ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

आगामी जेठदेखि नलिञ्चोकमा हेलिपोर्ट, २७ हेलिकाेप्टर पार्किङ गर्न सकिने

२०७९ साउन, २७  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
प्रतीकात्मक तस्वीर ।
author avatar हिमा वि.क.

काठमाडौं । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल (टीआईए) को आन्तरिक विमानस्थल सुधार गुरुयोजना अनुसार ह्यांगर बनाउने कार्यक्रम कार्यान्वयनमा आएसँगै त्यहाँको हेलिकोप्टर पार्किङ सारिने भएको छ । 

भक्तपुरको नलिञ्चोकमा २७ ओटा हेलिकोप्टर पार्किङ क्षमताको हेलिपोर्ट बनाउन नेपाल नागरिक उड्डयन प्राधिकरण र निर्माण कम्पनीबीच अघिल्लाे शुक्रवार ठेक्का सम्झौता भएको छ ।

१५ करोड रुपैयाँ लगानीमा उक्त हेलिपोर्ट बनाउन प्राधिकरण र उमा एन्ड प्रतिमा/काली जेभी (ज्वाइन्ट भेन्चर) कम्पनीबीच सम्झौता भएको हो । सम्झौताको मितिले १० महीनाभित्र हेलिपोर्ट बनाउने गरी निर्माण कम्पनीसँग सम्झौता भएको प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिए । सम्झौताअनुसार १० महीनामा हेलिपोर्ट तयार हुनेछ । उनका अनुसार २०८० को जेठदेखि नलिञ्चोकबाट हेलिकोप्टर कम्पनीले हेलिकोप्टर उडान गर्नेछन् ।

प्राधिकरणले नलिञ्चोकमा हेलिप्याड निर्माण गर्न चालू आर्थिक वर्ष (आव) २०७९/८० मा बजेट विनियोजन गरेको हो । यसका साथै हेलिपोर्टमा नयाँ टर्मिनल/टावर निर्माणका लागि समेत प्राधिकरणले १ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । नलिञ्चोकमा प्राधिकरणकै नाममा ३३ रोपनी जग्गा छ । टीआईएको हेलिपोर्ट सारेर नलिञ्चोकमा संरचना विकास गर्न ठेक्का सम्झौता भएको हो । हेलिकोप्टर सेवालाई अलग्गै स्थानबाट सञ्चालन गर्ने र टीआईएमा ह्यांगर राख्ने संरचना विकास गर्नसमेत ठेक्का सम्झौता भइसकेको छ । प्राधिकरणकै सञ्चार उपकरण राखिएको उक्त जग्गामा हेलिप्याड बनाउन लागिएको निरौलाले बताए । ‘त्यहाँ भएका उपकरण काम नलाग्ने भएका छन्,’ निरौलाले भने, ‘२०२५ सालतिर अधिग्रहण गरिसकेको र अन्य कुनै व्यवधान नभएकाले सोही जग्गामा अब हेलिपोर्ट बन्नेछ ।’

हेलिप्याड सार्ने भनिए पनि हेलिकोप्टर कम्पनीले टीआईए प्रयोग गर्न भने पाउनेछन् । बिरामी मानिस ल्याएका, भीआईपीजस्ता इमर्जेन्सी उडानका लागि टीआईए खुला हुने निरौलाले बताए । तर, व्यावसायिक प्रयोजनका उडान भने नलिञ्चोकबाट नै गरिनेछ । एशियाली विकास बैंक (एडीबी)को ऋण सहयोगमा अहिले भएको पार्किङ स्थलमा ह्यांगर बनाइनेछ । टीआईएको हालको हेलिप्याडमा २२ ओटा हेलिकोप्टर पार्किङ गर्न सकिन्छ । नलिञ्चोकमा भने २७ ओटा हेलिकोप्टर पार्किङ गर्न सकिनेछ । 

प्राधिकरणका अनुसार अहिले मुलुकमा ११ कम्पनीका ३८ ओटा हेलिकोप्टर सञ्चालनमा छन् । टीआईएलाई आधार बनाएर उडान गर्ने हेलिकोप्टरको संख्या २१ छ । जम्मा पार्किङ क्षमता २२ रहेकाले यहाँ पार्किङको पनि समस्या हुँदा सुरक्षा व्यवस्थापनमा पनि चुनौती देखिएको प्राधिकरणको भनाइ छ । 

अधिकांश हेलिकोप्टर कम्पनीको बेस काठमाडौंमै भएकाले कतिपयले यही बेस (टीआईए) बाट उडान गर्न सकिने तर्क पनि गरेका छन् । कैलाश हेलिकोप्टर सर्भिसका प्रबन्ध निर्देशक तथा अकाउन्टेबल म्यानेजर प्रतापजंग पाण्डेले बेस टीआईए भएकाले त्यहाँबाट उडान गर्न सकिने बताए । नलिञ्चोक जान पनि समस्या नभएको उनको प्रतिक्रिया छ । भीभीआईपी उडान, माउन्टेन फ्लाइटका साथसाथै बिरामीको उपचार र उद्धारका लागि हेलिकोप्टर प्रयोग हुँदै आएको देखिन्छ । 

प्राधिकरणका अनुसार ११ ओटा कम्पनीका कुल ३८ हेलिकोप्टरमध्ये अधिकांश कम्पनीका २/२ ओटा हेलिकोप्टरको बेस उडान अनुमति भने टीआईएबाट लिएको देखिन्छ । कैलाश हेलिकोप्टर का तीनओटै हेलिकोप्टरको बेस उडान अनुमति काठमाडौंमै छ । अल्टिच्युडको २, एयर डाइनेस्टी, फिस्टेल, हेली एभरेस्ट, मनाङ एयर, माउन्टेन हेलिकोप्टरको पनि २/२ ओटा उडानको बेस काठमाडौंको टीआईए छ । प्रभु हेलिकोप्टरको भने ५ ओटैको बेस उडान पोखरामा छ । सिम्रिकको पनि नेपालगञ्जमा बेस उडान छ ।
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)