ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

भारतले गहुँ निकासी गर्ने मुलुकमा नेपाल परेन, ६ लाख मेट्रिक टन आयात अन्योलमा

२०७९ भदौ, ८  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar वेदराज पौडेल

विराटनगर । भारतले गहुँ निकासी गर्ने मुलुकको सूचीमा नेपाल छुटेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको ढिलासुस्तीले भारत सरकारले गहुँको निकासीको कोटा छुट्ट्याउँदा त्यसमा नेपाल छुटेको हो । यसले स्वदेशी मैदा उद्योगलाई आवश्यक पर्ने ६ लाख मेट्रिक टन गहुँको आयात अन्योलमा परेको छ ।

भारतले बंगलादेश, इन्डोनेशिया, यमन, यूएई र ओमानलाई कोटा तोकेर गहुँ दिने भएको छ । ती मुलुकले बेलैमा पहल गरेकाले नयाँ दिल्लीले कोटा तोकेर गहुँ निकासी गर्न स्वीकृति दिएको हो । भारत सरकारले सोमवार गहुँ निकासी गर्ने मुलुक र तिनलाई छुट्ट्याएको कोटाको विवरण सार्वजनिक गरेको थियो । भारतले आन्तरिक उत्पादनमा कमी आएको भन्दै वैशाख ३१ मा गहुँ निकासीमा प्रतिबन्ध लगाएको हो । प्रतिबन्ध लगाए पनि खाद्य सुरक्षाका लागि आवश्यक पर्ने मुलुकमा कोटा तोकेर गहुँ निकासी गर्ने नयाँ दिल्लीले बताएको छ । 

उद्योग, वणिज्य तथा आपूर्तिमन्त्रीले पटकपटक गहुँ आयातका लागि बेलैमा पहल गर्ने आश्वासन दिए पनि समयमा काम हुन नसक्दा मुलुकभित्र सञ्चालित ३२ मैदा उद्योग बन्द हुने अवस्थामा पुगेका छन् । स्टकमा रहेको गहुँ सकिन लागेको सम्बद्ध उद्योगीले बताएका छन् । नजिकिँदै गरेको चाडपर्वलाई ध्यानमा राखेर भारतबाट चिनी ल्याउन तत्परता देखाएको मन्त्रालयले गहुँलाई भने बेवास्ता गरेको छ । 

मन्त्रालयले १ महीनाअघि नै आवश्यक पर्ने गहुँको परिमाण किटान गरेर पठाउन उद्योगीहरूलाई भने पनि अहिलेसम्म भारत सरकारसँग पहल गरेको छैन । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका उपसचिव डा.नारायणप्रसाद रेग्मीले नेपालका उद्योगलाई चाहिने गहुँ आयात गर्ने विषयमा निर्णय हुन अझै केही समय लाग्ने बताए । उनले अध्ययन भइरहेकाले कहिलेसम्ममा गहुँ आयात हुन्छ भन्न नसक्ने बताए । नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य तथा नेपाल भारत उद्योग वणिज्य संघ, प्रदेश १ का अध्यक्ष अविनाश बोहोराले तत्कालै सरकारले गहुँ नल्याउँदा चाडपर्वका बेला मैदा, आँटा र सुजीलगायत वस्तुको अभाव हुने बताए । मैदा उद्योग मात्र नभएर यससँग जोडिएका अन्य २५० भन्दा बढी उद्योग प्रभावित हुने उनको भनाइ छ । बिस्कुट, चाउचाउ, थुक्पालगायत उद्योगको कच्चा पदार्थ गहुँ नै हो । 

नेपाल फ्लोर मिल एशोसिएशनका सचिव तथा मोरङ व्यापार संघका उपाध्यक्ष विकास बेगवानीले मन्त्रालयका कर्मचारीले चाँडो काम नगर्दा भारतले गहुँ निकासी गर्ने देशको सूचीमा नेपाल नपरेको बताए । उद्योगीले आवश्यक पर्ने गहुँको परिमाण मन्त्रालयलाई बुझाइसकेपछि तत्कालै भारत सरकारलाई पत्र पठाउनुपर्नेमा त्यसो नगरिएकाले अब उसले नेपाललाई गहुँ दिने/नदिनेमै सन्देह उत्पन्न भएको उनले बताए । 

आँटा र मैदाको मूल्य बढ्यो 

भारतले खाद्य संकट पर्ने भन्दै गहुँको निकासीमा प्रतिबन्ध लगाएपछि ३ महीनामा आँटा र मैदाको भाउ किलोमै १५ रुपैयाँ बढेको छ । भारतीय गहुँ नआउँदा स्थानीय उत्पादनको माग बढ्न गई गहुँको मूल्य ६० प्रतिशतले बढेकाले आँटा र मैदाको मूल्य वृद्धि भएको व्यवसायी बताउँछन् । 

तीन महीनाअघि किलोको ३२ रुपैयाँ रहेको गहुँको भाउ अहिले ४७ रुपैयाँ पुगेको छ । गहुँको मूल्य बढेपछि ऊबेला ४९ रुपैयाँ किलोमा पाइने आँटाको मूल्य ६४ रुपैयाँ र ४७ रुपैयाँ किलोमा पाइने मैदाको मूल्य ६२ रुपैयाँ पुगेको छ । 

गहुँ पर्याप्त नहुँदा मैदा उद्योगको उत्पादन २० देखि ६० प्रतिशतसम्म खुम्चिएको व्यवसायीको दाबी छ । बेगवानीका अनुसार नेपालका ३२ मैदा उद्योगलाई वार्षिक १० लाख मेट्रिक टन गहुँ चाहिन्छ । त्यसमध्ये ३ लाख ५० हजार टन नेपालमै उत्पादन हुन्छ । बाँकी ६ लाख ५० हजार टन भारतबाट आयात गर्नुपर्छ । सरकारले पहल गरेर ६ लाख मेट्रिक टन गहुँ आयात गर्ने व्यवस्था मिलाए मैदा उद्योगलाई १ वर्षसम्म समस्या हुँदैन ।

उद्योगी हरिवंश राठीले उद्योगहरू समस्यामा पर्दा पनि गहुँ आयातका लागि सरकारले समयमै पहल नगरेको आरोप लगाए । कच्चा पदार्थ नहुँदा उद्योगहरूको उत्पादन खुम्चिएको जानकारी दिँदै राठीले भने, ‘भारत सरकारले छिमेकी मुलुकमा समस्या परे गहुँ निकासी खुला गरिने बताए पनि त्यसका लागि ठोस पहल हुन नसक्दा उद्योगहरू बन्द हुने अवस्थामा पुगेका छन् ।’ 

नेपालका लागि भारतीय राजदूतले नेपाल उद्योग वाणिज्य महासंघको एक कार्यक्रममा गहुँ र चिनी निकासीमा लगाएको प्रतिबन्ध नेपालको हकमा लागू नहुने बताएका थिए । नेपालमा गतवर्ष भारतबाट ६ अर्ब ९० करोड ७२ लाख ९० हजार रुपैयाँ मूल्य बराबरको ३ लाख ३५ हजार ९३२ मेट्रिक टन गहुँ आयात भएको थियो ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)