ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

डस्टी कार्गोमा समस्या बल्झिँदै : किन हुँदैन स्थायी समाधान ?

२०७९ साउन, १०  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ओमप्रकाश खनाल

वीरगञ्ज । आयातनिर्यात कारोबार परिमाणका आधारमा मुख्य नाका वीरगञ्जमा नेपालकै पहिलो नेपाल–भारत एकीकृत जाँच चौकी (आईसीपी) सञ्चालनमा आएको ४ वर्ष बितिसक्यो । रेलमार्गसँग जोडिएको सुक्खा बन्दरगाह २ दशकदेखि सञ्चालनमा छ ।

यो नाकाबाट हुने आयातनिर्यातलाई सहज बनाउने उद्देश्यले यी पूर्वाधार सञ्चालनमा रहे पनि कोइला, आइरन ओर, स्ल्यागजस्ता डस्टी कार्गो ढुवानीमा बारम्बार समस्या दोहोरिने गरेको छ । भारतको रक्सौल भन्सारले यीलगायत रक्सौल रेल यार्डमा अनलोड हुने आइरन ब्लेड, आइरन रोललगायत औद्योगिक कच्चा पदार्थ, नुन र मलखादसमेत (आईसीपी) बाटै भित्र्याउनुपर्ने निर्देशन दिएपछि अहिले पुनः समस्या बल्झिएको हो ।

शुरूमा यही जुलाई १ देखि रक्सौलमा अनलोड भएका यस्ता सामग्री आईसीपी पुर्‍याएर भित्र्याउन भनेको थियो । वीरगञ्जका व्यवसायीको आग्रहमा यो समयसीमा अगस्त १ सम्म लम्ब्याएको छ ।

यसबीचमा वीरगञ्ज उद्योग वाणिज्य संघले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूलाई भेटेर समाधानका लागि आग्रह गरेको थियो । निजीक्षेत्रको आग्रहमा मन्त्रालयमा वैदेशिक व्यापार हेर्ने सहसचिव डा. नारायणप्रसाद रेग्मीसहितको टोलीले वीरगञ्जमा भारतीय भन्सार अधिकारीसँग यस विषयमा छलफल गरेको थियो । तर, समस्याले निकास पाएको छैन ।

भारतीय पक्षले दिएको समयसीमा सकिन १ हप्ता पनि बाँकी छैन । सरकारले वैकल्पिक बाटो तयार नभएसम्म पुरानै रूटबाट ढुवानीको व्यवस्था मिलाइदिनेमा आशावादी बनेका व्यवसायी निराश बन्न थालेको वीरगञ्ज उद्योग वाणिज्य संघका उपाध्यक्ष माधव राजपालले बताए ।

अहिले रक्सौलमा अनलोड भएको मालसामान ट्रकमा लोड गरेर वीरगञ्जको इनर्वा (पुरानो भन्सार) हुँदै भित्रिने गरेको छ । भारतीय भन्सारको नयाँ निर्देशनले रक्सौल यार्डबाट आईसीपीको सम्पर्क सडक हुँदै जानुपर्ने हुन्छ ।

करीब ८०० मीटर लम्बाइको यो सडकको चौडाइ ८ देखि १४ फिटमात्रै रहेकाले दैनिक ४०० ओटासम्म ट्रक यो बाटोबाट लैजानु असम्भव भएको संघका वरिष्ठ उपाध्यक्ष अनिलकुमार अग्रवाल बताउँछन् । ‘असाध्यै साँघुरो सडक र दायाँबायाँ बाक्लो बस्ती भएकाले ढुवानी चुनौतीपूर्ण हुन्छ । यस्तोमा ढुवानीको खर्च पनि बढ्छ,’ अग्रवालको भनाइ छ ।

भारतीय भन्सार अधिकारीले शुरूमा रक्सौल रेलवेदेखि रक्सौलको लक्ष्मीपुर हुँदै आईसीपीसम्मको सडकबाट ढुवानी गर्न भनेका थिए । यो सडक पनि मुख्य बजार क्षेत्र हुँदै निस्किएकाले ढुवानी गर्न नमिल्ने अहिले भन्सारले नै बताएको छ । २ लेनको लक्ष्मीपुर–आईसीपी सडकसमेत ढुवानीका साधनको चाप बढ्दै जाँदा साँघुरो बनेकाले यो रुटबाट ढुवानी सहज नहुने उपाध्यक्ष राजपाल बताउँछन् ।

यो नाकामा यस्ता वस्तुको आयातमा बारम्बार बखेडा हुँदै आएको छ । केही वर्षअघि रक्सौलका स्थानीयले क्लिंकर लोड–अनलोडमा अवरोध गरेपछि आयातकर्ताले १५० किलोमीटर टाढाको नारायणपुर स्टेशनबाट क्लिंकर ओसारेका थिए । विगतमा ठूलो परिमाणमा क्लिंकर भित्रिने गरेकोमा अहिले स्वदेशमै उत्पादन हुन थालेपछि यसको आयात छैन ।

अलमलमा स्थायी समाधान
क्लिंकर ढुवानीमा अवरोध भएदेखि नै स्वदेशी भूभागमै डस्टी कार्गो व्यवस्थापनको माग उठेको हो । त्यस बेलादेखि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले डस्टी कार्गो व्यवस्थापनका लागि स्थलगत अध्ययन र चरणबद्ध छलफल पनि गरेको हो ।

अहिलेसम्म यो समस्याको स्थायी समाधान हुन सकेको छैन । आईसीपीमा डस्टी कार्गो भित्र्याउने बेग्लै लेनको व्यवस्था नहुँदा समस्या भएको वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत हरिहर पौडेल बताउँछन् ।

स्वदेशमै क्लिंकर उत्पादन हुन थालेपछि कोइलाको आयात भने बढेको छ । खुला र अधिक धूलोयुक्त यस्तो कार्गोले वातावरण बिगार्ने भएकाले आईसीपीको पूर्वतर्फ बेग्लै लेन बनाउने योजना रहेको पनि पौडेलले सुनाए ।

सरकारले आईसीपी र सुक्खा बन्दरगाहबीचमा पर्ने ६२ बिगाहा जग्गा अधिग्रहण गरी पूर्वाधार विस्तारको योजना बनाएको थियो । आईसीपी र बन्दरगाह भन्सारलाई एकै ठाउँमा गाभ्नेदेखि वीरगञ्जको इनर्वा नाकाबाट हुने सबै आयात–निर्यात आईसीपीमा स्थानान्तरण गर्ने योजना थियो । तर, ५ वर्ष बितिसक्दा पनि जग्गा अधिग्रहणले पूर्णता पाएको छैन ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)