ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

पुराना उपकरणको भरमा कपडा उद्योग, नयाँ प्रविधि भित्र्याउन किन डराउँछन् उद्यमी ? 

२०७९ साउन, १७  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ओमप्रकाश खनाल

साउन १८, वीरगञ्ज । कपडा उद्योग अधिक सम्भावनायुक्त उद्यम मानिन्छ ।

तर, नेपालका सानाठूला गरी २०० कपडा उद्योगमध्ये अधिकांश पुराना उपकरणको भरमा चलेका छन् । स्वदेशी उद्यमीले भारतलगायत तेस्रो मुलुकमा कम्तीमा १ दशक चलिसकेका पुराना मेशिन भित्र्याएर उत्पादन गरिरहेका छन् । 

नेपालमा वार्षिक ६ खर्ब रुपैयाँबराबरको कपडा खपत हुने नेपाल कपडा उद्योग संघको अनुमान छ । त्यसमा स्वदेशी उद्योगको अंश ५ देखि १० प्रतिशतमात्र छ । संघले गत जेठ १९ गते जारी गरेको विज्ञप्तिमा समेत उल्लेख गरेको नेपालको वार्षिक कपडा खपतसम्बन्धी तथ्यांक आधिकारिक भने होइन । यो तथ्यांक स्वतन्त्र रूपमा पुष्टि गर्न सम्भव छैन । 

यति ठूलो बजार सम्भावना हुँदाहुँदै उद्योगहरू किन पुराना उपकरणको भरमा चलेका छन् त ? उद्यमी रमेश गाडियाको जवाफ छ– सानो बजार र त्यसमाथि बाह्य कपडाको दबदबाका कारण उद्योगीहरू नयाँ प्रविधिमा लगानी गर्न डराइरहेका छन् । 

नेपालमा खपत हुने कुल कपडामध्ये स्थानीय उत्पादन र औपचारिक माध्यमबाट हुने आयात १ खर्ब रुपैयाँ जतिको छ । बाँकी ५ खर्ब रुपैयाँ बराबरको कपडा अनौपचारिक तरीकाले भित्रिने गरेको दाबी नेपाल कपडा उद्योग संघका उपाध्यक्ष जितेन्द्र लोहियाको छ ।

भारत र चीनबाट भित्रिने सस्तो कपडाका कारण स्वदेशी उत्पादकले प्रविधिमा लगानी गर्न डराएको गाडियाको भनाइ छ । वीरगञ्जको नोबेल टेक्सटाइलका सञ्चालक विनय शाहले आफ्नो उद्योगमा नयाँ प्रविधि भित्र्याउँदा त्यसबेला अन्य कपडा उद्योगीले शाहलाई त्यो जोखिमपूर्ण हुने सुझाव दिएका थिए । आफूले जोखिम लिएरै नयाँ प्रविधिमा जोड दिएको उनले बताए । तर, औसत उद्योगी यो जोखिम उठाउन चाहँदैनन् । ‘अन्यत्र १० वर्ष चलिसकेको पुरानो उपकरण ल्याएर ३०/३५ वर्षदेखि उत्पादन भइरहेको छ,’ गाडियाले भने, ‘बाहिरबाट सस्तो कपडा भित्रिइरहने र स्वदेशी उद्योग प्रविधिमा लगानी लगाउन डराएकाले कपडा सम्भावना भएर पनि उपयोग हुन सकेन ।’ 

कपडा उद्योगमा सरकारले लिएको नीति स्थिर नहुनु पनि उद्योगी हच्किनुको कारण हो । सरकारले सहुलियतका लागि भनेर ल्याएका प्रावधान पनि अव्यावहारिक भएको गुनासो उपाध्यक्ष लोहिया गर्छन् ।  सरकारले कपडा उद्योगले लिएको ५ करोड रुपैयाँसम्मको ऋणमा ५ प्रतिशत बिन्दुले ब्याज अनुदान दिने घोषणा गरेको छ । सबै खालका कपडा उद्योगले यो सहुलियत पाएका छैनन् । 

आर्थिक वर्ष (आव) २०७७/७८ मा ल्याइएको यो नीतिमा विभेद रहेको उद्यमी बताउँछन् । त्यो वर्षअघिको सबै लगानीमा यो सहुलियत छ । त्यस वर्षयता ५ करोड रुपैयाँमा मात्रै दिइएको उनीहरूको गुनासो छ । 

आव २०७४/७५ सम्म कपडा उद्योगीले शतप्रतिशतसम्म भ्याट छूट पाएकोमा त्यसयता उक्त सहुलियत खोसिएको उद्योगी पीताम्बर मुनकाको गुनासो छ । ‘सरकारले आव २०७६/७७ मा विद्युत् महसुलमा ५० प्रतिशत अनुदान दियो । आव २०७७/७८ बाट यो सहुलियत पनि हटाइयो,’ मुनकाले भने । 

नेपालमा खपत हुने अधिकांश कपडा भारतबाट भित्रिन्छ । भारतमा कपडामा वस्तु तथा सेवा कर (जीएसटी) ५ प्रतिशत लाग्छ । वैध तरीकाले नेपाल भित्रिने कपडामा यो कर लाग्दैन । कपडा आयातमा १५ प्रतिशत भन्सार महसुल तोकिए पनि अधिकांश साफ्टा सहुलियतमा ५ देखि ७ प्रतिशतमा आउँछ । स्वदेशी उद्योगले ल्याउने धागोमा ५ प्रतिशत भन्सार महसुल तिर्नुपर्छ ।

अधिकांश कपडा राजस्व नतिरी अवैध माध्यमबाट भित्रिने दाबी उद्योगीहरूको छ । ‘त्यसमाथि भारतले कपडा उद्योगलाई ५० प्रतिशतसम्म अनुदान दिएकाले त्यहाँँबाट भित्रिने सस्तो कपडाको अगाडि प्रतिस्पर्धा कठिन छ । लगानी डुब्ने गरले स्वदेशी उद्योग पुरानो प्रविधिमा अल्झिएका छन्,’ गाडियाले थपे ।


 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)