ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

पुल नबन्दा म्याग्दीको बेगखोलामा सधैं जोखिम

२०७९ साउन, २४  
गण्डकी प्रदेश
Aarthik Abhiyan 18th Anniversary NA
author avatar ध्रुवसागर शर्मा

म्याग्दी । स्थानीय नेता एवं जनप्रतिनिधिको केन्द्रमा बलियो पहुँच नहुँदा सर्वसाधारणले कति सास्ती खेप्नुपर्छ भन्ने एउटा उदाहरण बनेको छ उत्तरी म्याग्दी जोड्ने बेनी–जोमसोम सडकअन्तर्गत म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगखोला । २०७८ भदौ १९ गते म्याग्दीको सदरमुकाम बेनीबाट घरतर्फ जाँदा अन्नपूर्ण गाउँपालिका–४ नारच्याङका ७८ वर्षीय सुर्जवीर पुनलाई रघुगंगा गाउँपालिका–१ स्थित बेगखोलाले बगायो । उत्तरी म्याग्दी र हिमालपारिको जिल्ला मुस्ताङ जोड्ने एकमात्र बेनी–जोमसोम सडकखण्डको बेगखोलामा पुल नबन्दा वर्षायाममा ज्यानकै जोखिम लिएर यात्रा गर्नुपर्छ ।

वर्षायाममा मात्र होइन, हिउँदमा समेत ठूलो वर्षा हुँदा बेगखोलामा सवारीसाधन बगाउने गरेको छ । पैदलयात्रीलाई आवतजावतमा समेत हम्मेहम्मे पर्छ । विगत ६ वर्षयता बेगखोला वारपार गर्ने यात्रुको सास्ती बयान गरेर साध्य छैन । २०७३ भदौ १६ गते आएको बाढीले बेगखोलामा बस्तीसँगै मोटरेबल पुल र झोलुंगे पुल बगाएपछि यात्रा कठिन र जोखिमपूर्ण हुँदै आएको छ । यात्राको क्रममा यात्रुले ज्यान समेत गुमाउनु परेको छ ।

लेकतिर भीषण वर्षा हुँदा बेगखोलामा दैनिक ठूलो संख्यामा यात्रु अलपत्र पर्ने गरेका घटनाले जिल्लाका राजनीतिक दल, जनप्रतिनिधिलाई छुन सकेको छैन । बाढीले पुलसहितका संरचना बगाएको ६ वर्ष बितिसक्दा अस्थायी संरचना समेत बन्न नसक्दा सास्ती भएको यात्रु सुरजन भट्टचनले बताए ।

‘खोला बढेपछि ज्यान जोखिममा राखेर यात्रा गर्नुपर्ने बाध्यता छ,’ भट्टचनले भने । बेगखोला वारपार गर्नेले जिल्लाका सरोकारवाला निकायलाई यहाँको अवस्था एकपटक भए पनि अवलोकन गर्न सुझाव समेत दिने गरेका छन् ।

खोला तर्ने क्रममा बेगखोलाको बाढीले ट्याक्सी र मोटरसाइकल बगाएर कालीगण्डकीमा मिसाएको धेरै उदाहरण भए पनि नेता र जनप्रतिनिधिले समस्या समाधानका लागि पहल नगरेको उत्तरी म्याग्दीका बासिन्दाको गुनासो छ । बाढी आएको अवस्थामा मोटरसाइकल र यात्रुहरू एक्स्काभेटरलाई पैसा तिरेर ‘बकेट’मार्फत खोला वारपार गर्ने गरेका छन् । बेगखोलामा सडक विभाग, पुल महाशाखाले ‘डिजाइन एन्ड बिल्ड’ मोडेलमा पुल बनाउन विक्विई हिमालयन जेभीलाई भ्याटसहित ८ करोड ५० लाखमा ठेक्का दिएको छ ।

ठेकेदार कम्पनीले बेगखोलामाथि निर्माण हुने पुलको डिजाइन तयार पारी खोलाको बीचमा फाउन्डेसन राखेको भए पनि समयमै सम्पन्न गर्न स्थानीय तह, प्रदेश र संघीय जनप्रतिनिधिको ताकेताको अभावले कामले गति लिन सकेको छैन । पुल ७० मिटर लामो हुनेछ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)