ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

डोरीले तान्नुपर्ने ईन्द्रजात्राको लिङ्गो फेरि डोजरले तानियो : संस्कृति मास्ने प्रयास भयो - सरोकारवाला

२०७९ भदौ, १५  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
​​​​​​​फोटो : सुनिल शर्मा / आर्थिक अभियान
author avatar सुनिल शर्मा

भदौ १५, काडमाडौं। उपत्यकाको जात्राहरुमा प्रमुख जात्राको रुपमा लिइने ईन्द्रजात्राको लिङ्गो डोजरले तानेर काठमाडौं ल्याईएको छ । जात्रामा  ठड्याइने ३२ हातको  ईन्द्रध्वज  काभ्रेनालाको जंगलबाट ल्याईएको हो ।  भादौ १३ गते विधिवत रूख कटान गरी वुधवार काठमाडौंको भोटाहिटी ल्याइएको छ ।

अघिल्ला वर्षहरुमा सूर्यविनायक, भक्तपुर लगायतका स्थानीयहरूले काभ्रेको नाला, साँगा हुँदै काठमाडौं पुर्‍याउने गरेकोमा गुठियारहरूले मध्यरातमा डोजर प्रयोग गरी लिङ्गो ल्याएकोमा संस्कृति संरक्षण सरोकारहरूले आपत्ती जनाएका छन् ।

नेपाल सरकारले लिङ्गो  ल्याउन प्रदान गरेको लाखौं रकम गुठीले आफैं राखेर परम्परा मास्न खोजेको आरोप उनिहरूले लगाएका छन् । कोरोनाकाल शुरू भएपछि संभावित जोखिमलाई  हेरेर सामुहिक रुपमा तानेर ल्याउन नसकिने भएपछि विगत २ वर्ष डोजर प्रयोग गरिएको थियो । तर, यस वर्ष कोरोनाको जोखिम नभएपनि जात्रा व्यवस्थापन समिति र ठेकेदार मिलेर रातारात लिङ्गो काठमाडौै ल्याएको स्थानीय राजन महर्जनले अभियानलाई बताए ।

लिङ्गो काठमाडौं ल्याउँदा काभ्रेदेखि काठमाडौंका स्थानीयको सहभागितामा एक स्थानका स्थानीयले अर्को स्थानका स्थानीयलाई भोज खुवाई हस्तान्तरण गर्दै काठमाडौ ल्याउने गरेकोमा डोजरले ल्याउँदा संस्कृति मासिने  उनिहरूको भनाई छ ।

इन्द्रजात्रा काठमाडौँ लगायत ललितपुर, भक्तपुर, धुलिखेल, दोलखा लगायतका स्थानमा वर्षा र सहकालका देवता इन्द्रको पूजा-आराधना गरी परम्परागत रूपमा नेवार समुदायले मनाउने जात्रा हो । आठ दिनसम्म मनाईने यो जात्रा भाद्र शुक्लपक्ष द्वादशीका दिन इन्द्रध्वजोत्थानबाट शुरू भई चौथी अर्थात् इन्द्रध्वज पतनसम्म चल्छ । विभिन्न नाचगानका साथ रथयात्रा गरी यो जात्रा सम्पन्न गरिन्छ।

सनातन धर्मावलम्बीहरूका प्रमुख र प्रचलित चाड दशैं, तिहार र फागुभन्दा पनि इन्द्रजात्रालाई संस्कृतिविदहरूले पुरानो चाड मानेका छन् । इन्द्रजात्रा र लिंगो  ठड्याउने प्रचलनको सम्बन्धमा विभिन्न पुराण तथा ग्रन्थमा उल्लेख गरिएको पाईन्छ ।

आफ्नी आमालाई वसुन्धराको व्रत निम्ति पूजा सजाउन स्वर्गलोकका राजा इन्द्र काठमाडौँ आएर पारिजातको फूल टिप्न लाग्दा तिनलाई चोर भनी नियन्त्रणमा लिएर डोरीले पाता कसी बीच सडकमै जात्रा गरेको किम्बदन्ती रहेको छ ।

त्यस बन्धनबाट मुक्त गराउन इन्द्रकी आमा स्वयं काठमाडौँ आएर छोराको बदलामा कुहिरो दिने वाचा गरी इन्द्रलाई फर्काएर लग्छिन। त्यही कुहिरोले गर्दा धानबाली समयमा पाक्ने भयो भन्ने कथन पाईन्छ।  इन्त्रजात्रा को प्रमुख कार्य नै लिंगो (ध्वजा) स्थापना हो । 

लिङ्गो भदौ १९ गते विहान ७ः२४ को शुभ साइतमा भोटाहिटीबाट हनुमान ढोका पुर्‍याउने र भदौ २२ गते बिहान ७:१७ को शूभ साईतमा विधिवत ठड्याएपछि राजधानीमा ईन्द्रजात्रा पर्व शुरू हुनेछ । भने, भदौ २९ गते साँझ ७:३३ बजेको शुभ साइतमा लिङ्गो ढलाएपछि जात्रा समाप्त हुनेछ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)