साउन ३, काठमाडौं । काठमाडौंको मध्यभागमा बाक्ला नेवारी बस्ती छन् । तर, खुला ठाउँमा बसेर परम्परागत नेवारी परिकारको स्वाद लिन चाहनेले कि भक्तपुर पुग्नुपर्थ्याे कि त कीर्तिपुर ।
काठमाडौंको मध्यभागमा बस्ने नेवारी परिकारका पारखीलाई सहज बनाउन थापाथलीस्थित बागमती किनारमा खुलेको छ बैगः रेष्टुरेन्ट । बैगः अर्थात् एक तलामाथि । काठमाडौंको मध्य भागमा गल्ली र भुइँतलामा सीमित नेवारी खाना संस्कृतिलाई खुला र फराकिलो बाटोमा एक तलामाथि पुर्याएका छन् रूपेश राजभण्डारी र रामचन्द्र बहाला श्रेष्ठले । रेष्टुरेन्टले सुकुलमा बसेर भोज खाने संस्कृतिलाई टफन ग्लासमाथि पुर्याएको छ । यस्तै, नेवारी परिकारलाई गल्लीबाट बाहिर ल्याएको छ ।
रेष्टुरेन्ट सञ्चालकमध्येका एक राजभण्डारी ९ वर्षदेखि हस्पिटालिटी क्षेत्रमा सक्रिय छन् । उनकै सक्रियतामा नेवारी कल्चरल फुडलाई कन्टिनेन्टल आइटमसँग फ्युजन गर्दै लाउन्जमा उपलब्ध गराइएको हो ।
राजभण्डारीले बानेश्वरमा सिटिस्केप लाउन्ज एण्ड बार चलाइरहेका छन् । कल्चरल फुडको प्रमोट गर्न रेष्टुरेन्ट खोलिएको उनले बताए । गत चैतमा सफ्ट ओपनिङ भएको रेष्टुरेन्टको एक हप्ताअघि मात्रै ग्राण्ड ओपनिङ भएको हो ।
टफन ग्लासको बार्दलीमा बसेर नेवारी परिकारको स्वाद
यो रेष्टुरेन्ट नेवारी कल्चरल फुडको कारण मात्रै स्पेशल भने होइन । रेष्टुरेन्टमा सबै कुरा ह्याण्डमेड छन् । पिल्लरहरू सबै नेपाली कल्चरको भएकोले डेकोरेसनमा बढी खर्च भएको उनी बताउँछन् ।
देशका विभिन्न पर्यटकीय स्थानमा निर्माण भइरहेका सिसाका पुलजस्तै यस रेष्टुरेन्टमा हिँड्न मिल्ने टफन ग्लास राखिएको छ । टफन ग्लासमाथि कुर्ची राखिएको छ । यही पारदर्शी सिसामाथि बसेर नेवारी परिकार खानुको मज्जै बेग्लै !
नेवारी कल्चर र खानालाई फ्युजन
बैगः सुकुलबिनाको कल्चरल फुड पाइने लाउन्ज स्टाइलको नेवारी रेष्टुरेन्ट हो । नेवारी कल्चरमा रेष्टुरेन्टमा खाँदा जुत्ता खोलेर बस्ने प्रचलन छ । त्यसलाई विस्थापित गरेर नेवारी फुडलाई लाउन्जको रूपमा लगेको सञ्चालक राजभण्डारी बताउँछन् ।
नेवारी फुड त्यति महँगो पनि हुँदैन । तर, उनी आफूले दिने हस्पिटालिटीको कारण सामान्यभन्दा थोरै महँगो तर अफोेर्डेबल भएको दाबी गर्छन् । ‘नेवारी फुड आफैमा त्यति महँगो पनि छैन । २ सय ३ सय रूपैयाँको रेन्जमा एउटा डिस आउँछ,’ उनी भन्छन् ।
बारा बर्गर, छोईला र्याप
नेवारी खाना आफैमा विशेष छ । त्यसमा अलिकति फ्युजन गरेको छ बैगःले । बारा बर्गर र छोइला र्याप यसका उदाहरण हुन् ।
नेवारी परिकारलाई कन्टिनेन्टलसँग जोड्ने प्रयास गरेको रेष्टुरेन्ट सञ्चालक बताउँछन् । नेवारी कल्चरल फुडमध्ये अति रुचाइने बारालाई बर्गरको आकारमा ढालिएको छ । यस्तै, चिकेन र्यापकै कन्सेप्टमा छोयला र्याप पनि बनाइएको उनले बताए ।
नख्ट्या गर्ने योजना
नेवारी थालीसहित नेवारी स्पेसल नख्ट्या (भोज)लाई ब्राण्डिङ गर्ने योजनामा छन् उनी । नेवारी जात्राहरू तथा पार्टीमा खाइने नख्ट्यालाई कम्तिमा पनि हप्ताको एक दिन स्पेशल डिसको रूपमा उपलब्ध गराउने योजना रहेको उनले बताए ।
रेष्टुरेन्टमा छन् अनुभवी सेफ
रेष्टुरेन्टमा झन्डै दुई दशक चीनमा काम गरेका सेफ छन् । इन्डियन परिकार बनाउने उनी नेवारी समुदायका हुन् । स्थानीय स्तरका नेवारी कल्चरल परिकार चटामरी योमरी बनाउन भने ललितपुरका २ नेवारी महिला स्टाफ रहेका छन् ।
नेवारी कल्चरल फुड पाइने फेमेलीवेस रेष्टुरेन्ट भइसकेको छ बैगः । यो अवस्थामा उनले रेष्टुरेन्टलाई लाउन्जको रूपमा प्रमोट गर्दै कल्चरलाई क्यासमा बदल्ने प्रयास गरेका छन् ।
उनले कन्टिनेन्टल डिस बनाउने कुकलाई नेवारी परिकारको तालिम दिएका छन् । यही कारण नेवारी परिकारमा फ्युजन भएको उनी बताउँछन् ।
‘नेपालीलाई रमाइलो गर्न शुक्रवारै पर्खिनु पर्दैन’
हस्पिटालिटी क्षेत्रमा सिजन र अफसिजन नहुने राजभण्डारी बताउँछन् । अहिले मानिसहरू खानेकुरामा शौखिन भइसकेका छन् । खाना खान थकाली भान्सा, खाजा खान नेवारी भान्सा जाने कल्चर भइसकेको छ । रेष्टुरेन्ट जान वा रमाइलो गर्न शुक्रवार नै पर्खिने चलन सकिएको उनी बताउँछन् । ‘अहिले हप्तामा सातै दिन रमाइलो गर्छन् नेपालीले,’ उनी भन्छन् ।
नेपालीहरूमा रेष्टुरेन्ट जाने कल्चर रहेको उनी बताउँछन् । कोरोनाकालमा रेष्टुरेन्टमा ग्राहक घटे पनि अहिले रेष्टुरेन्ट व्यवसाय लयमा फर्किएको उनी बताउँछन् ।
चुजी छन् ग्राहकहरू
अहिले ग्राहकहरूले नयाँ र फ्युजन परिकार खोज्ने गरेको उनी बताउँछन् । एउटै ग्रुप वा परिवारका सदस्य पनि फरक फरक परिकारको टेस्ट लिन चाहान्छन् । यस हिसाबमा रेष्टुरेन्ट आउने ग्राहकहरू चुजी भएको पाएका छन् उनले । उनी ग्राहकको त्यही चुजीपनलाई क्यास गर्ने दाउमा छन् ।
३ करोड लगानी, १५० जनाको अकुपेन्सी
रेष्टुरेन्टमा अहिलेसम्म साढे २ करोड लगानी भइसकेको छ । अझै केही डेकोरेसनको काम बाँकी रहेकोले लगानी ३ करोड पुग्ने राजभण्डारी बताउँछन् । सिसा लगाउँदा मात्रै ६२ लाख रूपैयाँ खर्च लागेको उनको भनाइ छ । यस्तो प्रकारको सिसा नेपालमा नपाइने, भारतबाट ल्याउँदा बढी खर्चिलो भएको हो । ‘नेपालमा यस्तो प्रकारको सिसाको पुल बनाउने त धेरै नै छन् । तर, रुफटफ भएको रेटुरेन्ट हाम्रो मात्रै हो,’ उनले भने ।
रेष्टुरेन्ट २१ सय स्क्वायर फिट क्षेत्रफलमा फैलिएको छ, जहाँ एक पटकमा १५० जनाको अकुपेन्सी छ । रेष्टुरेन्टमा पार्किङको समेत व्यवस्था छ । रेष्टुरेन्टमा एक पटकमा १५ भन्दा बढी गाडी र ५० भन्दा बढी बाइक पार्किङको क्षमता छ ।
रेष्टुरेन्टमा २२ जना स्टाफ रहेकोमा १७ जना गैरनेवार छन् । उनीहरूलाई नेवारी भाषासमेत सिकाइएको छ ।
धेरैले हस्पिटालिटी क्षेत्रमा विदेशी कल्चरलाई जोड्ने गरेकोमा आफूले नेपाली ओरिजिनल कल्चरलाई केही स्ट्यान्डर्ड बनाउन खोजेको उनी बताउँछन् । काठमाडौंभित्र राम्रो नेवारी रेष्टुरेन्ट नभएपछि लाउन्ज स्टाइलतर्फ आफू आकर्षित भएको उनको भनाइ छ ।