ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

पर्यटन पुनरुत्थान कार्ययोजना, पर्यटन दशकको तयारीदेखि हिलस्टेशन विकाससम्म

२०७९ साउन, १५  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar हिमा वि.क.

साउन १५,  काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) का कारण शिथिल बनेको पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकारले सार्वजनिक गरेको कार्ययोजनाप्रति व्यवसायी तथा सरोकारवाला सकारात्मक देखिएका छन् । थलिएको पर्यटनलाई अघि बढाउन व्यवसायीको पहलमात्रै पर्याप्त नहुने भन्दै कार्ययोजना माग गर्दै आएका उनीहरूले पर्यटनलाई अघि बढाउने खाका आएको टिप्पणी गरेका हुन् । 

सरकारले ‘पर्यटन दशक’को तयारी गरेको छ । सन् २०२२ को बाँकी अवधिमा पर्यटन दशकका लागि आवश्यक पूर्वतयारी गरेर सन् २०२३ देखि २०३३ सम्मलाई पर्यटन दशक घोषणा गरिने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव होमप्रसाद लुइँटेलले जानकारी दिए । ‘यो वर्ष सकिन केही महीना बाँकी भएकाले अहिले तयारी गरिने छ,’ लुइँटेलले भने, ‘दशकमा के के गर्ने भन्ने योजना तयार गरेर आगामी वर्षमा घोषणा गरिनेछ ।’

सरकारले हिल स्टेशन विकासलाई पनि कार्ययोजनामा समेटेको छ । लुइँटेलका अनुसार हिल स्टेशनको कार्ययोजना बनाएर १ सातामै पेश गर्न नेपाल पर्यटन बोर्डलाई पत्र लेखिएको छ । उनले हिल स्टेशन बनाउन बोर्डले नै छुट्टै कार्ययोजना बनाउने बताए । पर्यटनको विविधीकरणका लागि प्रदेश सरकार, स्थानीय तह र निजीक्षेत्रसमेतको सहभागिता हुने गरी नमूनाका रूपमा पाथीभरा, शे–फोक्सुण्डो, खप्तड र रारा क्षेत्रमा हिल स्टेशन सम्भाव्यता अध्ययन गरिने भएको छ ।

सरकारले आवश्यक पूर्वाधार निर्माण गरिदिए हिल स्टेशनमा लगानी गर्न तयार रहेको व्यवसायीले बताउँदै आएका छन् । काठमाडौंका होटेल व्यवसायीहरू पनि हिल स्टेशनमा लगानी गर्न तयार छन् । सरकारले सडक, बिजुली, खानेपानीजस्ता पूर्वाधार बनाइदिएर सघाए लगानी गर्न सकिने एक होटेल व्यवसायीले बताए ।

कोभिडका कारण सन् २०१९ को तुलनामा २०२० मा ८१ प्रतिशतले पर्यटक आगमन घटेका थियो । सन् २०२२ देखि भने आगमनमा सुधार देखिएको छ । यसरी थलिएको पर्यटन पुनरुत्थानका लागि मन्त्रालयले ५८ बुँदे कार्ययोजना बनाएर त्यसको कार्यान्वयन अवधि पनि तोकेको छ । कतिपय कार्ययोजना निरन्तर अघि बढाउने र कतिपय १ महीनादेखि १ वर्षभित्रमा कार्यान्वयन गर्ने भनिएको छ । 

होटेल एशोसिएशन नेपाल (हान)का वरिष्ठ उपाध्यक्ष विनायक शाहले पर्यटन क्षेत्रलाई कसरी अघि बढाउने भन्ने कार्ययोजना आउनु सकारात्मक भएको टिप्पणी गरे । ‘शिथिल भएका यो क्षेत्रलाई अघि बढाउन स्पष्ट खाका आवश्यक थियो,’ शाहले भने, ‘यसका लागि हामीले पनि सुझाव दिएका थियौं ।’ पर्यटन क्षेत्रले सरकारको साथ खोजेको भन्दै उनले अहिले आएको कार्ययोजना चुनावलक्षित हुन नहुने बताए । पर्यटन दशक महत्त्वाकांक्षी योजना भएको उनको भनाइ छ । योजना आए पनि र राम्रा भए पनि कार्यान्वयन पक्ष फितलो हुने गरेको शाहको गुनासो छ ।

मन्त्रालयले कार्ययोजनामा नयाँ हिमाल तथा चुचुरा (पिक) हरू खुला गर्ने उल्लेख गरेको छ । अहिलेसम्म आरोहणका लागि ४०३ हिमालमात्रै खुला छ । कार्ययोजनामा ५ हजार ८०० मीटरदेखि ८ हजार मीटरसम्मका अन्य नयाँ हिमालमा पनि आरोहण अनुमति दिइने उल्लेख छ । यो निर्णयले चुचुरा आरोहणमा नयाँ आयाम थपेको नेपाल पर्वतारोहण संघका अध्यक्ष निमानुरु शेर्पाले बताए । नयाँ चुचुरा खुल्दा एकपटक ट्रेकिङ तथा पर्वतारोहणका लागि नेपाल आइसकेका विदेशी पर्यटक पुनः नेपाल आउने वातावरण बन्ने उनको भनाइ छ ।

कार्ययोजनाका मुख्य बुँदा

  • एनआरएनको नेतृत्वमा ‘एक नेपाली एक विदेशी साथी नेपाल पठाउने’ अभियान
  • उपत्यकाका सम्पदा जोड्ने गरी ‘सम्पदा मार्ग’ निर्माण
  • काठमाडौं भ्याली बाई नाइटको अवधारणाअनुसार रात्रिकालीन सम्पदा यात्रा
  • ५८०० देखि ८००० मीटरसम्मका नयाँ हिमाल आरोहणका लागि अनुमति
  • प्रदेशका राजधानी जोड्ने गरी अन्तरप्रदेश हवाई सेवा विस्तार
  • गौतमबुद्ध र पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा छूटका लागि सिफारिश
  • नेपाल होटेल तथा पर्यटन व्यवस्थापन प्रशिक्षण प्रतिष्ठान (नाथम)लाई ७ प्रदेशमा विस्तार
  • बढी पर्यटक पठाउने प्रमुख १० मुलुकस्थित नेपाली दूतावासमा पर्यटन अधिकारी नियुक्ति
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)