साउन ११, काठमाडौं । विश्वव्यापी ब्याजदर वृद्धि, युक्रेनमाथि रुसको आक्रमणसमेतका भूराजनीतिक अनिश्चय, लम्बिदै गइरहेको कोभिड–१९ को प्रभाव आदिका कारण पछिल्लो समय आर्थिक मन्दीको सम्भावना दिनानु दिन बलियो बन्दै गइरहेको छ ।
यस्तोमा अर्थतन्त्रको अवस्था के होला ? आफूले खाइरहेको जागिर कतै गुम्ने पो हो कि ? मन्दीका कारण तलब कटौती होला कि ? आदि इत्यादि अनेकौं डर चिन्ता हामीहरुको मनमा आइरहेका छन् । यस्ता भय चिन्ता स्वभाविक पनि हो ।
तर डराएर मन्दी नआउने वा मन्दीको प्रभाव कम हुने होइन । मन्दीको समयमा पनि हात मुख त जोर्न परिहाल्यो । छोराछोरी पढाउने, औषधि उपचारलगायत भइपरि आउने सबै खर्च गर्नु परिहाल्यो । तर यस्ता आकस्मिक समयबाट पनि सहजै पार पाउन सकिन्छ । यसका लागि सोचविचार गरेर पूर्व तयारी भने गर्नु पर्छ ।
स्थिति सामान्य हुँदाको अवस्थामा पनि घाँटी हेरेर हाड निल्ने अर्थात् बजेट अनुसारको खर्च गर्ने, कर्जा वा किस्ता समयमै भुक्तानी गर्ने, बिरामी वा ठूलो रोग लाग्दा चाहिने रकम अलि अलि गरेर छुट्याएर राख्ने, आकस्मिक अवस्थाका लागि नियमित रुपमा बचत गर्ने, सेवानिवृत्तपछिको जीवनयापनका लागि लगानी आदि अपरिहार्य छ भन्छन् व्यक्तिगत वित्त विज्ञहरु । आर्थिक मन्दी टार्न त हामीले केही गर्न सक्दैनौं । तर, यस्तो बेलामा सहज जीवन यापनका लागि भने केही पहल गर्न सक्छौं । तिमध्ये केही पहलहरूको वारेमा यहाँ चर्चा गरौ ।
बियर मार्केटसँग डराउनु हुन्न
हालसालैको उच्च बिन्दुबाट शेयर बजार २० प्रतिशतले घट्यो भने बजार बियरिश बनेको मानिन्छ । बजार बियरिश बन्दा आर्थिक अवस्था बलियो भएका, उच्च नगद प्रवाह गर्न सक्ने र उपभोक्ताले प्रयोग गरिरहेका वा उनीहरुलाई धेरै जारी भएका प्रडक्ट बनाउने कम्पनीको शेयरमा लगानी गर्न विश्लेषकहरु सुझाउँछन् ।
मन्दीको समयमा शेयर बजार ओरालो लागेपनि मन्दी सकिएपछि भने बजार ऐतिहासिक उच्च स्तरबाट पनि माथि आउने गरेको पाइन्छ । बजारमा उतारचढाव जस्तो सुकै भएपनि नियमित रुपमा उही स्तरमा पैसा लगानी गर्नु पर्छ ।
यस्तो अवस्थामा शेयरमा लगानी नगर्नेहरुले बजार पूर्ण रुपमा तङ्ग्रिएपछि हुने लाभबाट पनि वञ्चित हुन्छन् भनेर वारेन बफेट लगायत लगानीकर्ताहरु सुझाव दिन्छन् ।
बजार राम्रो अवस्थामा नआउँदासम्म जोखिम किन उठाउनु भनेर धेरै जसोले लगानी नै बन्द गर्छन् । बजारबाट बाहिरिने अनि पुनः बजारमा फाल हाल्ने उत्तम समय कुन हो भनेर ठ्याक्कै थाहा पाउन मुश्किल छ । शेयरको भाउ सस्तो भएको बेलामा किनेर उच्च बिन्दुमा पुग्ने बित्तिकै बेच्छु भनेर समयको भेउ पाउन कसैले पनि सक्दैन । त्यसैले लगानी गर्न भने छाड्न हुँदैन ।
बचत थुपार्ने
आफूसँग अतिरिक्त कमाइ छ वा भएकै पैसामा पनि धेरथोर खर्च कटौती गर्दा बचत हुने अवस्था छ भने सकेसम्म त्यस्तो बेलामा बचत गर्नु पर्छ । आर्थिक मन्दीका समयमा कमाई ठप्पै हुने वा घट्ने अवस्था पनि आउन सक्छ । अचानक भइपरी आउने यस्ता समयका लागि भनेर पैसाको जोहो गरिएको छैन भने अत्यावश्यक नभएका घुमफिर वा महँगा खरिदारी रोक्नु ठिक हुन्छ ।
आफ्नो अवस्था हेरेर कम्तिमा पनि तीन देखि ६ महीनासम्म खर्च पुग्ने गरी अतिरिक्त पैसा बचत गरेर राख्नु पर्छ । अझ छोराछोरी समेत छन् भने यस्तो प्रयोजनका लागि थप २/४ महीनासम्म पुग्ने रकम राख्नु वेश हुन्छ । मन्दीको समयका लागि भनेर पैसा छुट्टयाउनको साथै अप्ठयारो अवस्थाका लागि भनेर अतिरिक्त रकम बनाएर राख्न व्यक्तिगत वित्त विज्ञहरु सुझाउँछन् ।
खर्च कटौती/नियन्त्रण
मन्दीको प्रभाव अर्थतन्त्र हुँदै हाम्रो जनजीवनमा पनि पोखिन्छ । आफ्नो व्यक्तिगत वित्तबारे हामीले गर्ने निर्णयले हामीलाई अरु कुराले भन्दा धेरै प्रभाव पार्छ भन्छन् विज्ञहरु । महँगी वा फुर्मायसी खर्च आदिका कारण कहिलेकाँही मासिक खर्च बजेट बाहिर जान्छ ।
दैनिक जीवनमा बजेट व्यवस्थापनको निकै महत्व छ । महीनाभरका लागि भनेर छुट्याएको पैसाले पुगिरहेको छ कि छैन ? खर्च धान्न नसकेर ऋण नै लिनु पर्ने वा बैंकमा भएको बचत कोट्याउनु पर्ने अवस्था पो छ कि ? यसबारे पनि ध्यान दिन निकै जरुरी छ । साथमा पैसा हुनेबित्तिकै हामीमध्ये कतिपयमा के किनौं, केमा खर्च गरौं भन्ने ध्याउन्न हुुन्छ ।
यसबाट कम्तिमा यति चाँहि बचाउँछु भन्नेमा कमै मात्र ध्यान जान्छ । घर वा व्यक्तिगत रुपमा के कस्ता सामान आवश्यक छ वा रहरहरु पूरा गर्न बाँकी छ त्यसतर्फ सोच्न थाल्छौं ।
मेरो आम्दानी घट्यो भने के हुन्छ ? घर भाडा वा ऋणको किस्ता बढ्यो भने नि ? अतिरिक्त आम्दानी ठप्प भयो भने के गर्ने ? आदि सम्भावनाबारे सोचेर बचत गर्नु पर्छ ।
आफ्ना रुची वा रहर पूरा गर्न गरिएको खर्चलाई हेरेर ती मध्ये केहीमा खर्च नगरिएको भए कति बचत हुने थियो भनेर कहिले सोच्नु भएको छ ? आफ्नो खर्चमाथि निगरानी गरेर कटौती गर्न सकिने ठाउँ खोज्ने हो भने पनि अप्ठ्यारा अवस्थाका खर्च जुट्दै जानेछ ।
Suresh000