साउन २०, काठमाडौं । अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ खरीदका लागि अन्तिम दिनसम्म २० लाख ४३ हजार २० जनाले आवेदन दिएका छन् ।
सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले दिएको जानकारी अनुसार आइतवार साझ ५ बजेसम्म यी आवेदकहरूबाट २ करोड ३१ लख १६ हजार १९० कित्ता शेयर खरीद माग भएको हो । जुन मागभन्दा २३ दशमलव ७० गुणा बढी माग हुन आउँछ ।
कम्पनीले सर्वसाधारणमा लागि साउन १८ गतेदेखि आईपीओ जारी गरेको हो । मागभन्दा बढी आवेदन परिसकेकाले कम्पनीले छिटो अवधि साउन २० गतेसम्म मात्र आईपीओ सार्वजनिक निष्कासन गरेको हो । कम्पनीले सर्वसाधारणका लागि प्रतिशेयर रू. १०० अंकित दरको रू. ९ करोड ७५ लाख बराबरको ९ लाख ७५ हजार कित्ता आईपीओ वितरण गर्न लागेको हो ।
सर्वसाधारणमा वितरण हुने कुल ९ लाख ७५ हजार कित्ता शेयरमध्ये शून्य दशमलव ५ प्रतिशत अर्थात १२ हजार ५०० कित्ता कर्मचारीहरूका लागि र ५ प्रतिशत अर्थात ४८ हजार ७५० कित्ता सामूहिक लगानीकोषहरूका लागि सुरक्षित गरेको छ । यी वाहेक बाँकी ९ लाख १३ हजार ७५० कित्ता शेयर भने सार्वजनिक निष्कासनमार्फत विक्री खुला गरिएको हो ।
यस कम्पनीको अधिकृत पूँजी रू. ३० करोड रहेको छ । जारी पूँजी रू. २५ करोड रहेको कम्पनीको हाल संस्थापकतर्फबाट चुक्ता भएको पूँजी रू. १५ करोड २५ लाख रहेको छ । सर्वसाधारणमा आईपीओ जारी पश्चात् कम्पनीको चुक्तापूँजी रू. २५ करोड कायम हुनेछ ।
हाल संस्थापक तर्फ ६१ प्रतिशत शेयर स्वामित्व कायम भएको कम्पनीले सर्वसाधारणमा ३९ प्रतिशत शेयर वितरण गर्न लागेको हो । सार्वजनिक निष्कासन मार्फत विक्री गरिएको शेयर हालको बाँडफाँट व्यवस्था अनुसार ९१ हजार ३७५ जना योग्य आवेदकहरूले मात्र १० कित्ताका दरले गोलाप्रथाको माध्यमबाट शेयर प्राप्त गर्नेछन् । कम्पनीको आईपीओ खरीदका लागि आवेदन दिएकामध्ये साढे १९ लाखभन्दा बढीको हात खाली हुनेछ ।