काठमाडौं । हात्ती छाप चप्पल र गोल्डस्टार जुत्ताको नाम नसुन्ने मान्छे नेपालमा फेला पार्न मुश्किल हुन्छ । घरेलु बजारमा चप्पल र जुत्ताको पर्यायकै रूपमा हात्तीछाप चप्पल र गोल्डस्टार जुत्ता छन् भन्दा पनि फरक पर्दैन ।
नेपाली लाइफस्टाइल जुत्ताका रूपमा परिचित गोल्डस्टार अचेल गाउँघर वा पुरानो पुस्ताका खुट्टामा मात्र सीमित छैन शहरिया युवाले पनि फेशनेबल ब्रान्डकै रूपमा स्वीकारेका छन् । गोल्डस्टारको लोकप्रियता त यतिसम्म छ कि यसको डुप्लिकेट नै बजारमा आउन थालिसक्यो ।
त्यही हात्तीछाप र गोल्डस्टार उत्पादन गर्ने कम्पनी किरण शुज म्यानुफ्याक्चरर्सका अध्यक्ष तथा प्रबन्ध निर्देशक अमिरप्रताप राणा आइतवार आर्थिक अभियानसँग गफिए । सस्तो, आकर्षक र बलियो विशेषताको गोल्डस्टार नामबाट नक्कली जुत्ता बजारमा आए पनि कम्पनीको व्यापारमा त्यत्ति ठूलो असर भने नपरेको राणाले बताए । विदेशबाट ल्याएको जुत्तामा गोल्डस्टार छाप हान्नेहरूकै कारण आफ्नो सक्कली ब्रान्डको प्रचारप्रसार भइरहेकाले ब्रान्डिङमा धेरै खर्च गर्नु नपरेको उनले सुनाए ।
पाल्पाका नुरप्रताप राणाले हेटौंडाबाट शुरू गरेको यो व्यवसाय अहिले छोरा अमिरप्रताप र बुहारी विदुषीले अघि बढाइरहेका छन् । हात्तीछाप चप्पलको उत्पादन २०२७ सालमा शुरू भएको थियो । राजनीतिक परिवर्तन र मजदूर हडतालका कारण २०४२ सालमा उक्त उद्योग हेटौंडाबाट काठमाडौं ल्याइयो । हात्तीछाप चप्पल कारखानाकै कारण महाराजगञ्ज चोकबाट चाबहिलतर्फ डेढ दुई किलोमीटर अघि बढेपछि आउने ठाउँ नै अचेल चप्पल कारखानाको नामले चर्चित छ । राणाका अनुसार हेटौंडाबाट उद्योग काठमाडौं सारेपछि किरण शुजले जुत्ता बनाउन थालेको हो ।
पछिल्लो समय नेपालबाट निर्यात हुने वस्तुमा पर्छ, गोल्डस्टार । गोल्डस्टारले राम्रो बजार लिएपछि कम्पनीको साख गिराउन कतिपय व्यापारी र जुत्ता उद्योगीले नक्कली गोल्डस्टार बनाएर विक्री गर्न थालेको राणाको भनाइ छ । कम्पनीको ब्रान्डलाई बदनाम गर्न पटकपटक प्रयास गरिए पनि सक्कली गोल्डस्टारको बजार राम्रो छ ।
पछिल्लो समय बजारमा धेरै नक्कली जुत्ता आएको र यसबाट ग्राहक ठगिएको उनको भनाइ छ । राणाका अनुसार नक्कली स्टीकर टाँसेर विदेशी ब्रान्डका जुत्ता पनि विक्री गरिन्छ । कम्पनीले हाल दैनिक १ लाख हजार जोर चप्पल र गोल्डस्टार जुत्ता उत्पादन गरिरहेको छ । भैरहवामा सात बिगाहा जग्गा किनेर प्लान्ट स्थापना गरिरहेको छ । उक्त प्लान्ट अबको केही समयमै सञ्चालनमा आउनेछ । व्यापार विस्तार गर्ने क्रममा कम्पनीले विभिन्न जिल्लामा शोरूम र आउटलेट तथा अमेरिका र अस्ट्रेलियामा फ्रेन्चाइजी शुरू गरेको छ ।
कम्पनीका उत्पादन भारत, कतार, बहराइन, जापान, मलेशियालगायत देशमा निर्यात हुन्छ । प्रत्यक्ष रूपमा २ हजार ७०० जनालाई रोजगारी दिइरहेको कम्पनीमा ६५ प्रतिशत महिला कामदार कार्यरत छन् ।
कोभिडपछि कम्पनीले छालाका जुत्ता पनि उत्पादन गर्न थालेको छ । भूकम्प र कोभिडको समयमा कच्चा पदार्थ आयातमा समस्या भएकाले उत्पादन केही खस्किए पनि सन् २०२५ सम्ममा कम्पनीका उत्पादनलाई विश्वका सबै मुलुकमा पुर्याउने लक्ष्य रहेको राणाले सुनाए । केही वर्षयता गोल्डस्टार ब्रान्डमा भारतीय पनि उत्साहित छन् । अचेल कम्पनीले कुल उत्पादनको करीब ७५ प्रतिशत भारत निर्यात गर्छ । अरू देशमा पनि निर्यात भइरहेको राणाले बताए ।
स्वदेशमा उद्योग, व्यवसाय सञ्चालन गर्न उद्योगमैत्री नीति र कानूनको आवश्यकता देख्छन् राणा । सरकारले निजीक्षेत्रसँग सहकार्य गरेर अघि बढ्नुपर्ने उनले सुझाए । कुमारी बैंकका अध्यक्षसमेत रहेका राणाले आकर्षक, टिकाउ, सस्तो मूल्यका फूटवेयरको नेपाल र विदेशमा राम्रो भविष्य देखेर यसलाई नै प्राथमिकतामा राखेर योजनाबद्ध रूपमा अघि बढिरहेको उनले बताए ।
उनले उद्योग, व्यवसाय सञ्चालन गर्न दीर्घकालीन सोच र लगानी आवश्यक हुने हुँदा सर्वसाधारणका लागि प्राथमिक शेयर निष्कासन (आईपीओ) गर्ने विषयमा पनि विचार गरिरहेको बताए ।