ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

पूर्व–पश्चिम राजमार्ग विस्तार ढिलो हुने पक्का

२०७९ भदौ, १७  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
पूर्व–पश्चिम राजमार्गको नारायणगढ–बुटवल खण्डमा सडक विस्तारको काम हुँदै ।
author avatar हिमा वि.क.

काठमाडौं । पूर्व–पश्चिम राजमार्गलाई डेडिकेटेड ४ लेनको सुरक्षित सडकमा विस्तार गर्ने योजना निर्धारित समयमै सम्पन्न नहुने देखिएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले ४ वर्षमा राजमार्ग विस्तार गरिसक्ने कार्ययोजना आर्थिक वर्ष (आव) २०७६/७७ मै ल्याए पनि त्यसअनुसार काम हुन नसक्दा समय लम्बिने देखिएको हो ।

१ हजार २८ किलोमीटर (किमी) लामो यो राजमार्ग विस्तार गर्ने योजना सोही वर्षको नीति तथा कार्यक्रम र बजेटमा थियो । कर्णालीबाहेक बाँकी ६ प्रदेशका २१ जिल्ला छोएको राजमार्गको अहिले जम्मा दुईओटा खण्डमा मात्रै काम शुरू भएको छ । बाँकीको चालू र आगामी आवमा ठेक्का लाग्ने सडक विभागका महानिर्देशक अर्जुनजंग थापाले जानकारी दिए । अहिलेसम्म २०० किमीमा काम शुरू भएको छ ।

काम अघि बढाइएका खण्डमा ११३ किमीको बुटवल–नारायणगढ र ८७ किमीको कमला–कञ्चनपुर छन् । बाँकी ८२८ किमीमा काम शुरू हुन सकेको छैन । बाँकीको ठेक्का चालू आव २०७९/८० मै लगाउने प्रक्रियामा सडक विभाग छ । महानिर्देशक थापाले पथलैया–ढल्केवर–कमला खण्डको ठेक्का यो वर्ष र पथलैया–हेटौंडा–नारायणगढ खण्डको ठेक्का आगामी वर्ष लाग्ने गरी तयारी गरिएको जानकारी दिए ।

मन्त्रालयको कार्यान्वयन कार्ययोजनाअनुसार चालू आवमा यो राजमार्ग विस्तारको काम सम्पन्न हुनुपर्ने थियो । तर, प्रमुख ४ कारणले तोकिएको समयमा काम सम्पन्न गर्न नसकिएको थापा बताउँछन् ।

‘राजमार्गको रेखांकनमा पर्ने विद्युत् पोल सार्न तथा वनबाट रूख काट्ने अनुमतिमा ढिलाइ, कोरोना महामारीको असर र कतिपय अवस्थामा निर्माण व्यवसायीको ढिलासुस्तीका कारण काम गर्न सहज भएन,’ थापाले भने, ‘अब बाँकी समयमा सडक स्तरोन्नति सम्पन्न गर्ने गरी ठेक्का तथा अन्य काम तीव्र रूपमा शुरू गर्नेछौं ।’

मन्त्रालयका एक उच्च अधिकारीले भने यो राजमार्ग ४ लेनमा स्तरोन्नति भइसक्न अझै ७/८ वर्ष लाग्ने बताए । तीनओटा राष्ट्रिय निकुञ्जमा सडक पर्ने, विस्तृत आयोजना प्रतिवेदन (डीपीआर), लगानीजस्ता विषयले काम गर्न अझै बाँकी हुँदा राजमार्गको विस्तार गरिसक्न उक्त समय लाग्ने उनले बताए । राजमार्गलाई ४ विभिन्न र शहरी तथा बस्ती बाक्लो भएका ठाउँमा ६ लेनमा विस्तार गर्ने लक्ष्यअनुसार काम अघि बढेको छ ।

विभागले राजमार्गलाई विभिन्न पाँचओटा प्याकेज बनाएर काम अघि बढाएको छ । १५ अर्ब ६५ करोड रुपैयाँ लागतको कमला–कञ्चनपुर २ प्याकेजमा हालसम्म भौतिक प्रगति ३० प्रतिशत भएको छ । यो खण्डमा ८ ओटा अन्डरपास, २ ओटा फ्लाइओभर र ५० ओटा पुल बनाइनेछ । काम २०८० कात्तिकसम्ममा सम्पन्न गर्ने लक्ष्य विभागको छ । यो खण्ड बस्ती हेरी ४ र ६ लेनमा विस्तार हुनेछ ।

यस्तै दुईओटै प्याकेजमा निर्माण शुरू भएको नारायणगढ–बुटवल खण्डमा हालसम्म जम्मा १८ दशमलव ४४ प्रतिशत काम भएको छ । १६ अर्ब ९९ करोड लागत अनुमान गरिएको यो सडक समयमै सम्पन्न नहुँदा अहिले म्याद थपको प्रक्रियामा छ । संघीय राजधानीसँग जोडिएको यो सडकको काम समयमै सम्पन्न नहुँदा उक्त बाटोका यात्रीले दैनिक सास्ती खेप्दै आएका छन् । तीनओटा खण्डमा एशियाली विकास बैंक (एडीबी) को र बाँकीमा विश्व बैंकको ऋण लगानी हुने भएकाले अहिले यो राजमार्ग विस्तारमा लगानी लगभग सुनिश्चितजस्तै छ । काँकडभिट्टा–लौकही, कमला–कञ्चनपुर, पथलैया–हेटौंडा–नारायणगढ खण्डमा एडीबीले सडक स्तरोन्नतिका लागि ऋण लगानी गर्नेछ । यस्तै विश्व बैंकले कमला–ढल्केवर–पथलैया विस्तारका लागि ऋण दिनेछ । अहिले यी खण्डमा डिजाइन भई, खरीद प्रक्रिया, डीपीआर र वातावरण अध्ययनको काम भइरहेको विभागको भनाइ छ ।

यस्तै बुटवल–गोरुसिंगे–चन्द्रौटा र चन्द्रौटा–कोहलपुर–गड्डाचौकी खण्ड पनि डीपीआर र वातावरण अध्ययन तथा परामर्शदाता छनोटको चरणमा छन् । अन्तरनिकाय समन्वय नहुँदा रूख कटानदेखि विद्युत्का संरचना सार्न ढिलाइ भए पनि नारायणगढ खण्डमा अहिले यो समस्या छैन । निर्माण शुरू भएको कमला–कञ्चनपुर खण्डमा भने ढल र पोलका कारण निर्माण व्यवसायीलाई सडक हस्तान्तरण नै हुन सकेको छैन ।

सडक खण्डको क्षेत्राधिकारभित्र पर्ने विद्युतीय संरचनालगायत रूख छिटो हटाउनुपर्ने र त्यसका लागि उच्चस्तरीय समन्वयमार्फत निर्णय हुनुपर्नेमा विभागको जोड छ । राजमार्गका अधिकांश किलोमीटरमा काम नै बाँकी रहेकाले अझै अर्बाैं रुपैयाँ लगानीको ठेक्का आह्वान गर्नै बाँकी छ । विभागका अनुसार १३० किलोमीटर लामो कमला–ढल्केवर–पथलैया खण्डमा नै ६४ अर्ब लगानी आवश्यक छ । ६९ किलोमीटर लामो बुटवल–गोरुसिंगे–चनौटा खण्डमा ३८ अर्ब रुपैयाँ लागत अनुमान गरिएको छ ।

२०१९ सालमा तत्कालीन राजा महेन्द्रबाट उद्घाटन भएको यो राजमार्ग पुरानामध्येमा पर्छ । त्यसबेला निर्माण शुरू भएको यो राजमार्गमा यातायातको घनत्वका साथै आसपासमा बस्ती पनि बसेसँगै स्तरोन्नति र विस्तार गर्ने योजना सरकारले केही वर्षअघि शुरू गरेको हो । विकास साझेदार एडीबी, विश्व बैंकजस्ता संस्थाको ऋण लगानीबाट राजमार्ग विस्तार तथा स्तरोन्नति हुनेछ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [1]
User Image

Khadka thapa

[Sep 2, 2022 02:47am]

निर्धारित समयमा त कुन चाहिँ आयोजना पूरा भएको छ र....?



   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)