ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

गहुँ निकासीमा भारतकाे प्रतिबन्धपछि बढ्यो आँटा र मैदाको मूल्य

२०७९ साउन, २५  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar वेदराज पौडेल

विराटनगर । भारतले गहुँ निकासीमा प्रतिबन्ध लगाएपछिको करीब ३ महीनामा नेपालमा आँटा र मैदाको मूल्य किलोमा १५ रुपैयाँ बढेको छ । भारतीय आयात रोकिएपछि स्थानीय गहुँको मूल्य ६० प्रतिशत बढेकाले आँटा र मैदाको मूल्य बढेको व्यवसायी बताउँछन् ।

तीन महीनाअघि ३२ रुपैयाँ किलोमा पाइने गहुँलाई अहिले ४७ रुपैयाँ तिर्नुपर्छ । गहुँको मूल्य वृद्धि भएपछि ऊबेला ४९ रुपैयाँ किलोमा पाइने आँटाको ६४ रुपैयाँ र ४७ रुपैयाँ किलोमा पाइने मैदाको ६२ रुपैयाँ मूल्य पुगेको छ । 

भारतबाट गहुँ ल्याउन नपाउँदा नेपालमा सञ्चालित ३२ ओटा मैदा उद्योग संकटमा छन् । उत्पादन २० देखि ६० प्रतिशतसम्म खुम्चिएको व्यवसायीको भनाइ छ । मैदा र आँटाको मूल्य बढेपछि चाउचाउ, बिस्कुटलगायत पनि महँगिन्छ । 

रूस–युक्रेन तनावले विश्वभर गहुँ आपूर्ति घटेका बेला भारतले स्वदेशमा उत्पादन कम भएको भन्दै गत वैशाख ३० गते गहुँ निकासीमा प्रतिबन्ध लगाएको थियो । भारतले खाद्य सुरक्षाका लागि गहुँ आवश्यक पर्ने मुलुकमा भने निकासी नरोक्ने बताएको थियो । 

भारतीय गहुँ आयात गर्न नपाउँदा आउन सक्ने समस्यालाई ध्यानमा राख्दै नयाँ दिल्लीसँग पत्राचार गरिसकेको र उताबाट नेपाललाई चाहिएजति गहुँ र चिनी दिने आश्वासन पाइसकेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जानकारी दिएको छ । भारतले चिनी निकासीमा पनि प्रतिबन्ध लगाएको छ । 

भारतले नेपाललाई आवश्यक पर्ने गहुँ र चिनीको तथ्यांक पठाउन भनेकाले मन्त्रालयले उद्योगलाई चाहिने गहुँको तथ्यांक लिन शुरू गरेको नेपाल फ्लोर मिल एशोसिएशनका सचिव तथा मोरङ व्यापार संघका उपाध्यक्ष विकास वेगवानीले जानकारी दिए । उनका अनुसार नेपालका ३२ उद्योगलाई १ वर्षलाई १० लाख टन गहुँ चाहिन्छ । त्यसमध्ये ३ लाख ५० हजार टन नेपालमै उत्पादन हुन्छ । बाँकी भारतबाट आयात गर्नुपर्छ । 

नेपालमा गतवर्ष भारतबाट ६ अर्ब ९० करोड ७२ लाख ९० हजार मूल्यको ३ लाख ३५ हजार ९३२ मेट्रिक टन गहुँ आयात भएको थियो । गतवर्ष विराटनगर भन्सार नाकाबाट मात्रै २ अर्ब १९ करोड ९० लाख १६ हजार रुपैयाँ बराबरको ६८ हजार ४८३ मेट्रिक टन गहुँको आयात भएको विराटनगर भन्सार कार्यालयका सूचना अधिकारी रामचन्द्र ढुंगानाले बताए । उनका अनुसार भारतले प्रतिबन्ध लगाएपछि विराटनगर नाकाबाट गहुँ आयात भएको छैन ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)