ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

पर्वतमा गतवर्ष १४ झोलुङ्गे पुल निर्माण

२०७९ साउन, २९  
गण्डकी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar रोशन तिवारी

पर्वत । पर्वतमा गत आर्थिक वर्ष २०७८/७९ मा मात्रै १४ झोलुङ्गे पुल निर्माण भएका छन् । जिल्लाका विभिन्न पालिकामा रहेका साना तथा ठूला खोलाहरूमा गत आर्थिक वर्षमा उक्त संख्यामा पुल निर्माण भएका हुन् ।

पुल निर्माण भएसँगै स्थानीयको दिनचर्या सहज बनेको छ । खासगरी वर्षायाममा बढेका खोला वारपार गर्न जोखिम लिनुपर्ने अवस्थाको अन्त्य भएको छ । पर्वतको कुश्मा नगरपालिकाभित्र ३, मोदीमा २, महाशिलामा २, विहादीमा १ र पैंयु गाउँपालिकामा ६ ओटा पुल निर्माण भएका हुन् ।

गत आर्थिक वर्षमा निर्माण भएका पुलहरूमा कुश्मा नगरपालिका–२ खुर्कोटस्थित खहरे खोला झोलुङ्गे पुल, कुश्मा नगरपालिका–९ कटुवाचौपारीमा चिन्नेखोला झोलुङ्गे पुल, कुश्मा नगरपालिका–३ दुर्लुङमा बडहरेघाट झोलुङ्गे पुल निर्माण सम्पन्न भएका छन् ।

त्यसैगरी मोदी गाउँपालिका–१ भुकताङ्लेमा भुरुङदीखोला लांघाली झोलुङ्गे पुल र वडा नं ७ मा जहरेखोला झोलुङ्गे पुल निर्माण सम्पन्न भएका छन् ।

यसैगरी महाशिला गाउँपालिका वडा नं ५ लुंखुदेउरालीमा थापाथर झोलुङ्गे पुल निर्माण भएको छ । वडा नं ३ बालाकोटमा गंगाधर गुफा झोलुङ्गे पुल निर्माण सम्पन्न भएको पुल निर्माणकर्ता संस्था खुर्कोट युवा क्लबले जानकारी दिएको छ ।

यसैगरी विहादी गाउँपालिका वडा नं ६ शालिग्राममा सेतीवेनी स्टील ट्रस निर्माण गरिएको छ । यता पैंयु गाउँपालिका वडा ५ मा डुडेघाट झोलुङ्गे पुल, वडा नं ५ मै काभ्रा भञ्ज्याङ स्टिल ट्रस, पैंयु वडा नं ४ हुवासमा चिसापनी स्टिल ट्रस, वडा नं ७ मा अर्थुन–बेउलीवास झोलुङ्गे पुल र वडा नं ६ मा कटुवाघाट झोलुङ्गे पुल निर्माण गरिएका छन् । त्यसैगरी घाङ्गरे झोलङ्गे  पुल निर्माणाधीन अवस्थामा रहेको क्लबले बताएको छ ।

निर्माण भएका झोलङ्गे पुलहरूमध्ये आठओटा इन्प्रेड नेपाल र बाँकी खुर्कोट युवा क्लबको सहजीकरणमा निर्माण भएका हुन् । निर्माण सम्पन्न भएका १४ ओटा झोलङ्गे पुल श्रमदानसहित रू. ४ करोड ८१ लाख ८ हजार ३ सय ५५ रुपैयाँको लगानीमा सम्पन्न भएको खुर्कोट युवा क्लबका कार्यक्रम अधिकृत कृष्णप्रसाद शर्माले जानकारी दिए । उनका अनुसार उपभोक्ता समितिमार्फत रू. ९ लाख ६२ हजार रुपैयाँ बराबरको श्रमदान गरिएको छ ।

खुर्कोट युवा क्लब र इन्प्रेड नेपालले सामाजिक तथा प्राविधिक सहयोग गरेका हुन् । झोलङ्गे पुल क्षेत्रगत कार्यक्रम (एसडब्लूएपी) को ८५ प्रतिशत, सम्बन्धित स्थानीय तहको १३ प्रतिशत र २ प्रतिशत श्रमदानमा पुल निर्माण भएको शर्माले जानकारी दिए ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)