ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

२० अर्बले बढ्यो विराटनगर भन्सारको निकासी, आयात–निर्यातमा तेलको वर्चस्व

२०७९ साउन, २२  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar वेदराज पौडेल

साउन २२, विराटनगर । विराटनगर भन्सार कार्यालयबाट अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा रू. २० अर्ब ११ करोड ९५ लाख रुपैयाँ बढीको निर्यात भएको छ ।
गत आर्थिक वर्ष २०७८/७९ मा ५६ अर्ब ८८ करोड ९९ लाख रुपैयाँ बराबरको वस्तु विराटनगर नाकाबाट निर्यात भएको छ । अघिल्लो आर्थिक वर्ष २०७७/७८ मा ३६ अर्ब ७६ करोड १४ लाख रुपैयाँ बराबरको निकासी भएको थियो ।

विराटनगर भन्सारबाट आयात समेत बढेको छ । गत आर्थिक वर्षमा यो भन्सार नाकाबाट २ खर्ब १३ अर्ब १९ करोड रुपैयाँको सामान आयात भएको छ । अघिल्लो आर्थिक वर्षमा १ खर्ब ८९ अर्ब ५७ करोड २८ लाख रुपैयाँको वस्तु पैठारी भएको थियो ।

आयातको तुलनामा निर्यात भने निकै कम भएको छ । भन्सार अधिकृत एवं सूचना अधिकारी रामचन्द्रप्रसाद ढुंगानाले विराटनगर नाकाबाट हुने मालवस्तुको आयात प्रत्येक वर्ष बढ्दै गएको बताए । निर्यातको तुलनामा अत्यधिक आयात हुँदा व्यापार घाटा बढेको उनको भनाइ छ । गत आर्थिक वर्षमा विराटनगर नाकाबाट भएको वैदेशिक व्यापारमा १ खर्ब ५६ अर्ब १३ करोड ८० लाख रुपैयाँ घाटा भएको छ ।

भन्सार कार्यालयका अनुसार गत आवमा यो भन्सारबाट १२ अर्ब ४१ करोड १५ लाख रुपैयाँको भटमास तेलको कच्चा वस्तु आयात भएको छ । यस्तै ९ अर्ब ९० करोड ९२ लाख रुपैयाँको कच्चा पाम तेल आयात भएको कार्यालयको तथ्यांक छ । 

त्यसैगरी ७ अर्ब ४० करोड २३ लाख रुपैयाँको प्लाष्टिक दाना, ५ अर्ब ४० करोड ३९ लाख रुपैयाँको एलपी ग्यास, ५ अर्ब ४० करोड ३९ लाख रुपैयाँको तयारी कपडा, ५ अर्ब २६ करोड ५७ लाख रुपैयाँको सूर्यमुखीको कच्चा तेल र ४ अर्ब २८ करोड ४५ लाख रुपैयाँको औद्योगिक मेशिनरी वस्तु आयात भएको छ । सूचना अधिकारी ढुंगानाका अनुसार बढी आयात हुने अन्य वस्तुहरूमा स्टील वायर रड, मकै, स्टेपल फाइबर, एमएस बिलेट, एचआर सिट, कोइला, कपर वायर, फलाम, पेट्रोल, प्लाष्टिकका सीट लगायत छन् ।

विराटनगर भन्सार कार्यालयबाट गत आर्थिक वर्षमा भटमासको तेल प्रशोधित सबैभन्दा बढी रकमको निर्यात भएको छ । सो अवधिमा १२ अर्ब ७१ करोड १५ लाख रुपैयाँको भटमासको प्रशोधित तेल निर्यात भएको छ ।  त्यस्तै दोस्रोमा प्रशोधित पाम तेल ११ अर्ब ३७ करोड ३१ लाख रुपैयाँको निर्यात भएको छ । यसैगरी ४ अर्ब ६५ करोड ७९ लाख रुपैयाँको सिन्थेटिक यार्न, ४ अर्ब ३९ करोड ६० लाख रुपैयाँको जुटका बुनिएका कपडा, १ अर्ब ६० करोड ८३ लाख रुपैयाँको अन्य कपडा (उनी, सुती, टेरीकटन बाहेकका), १ अर्ब ११ करोड ९२ लाख रुपैयाँको सूर्यमुखीको प्रशोधित तेल, १ अर्ब २३ करोड ३६ हजार रुपैयाँको जुटका बोरा झोला र ६८ करोड ४२ लाख रुपैयाँ बराबरको चाउचाउ, नुडल्स र पास्ता निर्यात भएको छ । 

भन्सार कार्यालयको तथ्यांक अनुसार निकासी भएका अन्य प्रमुख वस्तुहरूमा पिना, सनपाटको धागो, कोटेट नगरिएको क्राफ्ट पेपर, पेपर बोर्ड, तामाको सिट, भटमासको पिना, फ्याटी एसिड आयल, सिन्थेटिक कार्पेट, चिया, सुपारी लगायत रहेका छन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)