ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

उत्तरी सीमापारि अड्कियो ५ अर्बको सामान, ४ सय कन्टेनर राेकिए चीनमै

२०७९ भदौ, ६  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar विजय दमासे

काठमाडौं । उत्तरका प्रमुख व्यापारिक नाका तातोपानी, रसुवागढी तत्काल नखुल्ने भएका छन् । यी दुवै नाका २ सातादेखि बन्द छन् । कोरोना संक्रमणको कारण देखाउँदै ल्हासामा जारी गरिएको बन्दाबन्दीको म्याद थप भएसँगै पूर्ण रूपमा बन्द चीनतर्फका नाका तत्काल नखुल्ने भएको हो । 

ल्हासास्थित नेपाली महावाणिज्यदूतावासका अनुसार चीनले त्यहाँ आइतवारसम्मका लागि बन्दाबन्दी घोषणा गरेको थियो । कोभिडका बिरामी अझै देखिएको र परीक्षण नसकिएको भन्दै त्यसलाई मंगलवारसम्म थप गरिएको छ । कोभिडको कारण देखाउँदै २ सातादेखि चीनले नेपालतर्फ कुनै सामान ल्याउन दिएको छैन । नेपाल हिमालय सीमापार वाणिज्य संघका अनुसार अहिले करीब ५ अर्ब रूपैयाँ बराबरको सामान बोकेका ४ सय कन्टेनर सीमापारि बाटोमै अड्किएका छन् । 

अहिले साढे ३ सयदेखि ४ सय कन्टेनर रसुवा नाकाको केरुङ र तातोपानी नाकाको खासा नेलममा रोकिएको न्यू सुगम इन्टरप्राइजेजका सञ्चालक एवम् संघका महासचिव भरत कार्कीले जानकारी दिए । 

उनको कम्पनीले चीनबाट सामान आयात गर्छ । रोकिएका कन्टेनरमा तीज र दशैंलक्षित सामान छन् । ‘लत्ताकपडा, जुत्ता, चाइनिज ओखर बोकेका कन्टेनर चीनले नेपाल ल्याउन दिएको छैन,’ आर्थिक अभियानसँग उनले भने ।

संघले ल्हासाका महावाणिज्यदूत नवराज ढकालसँग कुराकानी गर्दा चिनियाँ पक्षले घोषणा गरेको बन्दाबन्दी तत्काल खुल्ने सम्भावना नरहेको बताएको कार्कीले जानकारी दिए । उनले भने, ‘अर्बौंका समान रोकिएका छन्, नाका खुलाउने पहल गरिदिन महावाणिज्यदूतलाई भनिरहेका छौं । तर, उहाँले तत्काल खुल्ने छाटँकाट नरहेको बताइरहनुभएको छ ।’

संघले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूलाई भेटेर नाका सहज गर्नका लागि पहल गरिदिन आग्रह गर्ने तयारी गरेको छ । चाडपर्वका बेला सामान रोकिँदा व्यापार अस्तव्यस्त बन्न पुगेको पीएनपी इन्टरप्राइजेजका सञ्चालक प्रभु अधिकारी बताउँछन् । उनका अनुसार उत्तरी नाका एक्कासि बन्द हुँदा व्यवसायी दोब्बर खर्चसँगै ऋणको चपेटामा परेका छन् । 

‘अर्बौं लगानीको सामान बाटोमै होल्ड हुँदा अवस्था झनै बिग्रँदै गयो,’ उनले भने, ‘चाडपर्वको मुखमा नाका बन्द हुँदा ठूलो मर्का परेको छ । आयात खुलाउन सरकारले पहल गरिदिनुपर्छ ।’

दशैंको मुखमा चिनियाँ नाकामा सामान रोकिएपछि व्यापारीहरू समस्यामा परेको नेपाल राष्ट्रिय व्यवसायी महासंघको ठहर छ । महासंघले नाकामा देखिएको समस्या कूटनीतिक पहलबाट तत्काल समाधान गर्न सरकारसँग अनुरोधसमेत गरेको छ । महासंघका अध्यक्ष कुमार कार्कीले भने, ‘केही समयदेखि तातोपानी तथा केरुङ नाकामा समस्या देखिएको छ । आयातित सामग्री चिनियाँ सिमानामा रोकिएको छ । निर्यात लामो समयदेखि ठप्प भएको छ । तत्काल खुलाउन सरकारले पहल गर्नुपर्छ ।’

उनका अनुसार चाडपर्व लक्षित सामान चिनियाँ नाकामा रोकिएका छन् । ती सामान समयमा नआए सम्पूर्ण व्यवसायी धराशयी हुने खतरा बढेको छ । नाका नखुले धेरै उद्योगी व्यवसायी व्यवसायबाटै पलायन हुन सक्ने स्थिति छ । नाकामा देखिएका समस्या समाधानका लागि सरकारले यथाशीघ्र कूटनीतिक पहल थाल्नुपर्ने कार्की बताउँछन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)