ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

‘सरकारले सघाए सिमेन्ट निर्यातमा ठूलो सम्भावना छ’- पशुपति मुरारका

२०७९ भदौ, ५  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar नरहरि आचार्य

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष तथा मुरारका ग्रूपका निर्देशक पशुपति मुरारकाले नेपाल अल्पविकसित राष्ट्र भएकाले उद्योगधन्दा विस्तारको प्रशस्त सम्भावना रहेको बताएका छन् ।

आर्थिक अभियानसँगको कुराकानीमा उनले आन्तरिक उत्पादन बढाएर उच्च व्यापारघाटा कम गर्ने सम्भावना रहे पनि त्यसमा मुलुक चुकिरहेको बताए । व्यापारघाटाको यस्तो विकराल अवस्थामा पनि मुलुक सिमेन्टमा आत्मनिर्भर बनेकाले सरकारले चाँडोभन्दा चाँडो यसको निर्यातलाई सघाउ पुग्ने गरी काम गर्नुपर्ने उनको भनाइ छ । उनले सरकारले चालू आर्थिक वर्षको बजेट सार्वजनिक गरेको २ महीना बिते पनि सिमेन्ट निर्यातमा दिइने अनुदानको कार्यविधि कार्यान्वयनमा ल्याउन नसकेको बताए ।

नेपालबाट सहज रूपमा सिमेन्ट निर्यात गर्न ढुवानी लागत महँगो भएको र बिजुली पर्याप्त नभएको भन्दै उनले सिमेन्ट उद्योगका लागि प्रसारण लाइनको क्षमता विस्तारमा पनि नेपाल विद्युत् प्राधिकरणले ध्यान दिन नसकेको सुनाए ।

मुरारकाका अनुसार सरकारले सहजीकरण गरेको खण्डमा सिमेन्ट निर्यात गरेर मुलुकको व्यापारघाटा केही हदसम्म भए पनि कम गर्न सकिन्छ । तर, त्यसका लागि सरकारले नीतिगत सुधार गरेर वातावरण बनाउनुपर्छ । उत्पादनको आधा सिमेन्टमात्र नेपालमा खपत भएको भन्दै उनले भारत सिमेन्ट निर्यातको प्रचुर सम्भावनायुक्त गन्तव्य हुन सक्ने बताए ।

उनको भनाइमा कर घटाएमा, विद्युत् महसुलमा सहुलियत दिएमा र निर्यातमा अनुदान पाएको खण्डमा सिमेन्टबाटै नेपालको व्यापारघाटा कम गर्न सकिन्छ । नेपालको सिमेन्ट निर्यातका लागि भारतको उत्तरप्रदेश र बिहार राम्रो बजार हुन सक्छ । निकासीको बजार समयमै नखोजेकै कारण स्वदेशका सिमेन्ट उद्योगहरू पूर्ण क्षमतामा चल्न नसकेको उनको भनाइ छ ।

सिमेन्ट उद्योगमा प्रयोग हुने कच्चा पदार्थ चुनढुंगा स्वदेशमै पाइने तर बजार सानो भएकाले भारतमा बजार विस्तार गर्न सरकारले नै सहजीकरण गर्नुपर्ने उनको भनाइ छ । उनका अनुसार नेपालमा छोटो अवधिमै सिमेन्ट उद्योगमा ठूलो लगानी भइसकेको छ । विगतमा विदेशबाट क्लिंकर आयात गरेर ग्राइन्डिङ गर्दै आएका कतिपय उद्योगले अहिले आफैले क्लिंकर उत्पादन गरिरहेका छन् ।

सरकारको दूरगामी दृष्टिकोण नहुँदा निजीक्षेत्रले समस्या भोगिरहेको पनि मुरारकाले सुनाए । नेपाली अर्थतन्त्रको विकासमा विभिन्न विघ्नबाधा रहेको भन्दै उद्योगी व्यवसायी अहिले पनि करसम्बन्धी कानूनी झन्झट बेहोर्न बाध्य रहेको उनले गुनासो गरे ।

मुरारकाले पढेर नभई परेर व्यापार व्यवसायमा हात हालेको सुनाए । उनका बुबा लहानमा कपडा र धानचामलको व्यवसाय गरेर माथि उठेका थिए । सानैमा हिसाबकिताब गर्न माहिर उनले बुबाको परम्परागत व्यापारलाई फैलाउँदै अहिले मुरारका ग्रूपअन्तर्गत १५ ओटाभन्दा धेरै व्यवसाय सञ्चालन गरिरहेका छन् । तत्कालीन समयमा हजुरबुबा र बुबाले गरेको अथक मेहनत र परिश्रमको जगमा मुरारका ग्रूप उभिएको उनी बताउँछन् ।

विराटनगर, नेपालगञ्ज, भैरहवालगायत क्षेत्रमा व्यापार व्यवसाय गरिरहेको मुरारका ग्रूपको नेपालको व्यावसायिक यात्रामा आफ्नै इतिहास छ । करीब ८० वर्षअघि धानचामल र कपडाको व्यापारबाट अगाडि बढेको मुरारका समूहले आजसम्म आइपुग्दा बीमा, बैंक, स्टील, सिमेन्ट, पेन्ट्स, प्रशोधित तेल, जलविद्युत्, अटोमोबाइल्स, मोबाइल फोनलगायत क्षेत्रमा लगानी विस्तार गरेको छ ।

मुरारका ग्रूपले भैरहवामा दैनिक ३ हजार टन क्षमताको अर्घाखाँची सिमेन्ट उद्योग सञ्चालन गरिरहेको छ । चार मेगावाट क्षमताको नेपाल हाइड्रो र २० मेगावाट क्षमताको मोदी हाइड्रोपावर निर्माण गरिरहेको छ । जलविद्युत्लगायत यस ग्रूपअन्तर्गतका उद्योग व्यवसायमा प्रत्यक्ष र अप्रत्यक्ष गरी करीब ४ हजार जनाले रोजगारी पाएका छन् ।

नाफा सुनिश्चित हुने क्षेत्रमा मात्र लगानी गर्नुपर्छ भन्ने मान्यतामा रहेको उक्त समूहले तरलता अभावका कारण व्यवसाय विस्तारमा बाधा पुगे तापनि भविष्यमा विभिन्न क्षेत्रमा लगानी विस्तार गर्ने योजना बनाइरहेको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)