ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

मर्जरको नाममा वर्षौ कारोबार रोक्ने व्यवस्था खारेज भएपछि बढीमा कति दिन बन्द होला कम्पनीको कारोबार ?

२०७९ साउन, ७  
लगानी समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar प्रजिता बुढाथोकी

साउन ७, काठमाडौं । मर्जर तथा प्राप्तिका कारण अब लामो समय कम्पनीहरूको शेयर कारोबार नरोकिने भएको छ । 

नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७९/ ८० को मौद्रिक नीतिमा मर्जर तथा प्राप्ति प्रयोजनका लागि शेयर कारोबार रोक्का राख्ने विद्यमान व्यवस्था खारेज गरेको हो । आगामी दिनमा मर्जर तथा प्राप्तिका सम्बन्धमा कारोबार रोक्का राख्ने व्यवस्था नियामक निकाय नेपाल धितोपत्र बोर्डको नियमन बमोजिम हुने मौद्रिक नीतिमा उल्लेख छ ।  

पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरूसँगै बीमा र जलविद्युत् क्षेत्रमा पनि मर्जर तथा प्राप्तिको लहर चलेको छ । जसका कारण हालसम्म ३१ ओटा कम्पनीको शेयर कारोबार रोक्का रहेको छ । मर्जर तथा प्राप्ति प्रयोजनका लागि लामो समय शेयर कारोबार रोक्का राख्न नहुने पक्षमा धितोपत्र बजार सम्बद्ध सबै निकायहरू रहेका थिए ।

नियामक निकाय नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश कुमार हमालले लामो समय लगानीकर्ताको सम्पत्ति बन्धक बन्न थालेपछि यो विषयमा नेपाल राष्ट्र बैंकसँग छलफल तथा परामर्श गरेका थिए । मर्जर तथा प्राप्ति प्रयोजनामा शेयर कारोबार रोक्का राख्ने व्यवस्था राष्ट्र बैंकको नियमनमा पर्ने कम्पनीहरू बाहेक अन्यमा लागू नहुने तर्क अध्यक्ष हमालको छ । 

बैंक तथा वित्तीय संस्थाहरूभन्दा बाहेक धेरै बीमा कम्पनीहरू मर्जर प्रक्रियामा गएकाले नेपाल राष्ट्र बैंकको मात्र व्यवस्थाबाट लागू गरिएको यो प्रक्रियाको अन्त्य गर्दै थोरै समय मात्र कारोबार रोक्का राख्ने व्यवस्था लागू गर्ने उनले बताए ।

राष्ट्र बैंकले उक्त व्यवस्था हटाएर बोर्डलाईनै पूर्ण जिम्मेवारी दिएकाले आगामी दिनमा आम लगानीकर्ताको हितमा निर्णय हुने अध्यक्ष हमालको भनाइ छ । आफुहरूको पहलमै राष्ट्र बैंकले सहज वातावरण बनाइदिएकाले अब मर्जर तथा प्राप्ति सम्झौता गरिसकेपछि बढीमा एक हप्ता र एकीकृत कारोबार गरिसकेपछि अर्को एक हप्ता शेयर कारोबार रोक्का हुने गरी बोर्डले गृहकार्य गर्ने अध्यक्ष हमालले जानकारी दिए ।

यस वर्षको मौद्रिक नीतिले धितोपत्र बजारको सम्बन्धमा शेयर धितोकर्जाको सीमाका विषयमा पनि केहि परिवर्तन गरेको छ । गत वर्ष शेयर धितो कर्जाको सीमा एकल ग्राहकमा एक वित्तीय संस्थाबाट अधिकतम रू. ४ करोड र समग्र वित्तीय प्रणालीबाट अधिकतम रू. १२ करोड बनाएको राष्ट्र बैंकले यस वर्ष एक वा सबै वित्तीय संस्थाबाट अधिकतम रू. १२ करोडसम्म लिन पाउने व्यवस्था गरेको हो । 

बैंक तथा वित्तीय संस्थाहरूले मात्र प्रदान गर्दै आएको शेयर धितोकर्जा पछिल्लो समय मार्जिन लोन शिर्षकमा धितोपत्र दलाल व्यवसायीहरूले पनि प्रदान गर्न पाउने व्यवस्था भएको छ । मार्जिन कर्जा ब्रोकरहरूमार्फत नियमति र व्यवस्थित हुँदै गएपछि मार्जिन कर्जा सम्बन्धी राष्ट्र बैंकले गरेको यो व्यवस्था हटाइने समेत मौद्रिक नीतिमा उल्लेख छ । 

शेयर धितोमा प्रवाह हुने कर्जाको जोखिम भार यसअघि १०० रहेकोमा यस वर्ष १५० सम्म कायम गरिएको छ । राष्ट्र बैंकले रू. २५ लाखसम्मको कर्जाको हकमा १०० प्रतिशत र सोभन्दा माथिको कर्जाको हकमा १५० प्रतिशत जोखिम भार राख्नुपर्ने व्यवस्था गरेको हो । 

यस वर्षको मौद्रिक नीतिले लगानीकर्ताहरूलाई हात्ति आयो हात्ति आयो फुस्सा भन्ने उखानजस्तै बनाएको  नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष तुलसी राम ढकालले बताए । ५२ लाखभन्दा बढी लगानीकर्ताहरूले माग गरेको रू. १२ लाखको अधिकतम शेयर धितोकर्जाको सीमा खारेजीको विषयलाई यथावत राखी एक वित्तीय संस्थाबाट अधिकतम रू. १२ करोडको सीमा बनाई बच्चालाई ललिपप दिएर फकाए जस्तो गरेको आरोप उनले लगाए । जोखिम भारलाई समग्रमा १०० प्रतिशतनै कायम गर्नुपर्ने माग उनले गरे । यसमा रू. २५ लाखको सीमा तोकिन नहुने तर्क उनको छ । 

पछिल्लो समय राष्ट्र बैंककै नीति र निर्देशनबाट निरुत्साहित बन्दै आएका लगानीकर्ताहरूको पेटमा फेरी एक पटक लात हान्ने काम भएको गुनासो ढकालले गरे । आफ्नो सम्पत्ति बन्धक राखेर कर्जा लिन पाउने व्यवस्थामा राष्ट्र बैंकले कडाई गर्न नहुने भनाइ उनको छ । उता, धितोपत्र दलाल व्यवसायी (ब्रोकर) हरूले भने यस वर्षको मौद्रिक नीति समग्रमा राम्रो रहेको प्रतिक्रिया दिएका छन् ।

 स्टक ब्रोकर एशोसिएशन अफ नेपालका वर्तमान अध्यक्ष सन्तोष मैनाली र पूर्वअध्यक्ष भरत रानाभाटले भने मौद्रिक नीति ब्रोकरहरूको सुझाव सम्बोधन गर्दै आएको बताएका छन् । मर्जर तथा प्राप्ति प्रयोजनमा शेयर कारोबार रोक्का राख्न नहुने माग ब्रोकरहरूको समेत रहेको उनीहरूको भनाइ छ ।

शेयर धितोकर्जाको कर्जाको सीमा हटाउनुपर्ने माग ब्रोकरहरूको रहेपनि यो विषयमा अधिकतम सीमा यथावतनै राखी एक वित्तीय संस्थाबाट लिन सकिने कर्जाको सीमा बढाएकोलाई पनि उनीहरूले सकारात्मक रुपमानै लिएका छन् । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)