ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

म्याग्दीको डडुवामा व्यावसायिक तरकारीखेतीको लहर

२०७९ भदौ, ५  
गण्डकी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ध्रुवसागर शर्मा

म्याग्दी । १० वर्ष बहराइनमा काम गर्दा पनि खासै कमाइ गर्न नसकेपछि गाउँ फर्किएका बेनी नगरपालिका ५ डडुवाका ५२ वर्षीय मोहन भण्डारी अहिले आफ्नै घर अगाडिको खेतबारीमा  तरकारीखेती गरेर वार्षिक रू. ५ लाखभन्दा बढी आम्दानी गर्छन् । भण्डारी अचेल व्यावसायिक तरकारी र फलफुल खेतीमा निकै व्यस्त छन् ।  तरकारीखेतीको गोडमेल, मलजल र फलफूलको रेखदेख गर्ने उनको दिनचर्या बनेको छ ।

मोहन मात्रै होइन, डडुवा गाउँका भरत भण्डारी, अर्जुन भण्डारी, डेकबहादुर पाइजा, भीमबहादुर पाइजा, वीरबहादुर भण्डारी लगायत २० जनाभन्दा बढी व्यक्तिले गाउँमै व्यावसायिक  तरकारीखेती र पशुपालन गरेपछि पहिला उजाड र उराठ लाग्दो डडुवामा अहिले व्यावसायिक  तरकारीखेती र पशुपालनको लहर नै चलेको छ ।

व्यावसायिक  तरकारीखेती र पशुपालन गरेर यहाँका बासिन्दाले विदेशको भन्दा बढी कमाइ भइरहेको बताएका छन् । उजाड र उराठ लाग्दो डडुवाका खेतबारीमा हरियाली र घरघरमा खुशियाली रहेको प्रतिक्रिया किसानले दिएका छन् ।

विदेशमा तरकारी र पशुपालनको क्षेत्रमा गरेको कामको अनुभव स्वदेश फर्किएपछि भण्डारीले कृषि पेसामा लगाएका छन् । उनले २ ओटा आधुनिक टनेल, १८ फिट लम्बाइ र १२ फिट चौडाइका ३ ओटा सामान्य टनेल र २ ओटा हाइटेक प्रविधिको टनेलभित्र गोलभेँडा लगाएका छन् ।

वार्षिक सरदरमा डेढ लाख रुपैयाँजतिको लगानी गरी उनले टनेलमा गोलभेँडा, सिमला खुर्सानी, बारीमा काँक्रो, भन्टा, खुर्सानी र साग लगायतका तरकारी लगाएका छन् । उनले गोलभेँडा विक्रीबाट मात्रै सबैभन्दा बढी चार लाख रुपैयाँ आम्दानी हुने गरेको बताए । त्यस्तै बन्दा, काउली, खुर्सानी, चिप्लेभन्टा आदि विक्रीबाट रु १ लाखदेखि डेढलाखसम्म आम्दानी हुने गरेको उनको भनाइ छ ।

यो गाउँमा तरकारी र पशुपालनको लहर नै चलेको छ । तरकारीखेतीबाट विगत ५ वर्षयता स्थानीयहरू आर्थिक रूपमा पनि निकै सबल बनेको स्थानीय बुद्ध एकेडेमी बगरफाँटका शिक्षक प्रेम नेपाली बताउँछन् ।

‘व्यावसायिक कृषिमा मन लगाएर मेहनत गर्ने हो भने वार्षिक ५/७ लाख रुपैयाँ कमाउन विदेश जानु पर्दैन भन्ने उदाहरण मेरै गाउँका दाजुभाइहरू बनेका छन्,’ शिक्षक नेपालीले भने, ‘पहिला उजाड देखिने डडुवाका खेतबारीमा अहिले टनेलै टनेल छन्, टनेलभित्र  तरकारीखेतीको रहर लाग्दो हरियाली छ ।’

तरकारीखेतीको सिँचाइका लागि स्थानीयले गाउँमा नै पक्की ट्यांकी समेत निर्माण गरेका छन् । बर्खाको पानी जम्मा गर्न बनाइएका ती ट्यांकीमा जम्मा भएको पानीले हिउँदमा सिँचाइ गर्ने गरिएको कृषक पदम भण्डारी बताउँछन् । स्थानीय वीरबहादुर भण्डारीले केशरे पानीमा बर्खाको पानी जम्मा गर्न बनाएका ट्यांकीबाट अरू किसानले पनि फाइदा लिएका छन् ।

त्यसैगरी अर्का कृषक भीम पाइजाले गाउँमा पहिलोपटक गरेको सिमला खुर्सानी खेती यस क्षेत्रका लागि नौलो र मनग्गे आम्दानी लिन सकिने खेती बनेको छ । उनले सिमला खुर्सानी बेचेर वार्षिक डेढ लाख रुपैयाँ आम्दानी गर्दै आएका छन् ।

अर्का कृषक डेकबहादुर पाइजाले  तरकारीखेतीका साथै बंगुरपालन गरेका छन् । यहाँका कृषकले घरखर्च चलाउन र छोराछोरीको पढाइ खर्च तरकारी बेचेको आम्दानीबाटै व्यहोर्ने गरेका छन् ।

गाउँमा उत्पादन गरेको तरकारी र फलफुलको विक्री वितरणका लागि बजारको समस्या नभए पनि सडकको समस्याले समयमै बजार पुर्‍याउन सास्ती हुने गरेको किसानहरूको गुनासो छ । सरकारले वास्तविक किसानको पहिचान गरेर ढुवानी, बजारीकरण लगायतमा सहयोग गर्नुपर्ने उनीहरूको माग छ । संघ, प्रदेश र स्थानीय सरकारले कृषक लक्षित विभिन्न नीति तथा कार्यक्रमहरू ल्याए पनि पहुँच नभएका र व्यवसायिक तरकरीखेतीमा लागेका कृषकहरू लाभान्वित हुन नसकेको गुनासो किसानको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)