ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सुपारी पक्राउ प्रकरण : दुई देशको व्यापारमै असर गर्ने जोखिम

२०७९ साउन, १६  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar वेदराज पौडेल

साउन १७, विराटनगर । जोगवनीस्थित भारतीय भन्सारले जाँचपास गरी नेपालको बाटोबाट भारत निकासी हुन लागेको सुपारी प्रहरीले पक्राउ गरी राजस्व अनुसन्धान कार्यालयलाई बुझाएको घटनाले नेपाल–भारतबीचको व्यापारमै असर पर्न सक्ने व्यावसायिक संस्थाहरूले बताएका छन् ।

भारतको जोगवनी भन्सारबाट ११ दिनअघि जाँचपास भएर नेपालको बाटो भारत लैजान खोजेको २१९ मेट्रिक टन (८ ट्रक) सुपारी अहिले इटहरीस्थित राजस्व अनुसन्धान कार्यालयमा बेवारिसे बनेको छ । 

प्रहरीले नेपालबाट भारततर्फ तस्करी हुन लागेको सूचनाका आधारमा उक्त सुपारी बोकेका भारतीय नम्बर प्लेटका ट्रक नियन्त्रणमा लिएको बताएको छ । राजस्व अनुसन्धान कार्यालय भने भारतीय भन्सारले शिल गरेको सामान नेपालमा खोलेर चेकजाँच गर्न नमिल्ने बताउँछ । राजस्व अनुसन्धान कार्यालय इटहरीका प्रमुख तीर्थराज खनाल भन्छन्, ‘खोलेर चेकजाँच गर्ने अधिकार छैन, चिठी काटेर टाइमपास गरिरहेको छु ।’

नेपाल–भारत उद्योग वाणिज्य संघ, प्रदेश १ च्याप्टरका अध्यक्ष अविनाश बोहोराले कोशी फुट्दा विराटनगरबाट काठमाडौं र पश्चिम नेपाल जाने सामान जसरी भारतीय बाटोबाट नेपाल पठाइन्थ्यो, त्यसैगरी भारतपट्टि बाटो बिग्रेका कारण जोगवनीस्थित भारतीय भन्सारले आवश्यक कागजात र ल्याब परीक्षणपछि जाँचपास गरेर शिल लगाएको सामान भारतीय व्यापारीले नेपालको बाटो हुँदै भीमनगर नाकाबाट लैजान खोजेको बताए ।

‘हाम्रो सामान भारतीय भूमिबाट ओसार्दा भारतीय प्रहरी र भन्सारले सहयोग गर्थे । अहिले उनीहरूले त्यसैगरी लैजान लागेको सुपारी नेपाल प्रहरीले पक्राउ गरी राजस्व अनुसन्धानमा बुझाउँदा दुई देशबीचको व्यापारिक सम्बन्धमा नै समस्या उत्पन्न हुन सक्छ,’ बोहोराले भने, ‘भारतले जाँचपास गरेर शिल गरेको सामान नेपाल प्रहरीले पक्राउ गर्न र राजस्व अनुसन्धानले छानविन गर्न नमिल्ने सामान्य ज्ञान प्रहरीमा नहुँदा दुई देशबीचको व्यापारमै असर पर्ने जोखिम छ ।’ 

राजस्व अनुसन्धान कार्यालयले चाँडो अनुसन्धान सकेर निकासीको प्रबन्ध मिलाउनुपर्ने उनले बताए । ‘नत्र यसले दुई देशबीचको व्यापारिक सम्बन्धमा नकारात्मक असर गर्न सक्छ,’ उनले भने । 

उद्योग संगठन मोरङका वरिष्ठ उपाध्यक्ष प्रदीप मुरारका भारतीय भन्सारले जीएसटीलगायत शुल्क लिएर शिल गरिसकेको सुपारी भारतीयकै सम्पत्ति भएकाले नेपालका कुनै पनि निकायले रोकेर चेकजाँच गर्न नपाउने बताउँछन् । उनी भन्छन्, ‘भारतीय भन्सारले नेपालसँग बाटो मागेर आफ्नो सामान आफ्नै देश लगेको हो । यसमा पक्राउ र अनुसन्धान सबै गैरकानूनी हुन्छ ।’

सुपारी इन्डोनेशियाको हो कि भन्ने शंका लागेको खण्डमा नेपाली भन्सार पुग्नुअघि प्रहरीले पक्राउ गरी कानूनअनुसार अनुसन्धान गर्न सक्ने तर नेपाल भन्सारबाट जाँचपास भई भारतीय भन्सारमा १ साता लामो परीक्षण र जाँचपासपछि निर्यात भएको सामान पक्राउ गर्नु गलत हुने उनले बताए । 

नेपालको कृषि उत्पादन निर्यात हुन्छ र त्यसबाट विदेशी मुद्रा आर्जन हुन्छ भने त्यस्तो व्यापारलाई प्रोत्साहन गर्नुपर्ने बताउँदै मुरारकाले थपे, ‘विभिन्न बहाना गरेर निरुत्साहित नगरौं । कानूनी रूपमा निकासी गर्न मिल्ने/नमिल्ने हेरौं । तर, निकासी भइसकेको वस्तु हाम्रो भूभागबाट जाँदै गर्दा पक्राउ गरेर दुःख दिने काम नगरौं । पक्राउ गरेको सामान प्रक्रिया पुर्‍याएर चाँडो छाड्न म आग्रह गर्छु ।’ 

नेपाल प्रहरीले भारतीय भन्सारबाट जाँचपास भएर नेपालको बाटो भारत लैजान लागेको सुपारी बोकेका ट्रक नियन्त्रण गरेपछि प्रहरीको नियत शंकास्पद देखिएको छ । यसअघि यही प्रक्रियाबाट ८० ट्रक सुपारी भारत पठाइसकेको निर्यातकर्ताको भनाइ छ । नयाँ डीआईजी आउनासाथ भारतीय भन्सारबाट जाँचपास भएको सुपारी पक्राउ गरिएको हो । 

राजस्व अनुसन्धान विभागका महानिर्देशक झलकराम अधिकारीले भारतीय भन्सारले जाँचपास गरेर शिल लगाएको सामान आफूले आदेश दिएर खोल्न नमिल्ने बताए । प्रहरीले नै पक्राउ गर्नुअघि कस्तो अवस्थाको सामान हो बुझ्नुपर्नेमा त्यसो नगरेको उनले बताए । उनले भने, ‘यो नयाँ प्रकृतिको घटना हो । दुई देशबीचको कुरा भएकाले सम्बद्ध दुवै देशको निकायका प्रमुख बसेर यो समस्या समाधान हुन्छ ।’

अन्य सम्बद्ध निकायको समेत ध्यानाकर्षण भएकाले अहिले नेपालमा उत्पादित सुपारी हो/होइन, पेश भएका कागजात सक्कली हुन्/होइनन् भन्ने विषयमा अनुसन्धान भइरहेको र चाँडै निष्कर्षमा पुगिने महानिर्देशक अधिकारीले बताए । उनले तेस्रो मुलुकबाट आएको सुपारी भ्यालू एड नगरी निकासी भइरहेको छ कि भन्ने आशंकामा अनुसन्धान भइरहेको खुलाए । 

नेपाल–भारत वाणिज्य सन्धिमा भारतीय भन्सारले जाँचपास गरी भारत आयातका लागि अनुमति दिएको सामान नेपाल प्रहरीले चेकजाँच र अनुसन्धान गर्न सक्ने विषय उल्लेख छैन । राजस्व अनुसन्धान कार्यालय इटहरीका प्रमुख खनालले भारतीय भन्सारले जाँचपास गरेर शिल गरेको सामान आफूले खोलेर हेर्ने अधिकार नभएको बताए । उनले भने, ‘प्रहरीले मलाई झुक्यायो । विराटनगर भन्सारतिर जाँदै गरेको अवस्थामा नियन्त्रणमा लिएको जानकारी गरायो । तर, सुपारी लोड गरिएका ट्रक भारतीय भन्सारबाट पास भएर नेपाली बाटो प्रयोग गरी भीमनगर नाका हुँदै भारत जान लागेका रहेछन् ।’

आफू बिदामा काठमाडौं रहेका बेला सुपारी बुझिएको तर आफू कार्यालयमा आएपछि मात्रै भारतीय भन्सारबाट चेकजाँच भएको कुरा थाहा पाएको उनको भनाइ छ । कार्यालयमा आएका कागजातका आधारमा आफूले झापामा उत्पादन भएको सुपारी हो कि होइन भन्ने विषयमा अनुसन्धान थालेको खनालले जानकारी दिए । उनले भने, ‘आफूले अनुसन्धान गर्ने दायराबाहिर भए पनि त्यत्तिकै गाडी राखिरहनुभन्दा अहिले टाइमपास गर्न सबैतिर पत्र काटेर के हो बुझ्न थालेको छु ।’

विराटनगर भन्सार कार्यालयका प्रमुख ताराप्रसाद सापकोटाले सुपारी निर्यातका लागि आवश्यक पर्ने सम्पूर्ण कागजात दुरुस्त भएपछि मात्रै जाँचपास गरेको बताए । नेपालको भन्सार प्रक्रिया सकेर भारतीय भन्सारमा लगी जाँचपास गराएर शिल गरेको सामान नेपाल प्रहरीले पक्राउ गर्छ भने त्यो आफूहरूको चासोको विषय नहुने उनले बताए । भारत प्रवेश गरेको सामानको जिम्मेवारी सामान खरीद गर्ने व्यापारीको हुने र कुनै कानूनी अड्चन भए भारतीय भन्सारले जवाफ दिने बताए । 

भारतीय भन्सारले सम्पूर्ण कागजातसहित रि–रुट गरिएको सामान किन नेपाल प्रहरीले पक्राउ गरेको भन्दै विराटनगर भन्सारलाई पनि पत्र लेखेको छ । पत्रसँगै भारतीय भन्सारले जाँचपास गर्दा प्रमाणका रूपमा राखेको कागजातको फोटोकपी पनि विराटनगर भन्सार कार्यालयलाई पठाइदिएको सापकोटाले बताए । 

विराटनगर भन्सारका अधिकृत अमित तिवारीका अनुसार २०७० सालमा भन्सार हाताभित्र ल्याइएको चार ट्रक सुपारी अख्तियारले नियन्त्रणमा लिएर कारबाही चलाएको थियो । पछि नेपालको विधि विज्ञान प्रयोगशाला र भन्सार विभागको प्रयोगशालामा परीक्षण गर्दा नेपालमा फलेको या अन्य देशमा भन्ने छुट्ट्याउन नसकेपछि चारै ट्रक उत्पत्तिको प्रमाणपत्रका आधारमा निकासी भएको थियो । अहिले भारतीय भन्सारले नेपालबाट लगेको सुपारी कोलकातास्थित राष्ट्रिय खाद्य प्रयोगशालामा पठाएर परीक्षण गरेपछि जाँचपास गरेर शिल लगाएको हो । 

साउन ५ मा पक्राउ गरिएका २१९ टन सुपारी बोकेका ट्रक मोरङ प्रहरीले साउन ८ मा राजस्व अनुसन्धान कार्यालयलाई जिम्मा लगाएको थियो । जिल्ला प्रहरी कार्यालयले पक्राउ गरे पनि राजस्व अनुसन्धान कार्यालयलाई ट्रक बुझाउँदा इलाका प्रहरी कार्यालयको लेटरप्याडमा पत्र लेखेर बुझाइएको थियो । भारतीय शिल लागेको ट्रक खोलेर हेर्ने अधिकार नभएको भन्दै राजस्व अनुसन्धान कार्यालयले ३ दिनपछि अनुसन्धान शुरू गरेको थियो । 

 तर, राजस्व अनुसन्धानलाई ल्याब परीक्षण गर्न र शिल खोलेर ट्रकभित्रको सामानको अनुसन्धान गर्न कानूनी अड्चन छ । आठ ट्रक सुपारी बुझेको ४ दिनपछि राजस्व अनुसन्धानले काम शुरू गरेको छ ।

प्रदेश १ का प्रहरी नायब महानिरीक्षक (डीआईजी) सुदीप गिरीले सुपारी अवैध रूपमा भारत लैजान लागेको सूचना आएपछि प्रहरीले ती ट्रक पक्राउ गरी अनुसन्धानका लागि राजस्व अनुसन्धान कार्यालयमा बुझाएको बताए । उनले आफूलाई सुपारी पक्राउ गर्न कुनै दबाब नआएको जानकारी दिए । 

सुपारी निर्यातकर्ता मनकामना इन्टरप्राइजेज्का नवीन घिमिरेले यसअघि यस्तै प्रक्रियाबाट ८० ट्रक सुपारी पठाउँदा प्रहरीले कुनै अवरोध नगरेको बताए । ‘अहिले भारतीय भन्सारबाट जाँचपास भएर निकासी भइसकेको माल पक्राउ गर्दा मलाई आश्चर्य लागेको छ,’ उनले भने, ‘झापामा उत्पादित सुपारी हो । कागजातले पनि बोल्छ, त्यहाँका किसानले पनि बोल्छन्, उत्पत्तिको प्रमाणपत्र जारी गर्ने निकायले पनि बोल्छ ।’

राजस्व अनुसन्धान कार्यालय इटहरीले यस सम्बन्धमा भन्सार कार्यालय विराटनगर, मनकामना इन्टरप्राइजेज र नेपाल सुपारी खेती विकास संस्थालाई पत्र पठाएको छ । भन्सारसँग प्रक्रियाको विवरण मागेको छ । निकासीकर्तासँग किसानबाट किनेको तथा अहिलेसम्म निकासी गरेको विवरण र सुपारी खेती विकास संस्थासँग सुपारीको वार्षिक उत्पादन, भण्डारण र विक्रीसम्बन्धी विवरण मागिएको कार्यालय प्रमुख खनालले बताए । 

सुपारी खेती विकास संस्थाले झापामा वार्षिक ९ हजार टन सुपारी उत्पादन हुने जानकारी दिएको छ । सुपारी निकासी बन्द भएको आर्थिक वर्ष २०७१/७२ देखि २०७८/७९ सम्मका ८ वर्षको उत्पादन निर्यात हुन नसकेर स्टकमै रहेको र अहिले निकासी हुन थालेको संस्थाका अध्यक्ष देवीप्रसाद खतिवडाले बताए ।
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)