साउन १७, काठमाडौं । १२ वर्षअघिसम्म नागपञ्चमीका बेला भक्तपुरकी ६९ वर्षीया चेतकुमारी चित्रकारलाई नागको चित्र बनाउन भ्याइनभ्याइ हुन्थ्यो । उनी त्यो बेलासम्म हरेक वर्ष नागपञ्चमीमा नागको ५ हजार चित्र बनाउँथिन् ।
तर, अहिले उनी फुर्सदिलीजस्तै भएकी छन् । १२ वर्षअघिसम्म नागपञ्चमीमा ५ हजार चित्र बनाउने उनी अहिले बढीमा ५ सय मात्रै चित्र बनाउने गरेकी छन् । उनले नागका चित्र कम बनाउनुको कारण हो– हातले बनाएको नागको चित्रको माग घट्नु ।
अहिले नागपञ्चमीमा छापिएका चित्रको माग बढेको छ । छापिएका चित्र जताततै भेटिन्छन् । छापिएका चित्र सस्तो, आकर्षण र पानीले नभिज्ने भएकाले माग बढेको हुनसक्ने चित्रकार बताउँछिन् । तर, यस्ता चित्रमा गरिएको पूजा अपूर्ण हुने उनको दाबी छ । उनी कारण खुलाउँछिन्– यस्ता चित्रमा देउतासँग साथमा हुनुपर्ने कुरा राखिएको हुँदैन ।
हातले बनाएका नागको चित्रको माग घटेपछि कतिले बनाउनै छाडेका छन् । तिनैमध्येका एक हुन्, सानु चित्रकार । उनी यसअघि बनाइएका चित्र पनि विक्री नभएर थन्किएको बताउँछन् । काठमाडौं, असन बजारमा नागको चित्रसमेत बेच्दै आएका उनी अहिले छापिएका चित्र बेच्दै आएका छन् । राजधानीवासीले हातले बनाएको नागको चित्रको महत्त्व नबुझ्दा यसको माग घटेको उनी बताउँछन् ।
चित्र बनाउन छाड्ने अर्का व्यक्ति हुन्, काठमाडौंको मासँगल्लीका नरेन्द्र चित्रकार । ५० वर्षदेखि नागको हातले बनाएका चित्र बनाउँदै आएका उनी पनि छापिएका नागको चित्र बेच्दै आएका छन् ।
यसले नाग–चित्रकला लोप हुने अवस्थामा पुगेको छ । यसको संरक्षणका लागि सरोकारवालाले चासो नदेखाएकोमा संस्कृतिप्रेमी चिन्ता गर्छन् ।
अहिले हातले बनाएका नागको चित्र किन्ने फाट्टफुट्ट मात्रै भेटिन्छन् । गत आइतबार असन बजारमा नागको हस्तलिखित चित्र किन्दै गरेको अवस्थामा भेटिए, स्थानीय बालकृष्ण श्रेष्ठ ।आफूले विधि पुर्याएर पूजा गर्ने भएकाले महँगो भए पनि हस्तलिखित नागका तस्वीर किनेको उनले बताए ।
हरेक वर्ष साउन शुक्ल पञ्चमीका दिन हिन्दु धर्मावलम्बीले घरको मूल ढोकामा नागको चित्र टाँसी पूजाआजा गर्छन् । सो दिन घरका ढोकामा नागको चित्र टाँसी पूजा गर्नाले चट्याङ र आगलागीका साथै सर्प, बिच्छीलगायत विषयुक्त जीवबाट रक्षा हुने धार्मिक विश्वास छ ।