ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

गतवर्ष लगानी प्रतिबद्धता दोब्बरभन्दा धेरै

२०७९ साउन, ५  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar हिमा वि.क.

काठमाडौं । कोभिड–१९ को संक्रमण कम भएपछि नेपालमा स्वदेशी तथा विदेशी लगानीको प्रतिबद्धता बढेको देखिएको छ । अघिल्ला २ वर्षमा खुम्चिएको लगानी प्रतिबद्धता आर्थिक वर्ष (आव) २०७८/७९ मा अघिल्लो वर्षको दाँजोमा करीब १२० प्रतिशतले बढेको छ ।

उद्योग विभागका अनुसार गत आवमा अघिल्ला २ वर्षको तुलनामा लगानी प्रतिबद्धता उक्त मात्रामा बढेको हो । सो वर्ष स्वदेशी र विदेशी लगानीका ३०९ उद्योग दर्ता हुँदा लगानी प्रतिबद्धता ३ खर्ब ४३ अर्ब रुपैयाँ पुगेको छ । आव २०७७/७८ मा उद्योग दर्ता २०३ हुँदा १ खर्ब ५६ अर्ब रुपैयाँ लगानी प्रतिबद्धता आएको थियो । कोभिड–१९ पूर्ण रूपमा निर्मूल नभए पनि संक्रमणदर कम हुँदै जाँदा गतवर्ष लगानी प्रतिबद्धता बढेको देखिएको छ ।

कोरोना संक्रमणपूर्वको आव २०७५/७६ मा यस्तो लगानी प्रतिबद्धता २ खर्ब ८५ अर्ब थियो । विभागका अनुसार उक्त लगानीमा सञ्चालन हुने गरी ४४१ उद्योग दर्ता भएका थिए । कोरोनाकालमा खुम्चिएको लगानी गतवर्ष बढेको विभागका महानिर्देशक रामचन्द्र तिवारीले बताए । यद्यपि कोरोना कम भएपछि मात्रै लगानी नबढेको र यसमा अरु पक्षको पनि हात रहेको उनको दाबी छ ।

‘केही वर्षदेखि हामीले औद्योगिक वातावरण बनाउन र लगानीकर्तालाई आकर्षित गर्न ऐन, नियमावली संशोधनदेखि प्रशासनिक पक्षमा पनि सुधार गर्दै आएका छौं,’ तिवारीले भने, ‘यसले पनि लगानी प्रतिबद्धता बढेको हो । नीतिगत सुधारलाई पनि यसको कारण मान्न सकिन्छ ।’ स्वदेशी र विदेशी लगानीकर्ताका लागि सहज वातावरण बन्दा प्रतिबद्धता बढेको उनले दाबी गरे ।

प्रतिबद्धता र उद्योग दर्ता हुँदैमा लगानी भइहाल्ने चाहिँ होइन । विभागका महानिर्देशक भन्छन्, ‘प्रतिबद्धताअनुसार लगानी आउँदैन र पनि निराश हुनुपर्ने अवस्था छैन । प्रतिबद्धता बढ्दा लगानी पनि बढ्ने हुन्छ ।’ उनका अनुसार पछिल्लो समय प्रतिबद्धताको ५० देखि ६० प्रतिशतसम्म लगानी भएको देखिन्छ । प्रतिबद्धतालाई लगानीमा परिणत गर्न सरकारले उल्लेख्य काम गरेको भने पाइँदैन ।

सन् २०१९ मा विश्व बैंकले सार्वजनिक गरेको ‘नेपाल डुइङ बिजनेश’ प्रतिवेदनमा नेपाल ११०औं स्थानमा थियो । तर, सन् २०२० मै विश्व बैंकले सार्वजनिक गरेको प्रतिवेदनमा नेपालमा व्यवसाय तथा लगानीमैत्री वातावरण सुधारिएर ९४औं स्थानमा उक्लेको थियो । डुइङ बिजनेशमा नेपाल ११०औं स्थानमा पुग्दा तत्कालीन अर्थमन्त्री युवराज खतिवडाले यसमा असहमति व्यक्त गरेका थिए । नेपालमा व्यवसाय गर्ने वातावरणमा सुधार आएको प्रतिवेदनले देखाए पनि वैदेशिक व्यापार घाटा उच्च छ ।

स्वदेशी खपत र निर्यातमा वृद्धि हुँदै आयात न्यूनीकरण हुनुको साटो उल्टो बढेको देखिन्छ । भन्सार विभागका अनुसार गतवर्षको ११ महीनासम्ममा नेपालले वैदेशिक व्यापारमा १५ खर्ब ७७ अर्ब रुपैयाँ घाटा बेहोरेको छ ।

उद्योग विभागका अनुसार गतवर्ष सबैभन्दा बढी उद्योग उत्पादनमूलक क्षेत्रमा ११६ ओटा दर्ता भएका छन् ।

उत्पादनमूलक उद्योगमा मात्रै ८९ अर्ब ७९ करोड रुपैयाँको लगानी प्रतिबद्धता आएको छ । यसपछि पर्यटनमा उद्योग दर्ता बढी छ । पर्यटनमा २५ अर्ब १२ करोड रुपैयाँको प्रतिबद्धता आएको छ ।

पर्यटनभन्दा केही कम ऊर्जामूलक उद्योग दर्ता भएका छन् । यसमा ५० उद्योग दर्ता हुँदा लगानी प्रतिबद्धता १ खर्ब ७० अर्ब ७६ करोड रुपैयाँ छ । विभागका अनुसार गतवर्ष सबैभन्दा कम खनिजमूलक उद्योग दर्ता भएका छन् । यसमा लगानी प्रतिबद्धता पनि कम छ । विभागका अनुसार २ ओटा खनिज उद्योग भई २५ करोड ९९ लाखको लगानी प्रतिबद्धता आएको छ । विभागका अनुसार प्रतिबद्धताअनुसार लगानी भए २८ हजार ५२७ जनाले रोजगारी पाउनेछन् । गत आवमा कुल ५३ अर्ब ९० करोड रुपैयाँको लगानी प्रतिबद्धतासहित वैदेशिक लगानीका २९३ ओटा उद्योग दर्ता भएका छन् । तीमध्ये पर्यटन क्षेत्रमा मात्रै १२५ ओटा दर्ता भएका छन् । यसमा १९ अर्ब ४० करोड रुपैयाँको लगानी प्रतिबद्धता आएको छ । विदेशी लगानीको प्रतिबद्धता आउनेमा दोस्रोमा सेवामूलक र तेस्रोमा उत्पादनमूलक छ

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)