ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

काठमाडौंमा डेङ्गीका बिरामी अत्यधिक, बेड अभाव हुँदा त्रिपालमुनि उपचार

२०७९ भदौ, १२  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar सुनिल शर्मा

भदौ १२, काठमाडौं । काठमाडौं उपत्यकामा लामखुट्टेको टोकाइबाट फैलने  डेङ्गीका  बिरामी बढेका छन् । शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालका सूचना अधिकारी लोकबहादुर चौधरीका अनुसार पछिल्लो केही दिनयता डेङ्गीका बिरामी अत्यधिक बढेका छन् । अस्पतालहरू डेङ्गी लागेर उपचार गराउन आउने बिरामीले भरिएका छन् । 

यस्तै पछिल्ला केही दिनदेखि काठमाडौंका  निजी तथा सार्वजनिक अस्पतालमा डेङ्गीका बिरामीको चाप बढेको छ । काठमाडौंको क्षेत्रपाटीस्थित क्षेत्रपाटी निःशुल्क अस्पतालका सबै बेड डेङ्गीका बिरामीले भरिएका छन् । २५ बेड भएको सो अस्पतालका सम्पूर्ण बेड डेङ्गीका बिरामीले भरिएको अस्पतालले जनाएको छ ।  


बिरामीको चाप अत्यधिक बढेकाले अस्पताल परिसरमा त्रिपाल टाँगेर उपचार गर्नुपरेको अस्तपताल व्यवस्थापन समितिका अध्यक्ष डा. मनोजमान श्रेष्ठले बताए । उनका अनुसार उपचारमा आउने २० जनाभन्दा धेरै बिरामीको त्रिपालमुनि उपचार भइरहेको छ ।

अस्पतालमा भर्ना भएका धेरै बिरामीलाई एकै ठाउँमा राख्दा लामखुट्टे मार्फत डेङ्गी सर्ने खतरा झन् बढ्ने हुँदा भर्ना भएका बिरामीहरूलाई झुलभित्र राखेर उपचार गर्ने गरिन्छ तर त्रिपालमै राखेर उपचार गर्नुपर्ने अवस्था आएकाले समस्या भएको श्रेष्ठले बताए ।


डेङ्गी लागेको कसरी थाहा पाउने ?

खासगरी एडिज प्रजातिको लामखुट्टेको टोकाइबाट यो रोग सर्छ ।डेङ्गी संक्रमित लामखुट्टेले प्रायः दिउँसो मात्र टोक्छ । डेङ्गीको लक्षण तुरुन्तै देखिँदैन, तीन देखि १४ दिनको अन्तरालमा यसको लक्षण देखिने चिकित्सकहरू बताउँछन् । यसको संक्रमण भएमा शरीर चिसो अनुभव हुने र ज्वरो आउने गर्छ । आम ज्वरोभन्दा डेंगुको ज्वरो निकै तीव्र हुने गर्छ ।

डेङ्गीको संक्रमण भएको बिरामीलाई कमजोरी अनुभव हुने, चक्कर लागेर बेहोससमेत हुने, खानाको स्वाद बदलिने, भोक कम लाग्ने, पखाला लाग्ने, टाउको तथा कम्मर दुख्ने, गम्भीर अवस्थामा आँखा-नाक आदिबाट रगत बग्ने समेत हुन सक्छ ।


कसरी बच्ने ?
डेङ्गीबाट बच्नका लागि घर आसपास एवं टोल छेउछाउ पानी जम्ने खाल्डाखुल्डी राख्नु हुँदैन । पानी राखिएको भाँडा खुला छाड्नु हुँदैन । भान्सा र बाथरुमलाई सुख्खा राख्नुपर्छ । झ्याल ढोकामा जाली लगाउनुपर्छ । शरीर पूरा ढाक्ने गरी लुगा लगाउनुपर्छ । सुतेको समयमा झुल प्रयोग गर्नुपर्छ । घर आसपास लामखुट्टे मार्ने औषधि छर्नुपर्छ ।

अहिलेसम्म डेंगुको औषधि बनेको छैन । शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउनु नै यसको एक मात्र उपचार हो । त्यसैले माथिका लक्षणहरु देखिनसाथ अस्पताल जानुपर्छ र चिकित्सकको सम्पर्कमा रहनुपर्छ । डेङ्गी लागेपछि रगतमा प्लेटलेट्सको संख्या तीव्र रूपमा घट्न थाल्छ । यस्तो अवस्थामा औषधिका साथसाथै खानपान र सही दिनचर्या आवश्यक हुन्छ ।

सादा भोजन,  नुन कम भएको खानेकुरा खाने, मसलेदार चटपटे खानेकुरा बन्द गर्नुपर्छ । अनार वा ताजा मौसमी फलफूल खानुपर्छ । नरिवल पानी वा सफा पानी धेरै मात्रामा पिउनुपर्छ । भिटामिन सीयुक्त फल खानुपर्छ । कागती, सुन्तला, अंगुर, जामुन जस्ता फलफूलमा जोड दिने गर्नुपर्छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)