ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

अक्टोबरबाट डस्टी कार्गोको लोडअनलोड नेपालमै

२०७९ भदौ, २  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
वीरगञ्जको एकीकृत जाँच चौकी ।
author avatar ओमप्रकाश खनाल

वीरगञ्ज । डस्टी कार्गोको लोडअनलोड नेपालमै गर्ने गृहकार्य शुरू भएको छ । हालसम्म डस्टी कार्गोको लोडअनलोड सीमावर्ती भारतीय शहर रक्सौलमा हुँदै आएको थियो । तत्कालका लागि त्यसलाई वीरगञ्जको एकीकृत जाँच चौकी (आईसीपी)मा व्यवस्थापन गर्ने तयारी थालिएको हो । 

अहिलेका लागि आईसीपीमा लोडअनलोड गरेर दीर्घकालका लागि रेलमार्फत सीधै सुक्खा बन्दरगाहमा ल्याउने गरी गृहकार्य अघि बढेको वीरगञ्ज भन्सारका प्रमुख भन्सार अधिकृत हरिहर पौडेलले जानकारी दिए । आउँदो अक्टोबरबाट नेपाली भूभागमै डस्टी कार्गो व्यवस्थापन गर्ने तयारी भइरहेको आईसीपी र बन्दरगाहको नियामक नेपाल इन्टरमोडल यातायात विकास समितिका वीरगञ्ज प्रमुख कमल ज्ञवालीले जानकारी दिए । यसबारे वीरगञ्ज महानगरपालिका, स्थानीय बासिन्दा र सरोकारका उद्यमी व्यवसायीसँग समन्वय भइरहेको पनि ज्ञवालीले बताए । 

अहिले भारतीय रेलबाट आउने कोइला, आइरन ओर, स्ल्यागजस्ता डस्टी कार्गो रक्सौलमा अनलोड हुन्छ । त्यहाँबाट वीरगञ्जको पुरानो इनर्वा नाका हुँदै ट्रकमा ओसारेर उद्योगसम्म पुर्‍याउने गरिएको छ । आइरन ब्लेड, आइरन रोललगायत औद्योगिक कच्चा पदार्थ, नून र मलखादसमेत रक्सौलमै अनलोड हुने गरेको छ । विगतमा क्लिंकरसमेत रक्सौलमै अनलोड गरेर नेपाल भित्र्याउने गरिएको थियो । डस्टी कार्गोले प्रदूषण बढाएको भन्दै स्थानीयले विरोध गरेपछि क्लिंकरको लोडअनलोड त्यहाँबाट हटाइएको थियो । 

त्यस बेला नै स्वदेशी भूभागमै डस्टी कार्गो व्यवस्थापनको माग उठेको हो । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका तत्कालीन सहसचिव रविशंकर सैंजू नेतृत्वको टोलीले सरोकारका पक्षसँग छलफल गरे पनि समाधान निकाल्न सकेको थिएन । सैंजू नेतृत्वको समूहले वीरगञ्ज बन्दरगाह आसपासका क्षेत्रमा यस्तो कार्गो व्यवस्थानको सम्भाव्यता अध्ययनसमेत गरेको थियो । 

अहिले मन्त्रालयका सहसचिव नारायणप्रसाद रेग्मी र एनआईटीडीबीका कार्यकारी निर्देशक आशिष गजुरेलसहितको टोली आउँदो शुक्रवार सरोकारका पक्षसित छलफल गर्न वीरगञ्ज आउँदै छ । एनआईटीडीबी प्रमुख ज्ञवालीका अनुसार मन्त्रालयले डस्टी कार्गो नेपालमै व्यवस्थापन गर्न फेरि सम्बद्ध पक्षसँग समन्वय गर्न लागेको हो । 

भारतीय रक्सौल भन्सारले गत जुलाई १ बाटै डस्टी कार्गो आईसीपीबाट भित्र्याउन निर्देशन दिएको थियो । रक्सौल रेलवे र आईसीपीबीचको सम्पर्क सडक साँघुरो रहेकाले दैनिक ३०० देखि ४०० ओटासम्म ट्रक आवागमन हुन नसक्ने ढुवानीकर्ताले बताएका थिए । व्यापारीको आग्रहपछि भन्सारले अगस्त १ सम्मको समयसीमा दिएको थियो । 

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले भारतीय पक्षलाई पत्राचार गरेपछि समयसीमा अक्टोबरसम्म लम्ब्याइएको थियो । यसबीचमा सडक विस्तार गरेर आईसीपीमा कार्गो लैजाने समझदारी बनेको प्रमुख भन्सार अधिकृत पौडेलले जानकारी दिए । 

सुक्खा बन्दरगाह सञ्चालन गर्दै आएको प्रिस्टाइन भ्याली डाइपोर्ट प्रालिका कार्यकारी निर्देशक बी मोहन सुक्खा बन्दरगाहमै डस्टी कार्गो व्यवस्थापन गर्न सकिने बताउँछन् । बन्दरगाहका ६ ओटा रेल लाइनमध्ये ४ नम्बर लेनलाई हटाएर ठाउँ व्यवस्थापन गरिएको सञ्चालकले बताएको छ । रक्सौलसम्म रेलमा आएको कार्गोलाई सीधै बन्दरगाहमा ल्याउन सहज हुने दाबी मोहनको छ । बन्दरगाह आसपास बस्तीसमेत न्यून भएकाले प्रदूषण नियन्त्रणका उपाय अपनाएर कार्गो लोडअनलोड गर्न सकिने उनले बताए । अहिले केही ढुवानीकर्ताले रक्सौलको मितेरी पुल र आसपास क्षेत्रमा जग्गा भाडामा लिएर गोदाम चलाइरहेका छन् । रक्सौल रेल यार्डमा अनलोड भएको डस्टी कार्गो ती स्थानमा राखेर ढुवानी गर्दै आएका छन् । 

सरकारले आईसीपी र सुक्खा बन्दरगाहबीचमा पर्ने ६२ बिगाहा जग्गा अधिग्रहण गरी पूर्वाधार विस्तारको योजना बनाएको थियो । प्रक्रिया अघि बढे पनि यो योजनाले ५ वर्षदेखि गति लिन सकेको छैन । आईसीपी र बन्दरगाह भन्सारलाई एकै ठाउँमा गाभ्ने योजनासमेत अलपत्र छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)