ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

रूस–युक्रेन तनाव : नेपालमा वैदेशिक सहायता र लगानी प्रभावित हुने जोखिम

२०७९ सावन, ३  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar विजय दमासे

काठमाडौं । रूस–युक्रेन तनावका कारण नेपालले प्राप्त गर्ने वैदेशिक सहायता र लगानी प्रभावित हुन सक्ने एउटा सरकारी अध्ययनले देखाएको छ । अध्ययनले रूस–युक्रेन तनावको असरसँग जुध्न गहिरो समीक्षा गरी मौद्रिक तथा वित्तीय नीतिमा परिमार्जन गर्नुपर्ने आवश्यकता पनि औंल्याएको छ ।

रूसले युक्रेनमाथि आक्रमण गरेपछि विकसित घटनाक्रमले पारेको असरबारे नीति अनुसन्धान प्रतिष्ठानले हालै गरेको अध्ययनले त्यसको बहुआयामिक असरबाट नेपाल अछुतो रहन नसक्ने स्पष्ट पारेको छ । अध्ययनले तनावका असरहरूको सूक्ष्म अनुसन्धान गरी संकटसँग जुध्न नीतिगत सुधारको सिफारिश गरेको हो ।

अध्ययन प्रतिवेदनमा भनिएको छ, ‘मुद्रास्फीतिले गर्दा बजारमा पर्ने सक्ने चापलाई दृष्टिगत गर्दै मौद्रिक तथा वित्तीय नीतिहरूको सूक्ष्म समीक्षा गरी आवश्यक परे परिमार्जन गर्नु उपयुक्त देखिन्छ ।’

पेट्रोलियम पदार्थको बढ्दो मूल्यले आउने जटिलता गहिरिन नदिन सरकारले कम्तीमा ३ महीनाको बफर स्टक राख्ने र यसको खपत न्यूनीकरण गर्ने उपाय तत्काल अवलम्बन गर्नुपर्ने बताइएको छ । यसका लागि बिजुलीको प्रयोग बढाउने गृहकार्य थाल्नुपर्ने आवश्यकता औंल्याइएको छ । प्रतिवेदनमा भनिएको छ, ‘रणनीतिक रूपमा नै विद्युत् र नवीकरणीय ऊर्जाको प्रयोग वृद्धि गर्नुपर्छ ।’

पेट्रोलियम पदार्थको मूल्य बढेसँगै उपभोक्ता मूल्य सूचकांक बढ्ने भएकाले सरकारले पेट्रोलियम संकट देखिनासाथ आधारभूत उपभोग्य वस्तुको मूल्य स्थिर राख्ने र अति विपन्न उपभोक्ताको लागि विशेष सहुलियतको व्यवस्था गर्नुपर्ने निष्कर्ष अध्ययनको छ ।

त्यस्तै, पेट्रोलियम पदार्थको मूल्य वृद्धिले ढुवानी, कृषि र औद्योगिक उत्पादनमा प्रभाव पार्ने भएकाले यसको विकल्पका लागि समयमै समाधानतिर लाग्न सुझाइएको छ ।
युद्धको कारणले रासायनिक मलको विश्वव्यापी अभाव हुन सक्ने भएको हुँदा नेपालले यसको सम्बोधन गर्न तत्काल पहल गर्नुपर्ने, हालको तरलता संकटलाई यो युद्धले थप जटिल बनाउने हुँदा आधारभूत सुविधाका वस्तुबाहेक विलासी सामानको आयातमा रोक लगाउने र आधारभूत आवश्यकताका वस्तुहरूको आयातमा सहजीकरण गर्नुपर्ने निष्कर्ष अध्ययनको छ ।

अध्ययन प्रतिवेदनअनुसार बढ्दो भययुक्त विश्वव्यापी अवस्थाको परिणामस्वरूप यूरोप, अमेरिका र केही अन्य देशमा रक्षा बजेट द्रुत रूपमा बढ्ने सम्भावना छ । त्यसका कारण वैदेशिक सहायता र प्रत्यक्ष लगानीमा कमी आउन सक्छ । तसर्थ, वैदेशिक सहायतामा खलल नपुगोस् भन्नका लागि नेपालले आर्थिक कूटनीतिलाई अझ बलियो बनाउनुपर्ने अध्ययनमा उल्लेख छ ।

यस युद्धकै कारण नेपालमा आइरहेको विप्रेषणसमेत घट्ने सम्भावना भएकाले श्रम गन्तव्य मुलुकहरूसँग कूटनीतिक संवाद थालिहाल्नु आवश्यक रहेको बताइएको छ ।

विश्वव्यापीकरण र बजारीकरणले देशहरूबीचको अन्तरआबद्धता भएका कारण युद्धको असर नेपालमा पनि देखिएको प्रतिवेदनमा उल्लेख छ । पछिल्लो समय नेपालमा अन्तरनिर्भरता वृद्धि हुँदै गएको र नेपाली बजार आयातमा आधारित भएको पेट्रोलियम पदार्थ, लत्ताकपडा, मोटरपार्टस्, खाद्यान्नलगायत वस्तु तथा सेवामा नेपाल आयातमा भर पर्नु परेको अवस्थामा विश्व घटनाको प्रभाव नेपालमा देखिएको अध्ययन प्रतिवेदनमा भनिएको छ ।

युक्रेनमाथि आक्रमण गरेको रूसले हालसम्म प्रत्यक्ष वैदेशिक लगानी स्वरूप विभिन्न ४२ कम्पनीमार्फत नेपालमा ६९ करोड ४० लाख लगानी गरेको र १ हजार ४ सय ६४ जनालाई रोजगारी सृजना गरेको अध्ययनले देखाएको छ । २०४६ सालमा बहुदलीय व्यवस्था पुनःस्थापना भएपछि रूसले नेपाललाई गर्ने सहयोगमा कमी आउनुका साथै व्यापार पनि घट्दै गएको अध्ययनले देखाएको छ ।

यद्यपि नेपालको निर्यातको तुलनामा आयात अत्यधिक भएकाले रूससँग व्यापारघाटा छ । आर्थिक वर्ष (आव) २०७५/७६ मा नेपालले रूसबाट २ अर्ब ३० करोड ६० लाख रुपैयाँको आयात गरेको थियो । त्यस वर्ष रूसतर्फको निर्यात निर्यात १५ करोड १९ लाख बराबर थियो । सोही आवमा रूससँगको व्यापारघाटा २ अर्ब १५ करोड ४० लाख रुपैयाँ थियो । नेपालले आव २०७६/७७ मा रूसतर्फ करीब १३ करोड ६४ लाख रुपैयाँ बराबरको निकासी गरेको थियो । सो वर्षको आयात १ अर्ब ७१ करोड १० लाख बराबर थियो ।

नेपालबाट रूसमा निर्यात हुने वस्तुमा गलैंचा, ऊनी सल, स्कार्फ र पश्मिनाका सामान छन् । आयातमा मेशिनरी पार्टपुर्जा, रासायनिक मल र धातुका सामानहरू छन् । रूस–युक्रेन तनावले गर्दा यी वस्तुको आयात र निर्यात दुवैमा अवरोध हुनसक्ने र नेपालका कलकारखानादेखि उत्पादन तथा आपूर्ति प्रणालीसम्ममा असर पुग्ने प्रतिवेदनमा उल्लेख छ ।

नेपाल र युक्रेनबीच वार्षिक लगभग १७ अर्ब रुपैयाँ बराबरको व्यापार छ । नेपालले आव २०७६/७७ मा युक्रेनबाट १० अर्ब २२ करोड २६ लाखको आयात गरेको छ । उक्त वर्षको निर्यात ४८ लाख रुपैयाँ बराबर छ । त्यस्तै, आव २०७७/७८ मा १७ अर्ब १७ करोड ६८ लाखको आयात र २२ लाख बराबरको निर्यात भएको छ ।

चालू आवको पहिलो ७ महीनामा नेपालले १४ अर्ब ४२ करोड ३३ लाख रुपैयाँ बराबरको वस्तु युक्रेनबाट आयात गरेको छ भने १५ लाख रुपैयाँ बराबरको उत्पादन निर्यात गरेको छ । यस युद्धले गर्दा विशेष गरी युक्रेनबाट आयात हुने खाद्यान्न, टेलिफोनका उपकरण, तयारी पोशाक र नेपालबाट निर्यात हुने चिया, कार्पेट र हस्तकलाका सामानको व्यापारमा समस्या आउने प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदन अनुसार मुख्यतः खाने तेलका लागि नेपाल युक्रेनमाथि निर्भर छ । नेपाल आउने सूर्यमुखी तेलको कच्चा पदार्थमध्ये ९५ प्रतिशत युक्रेनबाट भित्रिन्छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)