काठमाडौं । रक्सौल–काठमाडौं रेलमार्गको फिल्ड सर्वेक्षण चाँडै सम्पन्न हुने भएको छ । आगामी डिसेम्बरसम्ममा भारतको कोंकण रेलवेको टोलीले उक्त परियोजनाको अन्तिम प्रतिवेदनसहित डीपीआर र अन्य परीक्षणसम्बन्धी प्रतिवेदन भारत सरकारलाई बुझाउने भएको छ ।
यो रेलमार्गको अध्ययन भारत सरकारको अनुदानमा भइरहेको हो । निर्माणपूर्वका सम्पूर्ण अध्ययन सकेर सन् २०२३ भित्रै यो रेलमार्गको निर्माण शुरू हुन सक्ने सम्भावना रहेको समाचार भारतीय पत्रिका प्रभात खबरले शुक्रवार छापेको छ ।
हालसम्मको सर्वेक्षणले रक्सौलबाट काठमाडौंसम्म रेलमार्ग बनाउन सकिने देखाएको छ । सर्वेक्षणका सबै नतीजा सकारात्मक रहेको बताइएको छ । सर्वे टोलीका अनुसार तदारुकताका साथ काम भए रक्सौल–काठमाडौं रेलमार्गको निर्माण सम्पन्न गर्न ४ देखि ५ वर्षसम्म लाग्ने अध्ययन टोलीको निष्कर्ष छ । रक्सौल–काठमाडौं रेलमार्ग बहुप्रतीक्षित परियोजना पनि हो । भारतको प्रतिद्वन्द्वी चीनले केरुङ–काठमाडौं रेलमार्ग बनाइदिने घोषणा गरेसँगै नयाँ दिल्लीले रक्सौल–काठमाडौं रेलमार्गको कुरा गर्न थालेको हो ।
यो रेलमार्गमा प्रतिघण्टा १२० किलोमीटरको गतिमा रेल कुदाउन सकिने अध्ययनले देखाएको छ । सर्वेक्षण टोलीका अनुसार रक्सौल–काठमाडौं रेलमार्ग १४० किलोमीटरको हुनेछ । यसमा अन्तिम ४० किलोमीटर खण्ड डबल ट्र्याकसहितको इलेक्ट्रिफाइड हुने प्राप्त समाचारमा उल्लेख छ । त्यसैगरी रक्सौलबाट शून्यदेखि ९९ किलोमीटरसम्म सिंगल लाइन ब्रोडगेज विद्युतीकरणका साथ बन्ने बताइएको छ । अन्तिम ४० किलोमीटर अर्थात् काठमाडौंतर्फको खण्ड भौगोलिक अवस्थितिका कारण डबल ट्र्याकमा बनाइनेछ । भविष्यमा समस्या नआओस् भनेर उक्त खण्ड डबल ट्र्याकमा बनाउन खोजिएको हो । बाँकी ९९ किलोमीटर तराई खण्डमा पर्ने हुँदा ट्र्याक बनाउन सजिलो हुनेछ ।
रेलमार्ग तयार भएपछि ३ घण्टामै काठमाडौंबाट रक्सौल पुग्न सकिन्छ । यो परियोजना सम्पन्न गर्न खर्बौं रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ । रेलमार्ग निर्माणमा भारत सरकारले सहयोग गर्नेछ ।
कोंकण रेलवेको टोलीले रक्सौलदेखि काठमाडौंसम्मकै अन्तिम सर्वेक्षणको काम गरिरहेको हो । टोलीले फिल्ड सर्वेक्षणका साथै पुल, सुरुङ बनाउनुपर्ने ठाउँको माटोको परीक्षण पनि गरिरहेको छ । नेपाल सरकार, भारतीय महावाणिज्यदूतावास र स्थानीयले सर्वेक्षण टोलीलाई सहयोग गरिरहेको प्रभात खबरले प्रकाशित गरेको समाचारमा उल्लेख छ ।
सर्वेक्षण टोलीका अनुसार यो रेलमार्गको रक्सौलदेखि काठमाडौंसम्ममा १२ ओटा स्टेशन बनाइनेछ । रक्सौल, वीरगञ्ज, बेलवा, मनहरवा, सपही बजार, निजगढ, मकवानपुर, दियाल, शिखरपुर, साथीखेल, सिस्नेरी र काठमाडौंमा रेल स्टेशन बन्नेछन् ।
रेलमार्गमा ३३ ओटा सुरुङ बनाउनुपर्नेछ । सबैभन्दा लामो सुरुङ ८ किलोमीटरको हुने सर्वेक्षण टोलीले जानकारी दिएको छ । यसका साथै रक्सौल र काठमाडौंको बीचमा सानाठूला गरी ३०५ ओटा पुल बनाउनुपर्नेछ, जसमा ८०० मीटर लामो केबल ब्रिज पनि समावेश छ । उक्त रेलमार्गको सबैभन्दा लामो पुल १ हजार ५०० मीटरको हुनेछ । रक्सौलदेखि ४७ किलोमीटर यता आएपछि रेलमार्ग जंगल र पहाडी इलाकामा बन्नेछ ।
२०७७ सालमै नेपाल सरकारले यो रेलमार्गको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गरिदिन भारत सरकारलाई आग्रह गरे पनि कोरोनाका कारण सर्वेक्षण रोकिएको थियो । कोरोना महामारीका कारण चीन सरकारले बनाइदिने भनेको केरुङ–काठमाडौं रेलमार्गको सम्भाव्यता अध्ययन पनि रोकिएको थियो । रक्सौल–काठमाडौं रेलमार्गको फिल्ड सर्वेक्षणको काम डेढ महीनाअघि शुरू भएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव शिवप्रसाद नेपालले बताए ।
अहिले भइरहेको सर्वेक्षणबाट कस्तो खालको रेल चलाउन मिल्ने, कुनकुन विन्दुमा सुरुङ, पुल, स्टेशनजस्ता मुख्य संरचना बनाउने भन्ने कुरा पत्ता लाग्नेछ ।
यसले लागत अनुमान गर्न पनि सहयोग गर्ने बताइएको छ । यो रेलमार्गको सम्भाव्यता अध्ययन गर्ने विषयमा नेपाल र भारत सरकारबीच २०७५ भदौमा सम्झौता भएको थियो । त्यसैगरी, केरुङ–काठमाडौं रेलमार्गको सम्भाव्यता अध्ययन गर्न चीनसँग २०७६ असोजमा सम्झौता भएको थियो ।