ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

अर्थमन्त्रीकाे आश्वासन पूरा नहुँदा आधा दर्जन जीआई वायर उद्योग बन्द, १५ सय मजदूर बेरोजगार

२०७९ भदौ, १  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar वेदराज पौडेल

विराटनगर । असमान करका दर सच्याउन अर्थमन्त्री जनार्दन शर्माले दिएको आश्वासन कार्यान्वयन नहुँदा सुनसरी-मोरङ औद्योगिक कोरिडोरका ६ ओटा जीआई वायर उद्योग बन्द भएका छन् । यसबाट उद्योगमा काम गर्ने १ हजार ५ सय मजदूर बेरोजगार बनेका छन् । 

सुनसरी-मोरङ औद्योगिक कोरिडोरका हुलास वायर, आरती, अरिहन्त वायर इन्डस्ट्रिज, कमला वायर, प्रिमियर वायर र पायोनियर वायर प्रालि बन्द भएको सम्बद्ध उद्योगीले बताएका छन् । 

प्रिमियर स्टीलका सञ्चालक तथा संविधानसभा सदस्य पवन शारडाले सरकार नै उद्योग सञ्चालनको पक्षमा नरहेकाले असमान करका दर सच्याउन तयार नभएको बताए । उनले भने, ‘सरकार स्वदेशमा रोजगारी सृजना होस् भन्ने चाहँदैन, नत्र मन्त्रीले दिएको वचन समयमा किन पूरा हुन सकेन र आज उद्योग नै बन्द गर्नुपर्‍यो ?’

उद्योग बन्दको सूचना टाँसेर श्रम कार्यालयमा समेत जानकारी दिइसकिएको शारडाले बताए । सरकारको गलत नीतिका कारण १ हजार ५ सयले रोजगारी गुमाएको उनले बताए । उद्योग बन्द गर्दा पनि मासिक १० देखि १५ लाख रूपैयाँ घाटा रहेको उनले दाबी गरे । सरकारले करको दर सच्याएर उद्योग चलाऊ भन्यो भने पनि २ महीना लाग्ने शारडाको भनाइ छ । 

चालू आर्थिक वर्ष (आव) को बजेटमार्फत अर्थमन्त्री शर्माले यी उद्योगको कच्चा पदार्थ एमएस वायर रडको भन्सार महसुल ५ बाट १० प्रतिशत बनाएका छन् । अन्तःशुल्क प्रतिकिलो २ रूपैयाँ ५० पैसाबाट ४ रूपैयाँ ५० पैसा बनाइएको छ । भारतले पनि आफ्ना उद्योगलाई संरक्षण गर्न एमएस वायरको निर्यातमा १५ प्रतिशत शुल्क लिन थालेको छ । 

मोरङ व्यापार संघका महासचिव एवम् पायोनियरका सञ्चालक अनिल शारडाले भारतको निर्यात महसुल, नेपालको पैठारी महसुल र अन्तःशुल्कसमेत जोड्दा एमएस वायरको आयातमा २९ दशमलव ५ प्रतिशत राजस्व तिर्नुपर्ने बताए । त्यही एमएस वायर रडबाट उत्पादित जीआई वायर साफ्टा सुविधाअन्तर्गत भारतबाट १६ प्रतिशत राजस्व तिरेर आयात गर्न सकिन्छ । 

उद्योग संगठन मोरङका अध्यक्ष सुयशराज प्याकुरेलले कच्चा पदार्थमा लगाइएको अन्तःशुल्कका कारण आव २०७५/७६ मा २२ हजार ७४० मेट्रिक टन रहेको जीआई वायर निर्यात आव २०७८/७९ मा ६७२ टनमा झरेको बताए । 

प्याकुरेलका अनुसार अर्थमन्त्रीमा शर्मा पुनर्बहाली भएपछि उद्योगीका मागका विषयमा छलफल भई चाँडै असमान करका दर हटाउने मौखिक सहमति भएको थियो । त्यसको कार्यान्वयन समयमा हुन नसक्दा उद्योगहरू बन्द भएको उनले बताए । 

मोरङ व्यापार संघका अध्यक्ष नवीन रिजालले अर्थमन्त्री शर्माले दिएको आश्वासन पूरा नहुँदा ६ ओटा ठूला वायर उद्योग र तिनमा आश्रित ४० साना उद्योग बन्द भएको बताए । हुलास वायरकी सञ्चालक तथा प्रबन्ध निर्देशक युक्ती गोल्छाले दैनिक १५० टन जीआई वायर उत्पादन गर्ने उद्योग बन्द गरेको बताइन् । 
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)