा आएका थिए । यसरी नेपाली बीमाक्षेत्रमा दोस्रो पुस्ताको कम्पनीको रूपमा परिचत यी दुई मर्जरको मामलामा भने पहिलो भएका छन् ।
तत्कालीन समयमा यी कम्पनीको चुक्तापूँजी ३–३ करोड रूपैयाँ थियो । पहिलो वर्ष हिमालयनले ७२ लाख र एभरेष्टले १ करोड ४३ लाख रूपैयाँको बीमा व्यवसाय गरेको थियो । पहिलो वर्ष हिमालयनमा १६ र एभरेष्टमा १८ कर्मचारी कार्यरत थिए । शाखा कार्यालयको हकमा हिमालयनको ४ र एभरेष्टको २ थियो ।
यसकारण भयो मर्जर
पछिल्लो समय बीमाक्षेत्रमा मर्जरको लहर चलेको छ । बीमा समितिले न्यूनतम चुक्तापूँजीको सीमा बढाउने नीति ल्याएर कम्पनीहरूलाई मर्जरमा जान अप्रत्यक्ष रूपमा दबाब दिएको छ । त्यसपछि बीमा कम्पनीहरू मर्जरमा जान थालेका छन् ।
हाल निर्जीवन बीमा कम्पनीको १ अर्ब र जीवन बीमा कम्पनीको २ अर्ब न्यूनतम चुक्तापूँजी हुनुपर्ने व्यवस्था छ । आगामी चैतभित्र निर्जीवनले २ अर्ब ५० करोड र जीवनले ५ अर्ब रूपैयाँ न्यूनतम चुक्तापूँजी पुर्याउनुपर्ने निर्देशन नियामक निकाय बीमा समितिको छ । समितिले थप लगानी गरेरभन्दा पनि मर्जरमार्फत पूँजी बढाउन कम्पनीहरूलाई प्रोत्साहन गरेको छ । सोहीअनुसार पछिल्लो समय बीमा कम्पनीहरूले धमाधम साझेदार खोजेर मर्जर सहमति गरिरहेका छन् । हिमालयन र एभरेष्टको मर्जर चुक्तापूँजी बढाउनुपर्ने बाध्यताकै कारण नभएको अध्यक्ष महेन्द्रकृष्ण श्रेष्ठ बताउँछन् ।
‘वास्तवमा हामीले बीमा समितिबाट चुक्तापूँजी बढाउने निर्देशन जारी हुनुभन्दा अघिदेखिनै मर्जरको योजना बनाइरहेका थियौं । त्यही बेला समितिबाट चुक्तापूँजी बढाउने निर्देशन आएपछि हामीलाई थप हौसला मिलेको हो,’ उनले भने, ‘आजको दिनमा पूँजी बढाउने कुरा एक ठाउँमा छ, त्यो आफैमा राम्रो पक्ष पनि हो । तर, थप लगानी गरेर पूँजी बढाएरमात्र व्यवसाय बढाउन सक्ने अवस्था थिएन । मर्जर नै उपयुक्त विकल्प थियो, त्यही भएर हामी मर्जरमा गएका हौं । पूँजी बढाउनकै लागि मात्र मर्जर गरेको होइन ।’
मर्जरका पछाडि कम्पनीको दायरा फराकिलो बनाउने, जोखिम वहन गर्ने क्षमता बढाउने, व्यवसाय बढाउने, बीमा सेवा सरल बनाउने लगायतका उद्देश्य भएको उनको भनाइ छ । ‘एभरेष्टसँग व्यवसायको आकार, स्थापना भएको समयलगायतका अधिकांश पक्ष मिल्थ्यो । त्यो अवस्थामा एभरेष्टसँगै मर्ज गर्न सहज देखियो,’ उनले भने, ‘त्यसपछि हिमालयन र एभरेष्टलाई मर्ज गरेका हौं ।’
कम्पनीको सीईओ विजयबहादुर शाहले कम्पनीलाई बीमाक्षेत्रकै बलियो कम्पनीको रूपमा अगाडि बढाउने लक्ष्य लिएको बताए । कम्पनीलाई उत्कृष्ट ३ भित्र राख्ने लक्ष्यसहित व्यावसायिक रणनीति बनाउने पनि उनले बताए । ‘मर्जरसँगै शाखाको आधारमा कम्पनीको दायरा फराकिलो भएको छ । चुक्तापूँजी लगायतका वित्तीय परिसूचकको आकार पनि ठूलो भइसकेको छ,’ उनले भने ‘त्यसमाथि अब हामीसँग बीमाक्षेत्रमा लामो समयदेखि कार्यरत अनुभवी तथा विज्ञ कर्मचारी छन् । नयाँनयाँ ठाउँमा व्यवसाय विस्तार गर्न धेरै सहज हन्छ । यहीअनुसार हामीले व्यावसायिक रणनीति बनाएका छौं । यो वर्ष ४२५ करोडको व्यवसाय गर्ने, कम्पनीलाई उत्कृष्ट ३ भित्र राख्नेलगायतका लक्ष्य लिएका छौं । आगामी दिनमा शाखा कार्यालय व्यापक रूपमा बढाउने, व्यवसाय विस्तार गर्ने, पूँजीको अधिकतम परिचालन गर्ने, जोखिम बहन गर्ने क्षमता बढाउने पनि हाम्रो व्यावसायिक रणनीति छ ।’
अब कम्पनीले दिने सेवा पनि छिटो, छरितो र सरल हुने उनको भनाइ छ । ‘किनकि हाम्रो शाखा कार्यालयको संख्या बढेको छ । हिमालयन जनरलले विगत ५ वर्षदेखि नै आफ्नो सेवा, सुविधालाई डिजिटाइजेशन गर्दै आएको थियो । एभरेष्टले पनि त्यसै गरिरहेको थियो । एक ठाउँमा आएपछि डिजिटाइजेशनलाई पूर्णता दिन्छौं,’ उनले भने, ‘त्यसपछि ग्राहकहरू बीमा सेवा लिन हाम्रो कम्पनीको कार्यालयसम्म आउनै पर्दैन । ग्राहक जहाँ छन्, त्यहीँबाटै हाम्रो सेवा, सुविधा लिन सक्छन् । ग्राहकले दाबी भुक्तानीसमेत छिटो छरितो र सहज पाउनेछन् ।’
अब कम्पनीले ठूला र धेरै जोखिम भएको बीमा पनि गर्न सक्ने वरिष्ठ डीसीईओ कमल गौतम बताउँछन् । ‘मर्जरसँगै कम्पनीको चुक्तापूँजी, बीमा कोष लगायतका परिसूचकको आकार बढेको छ । योसँगै हाम्रो जोखिम बहन गर्ने क्षमता पनि बढेको छ,’ उनले भने, ‘त्यसमाथि दक्ष कर्मचारीको संख्या बढेको छ । त्यो अवस्थामा साँच्चै नै अब हामीले ठूला ठूला जोखिम पनि अन्डरराइटिङ गर्न सक्छौं ।’ ग्राहकलाई आकर्षित गर्न पनि सकिने उनको भनाइ छ ।
‘यो मर्जरले बजारमा सकारात्मक सन्देश दिन्छ । अब हामीप्रति ग्राहकको आकर्षण बढ्छ,’ डीसीईओ गौतमले भने, ‘समग्रमा हाम्रो लाभांश दिने क्षमतामा पनि सुधार आउँछ ।’