ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

दुधेखोलाको कोप्रे झरनामा आन्तरिक पर्यटकको भीड

२०७९ भदौ, ३  
गण्डकी प्रदेश
Aarthik Abhiyan 18th Anniversary NA
author avatar ध्रुवसागर शर्मा

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–२ बगरफाँटको दुधेखोलामा रहेको कोप्रे झरना पछिल्लो समय आन्तरिक पर्यटकहरूको गन्तव्य बन्न थालेको छ । विगत दुई वर्षयता असारदेखि असोजसम्म उक्त झरनामा रमाउन आन्तरिक पर्यटकहरूको भीड लाग्ने गरेको हो ।

सदरमुकाम बेनी बजारदेखि करीब ४ किलोमिटर पश्चिमतर्फ पर्ने नयाँ पर्यटकीय गन्तव्यका रूपमा चिनिएको उक्त झरनामा आन्तरिक पर्यटकहरूको चहलपहल बढ्न थालेको छ । पर्यटकीय सम्भावना बोकेको कोप्रे झरनामा आन्तरिक पर्यटकको आकर्षण बढ्दै गएको छ ।

भकिम्लीको दुधेखोला नजिकै पर्ने कोप्रे झरनामा पछिल्लोपटक दैनिकजसो पर्यटक पुगेर रमाउने गरेका छन् । स्थानीयले ‘कोप्रे छहरा’ भनेर चिन्ने कोप्रे झरनामा खासगरी शनिवार तथा विदाको दिनमा आन्तरिक पर्यटकहरूको घुइँचो लाग्ने गरेको छ ।

म्याग्दीको सदरमुकाम बेनीबजारदेखि नजिकै रहेको झरनामा दैनिक झन्डै १ सय पर्यटक घुम्न आउँछन् । बेनी–बगरफाँट–भकिम्ली सडकको नजिकै अवस्थित कोप्रे झरनामा स–साना बालबालिकादेखि अधबैंशे उमेर समूहका मानिसहरू समेत पुग्छन् । झरनाको भ्रमण गर्न जाने पर्यटकले यसलाई लकडाउनको समयमा भेटिएको झरना भनेर पनि चिन्ने गरेका छन् । व्यस्त दिनचर्याबाट मानिसहरू एकैछिन भए पनि कोप्रे झरनामा रमाएर फर्कन्छन् ।

खासगरी यहाँ भकिम्ली, ज्यामरुककोट, दुधेखोला, बगरफाँट र बेनीबजार आसपासका क्षेत्रबाट मानिसहरू पुगेर घुम्ने, फोटो खिच्ने र रमाउने गर्छन् । विगतदेखि नै मानिसको चहलपहल हुने यस झरनामा पछिल्लोपटक गतवर्ष र अघिल्लो वर्ष कोरोना भाइरसका कारण जारी निषेधाज्ञाको बीचमा घुम्नेहरूको संख्या बढेको थियो । बेनीबजारबाट कोप्रे झरनामा पुगेर रमाउन पाउँदा आफूले आनन्द महसूस गर्न पाएको आन्तरिक पर्यटक रचना रिजालले बताइन् ।

कोप्रे झरना हिउँदमा केही सानो भए पनि वर्षात्को समयमा निकै ठूलो हुने गर्दछ । कोप्रे झरनालाई त्यहाँ भ्रमण गर्न जाने कतिपय पर्यटकले ‘वर्षे झरना’ नामकरण गरेका छन् ।

कोप्रे झरनालाई पर्यटकीय गन्तव्यको स्थलका रूपमा विकास गर्न चालू आर्थिक वर्षमा वडा कार्यालयको सिफारिशमा बेनी नगरपालिकाले आवश्यक बजेट विनियोजन गरेको ज्यामरुककोटका वडाध्यक्ष यामबहादुर कार्कीले बताए ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)