ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

भारतले मुन्द्रा र धाम्रा बन्दरगाह नेपाललाई प्रयोग गर्न दिने

२०७९ भदौ, १९  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ओमप्रकाश खनाल

वीरगञ्ज । नेपालको समुद्रपार व्यापारका लागि भारतले थप २ समुद्री बन्दरगाह उपलब्ध गराउने भएको छ । नेपालले तेस्रो मुलुकसँगको व्यापारका लागि अहिलेसम्म भारतका तीनओटा बन्दरगाह प्रयोग गर्दै आएको छ । आगामी वर्षदेखि अन्य २ बन्दरगाह थपिनेछन् ।

भारतले नेपालको व्यापारका लागि उडिसा राज्यमा पर्ने धाम्रा र गुजरातको मुन्द्रा बन्दरगाह उपयोगको बाटो खोल्न लागेको समाचार भारतीय पत्रिका द प्रिन्टले प्रकाशित गरेको छ ।

भारतको छिमेकी पहिलो नीतिअन्तर्गत नेपाललाई तेस्रो मुलुकसँगको आयातनिर्यातमा यी बन्दरगाह प्रयोग गर्न दिने सहमति भएको र यसको आवश्यक तयारीका लागि दुवै पक्षबीच संवाद भइरहेको भारतीय कूटनीतिक स्रोतलाई उल्लेख गर्दै द प्रिन्टले लेखेको छ ।

द प्रिन्टका अनुसार सन् २०२३ मा हुने नेपाल–भारत पारवहन सन्धि संशोधनमार्फत थप बन्दरगाह प्रयोगको बाटो खोलिनेछ । तेस्रो मुलुकसँगको व्यापारका लागि नेपालले यी बन्दरगाह प्रयोगमा ल्याउन नेपाल–भारत अन्तरसरकारी बैठकमा सन् २०१८ मै सैद्धान्तिक सहमति भएको थियो ।

नेपालले भारतीय निकायलाई यी बन्दरगाह उपयोगसम्बन्धी सम्झौताको मस्यौदासमेत बुझाइसकेको छ । यसले नेपालको वैदेशिक व्यापारलाई प्रतिस्पर्धी बनाउने विश्वास नेपाल उद्योग वाणिज्य महासंघ मधेश प्रदेशका पारवहन समिति संयोजक अशोककुमार टेमानीको छ । व्यापारमा पारवहनको लागत घटाउन बन्दरगाह छनोटको दायरा अझ फराकिलो पार्न कूटनीतिक पहलको खाँचो टेमानी औंल्याए ।

नेपालका व्यवसायीले अहिले भारतको कोलकाता, हल्दिया र विशखापत्तनम् बन्दरगाह उपयोग गर्दै आएका छन् । कोलकाता र हल्दियाको भौतिक सीमितता र विशाखापत्तनम् बन्दरगाहको बढी दूरीको विकल्प धाम्रा बन्दरगाह बन्न सक्छ । धाम्रा कोलकाताबाट ३ सय किलोमीटरको दूरीमा छ भने विशाखापत्तनम्भन्दा ४०० किलोमीटर नजिक पर्छ ।

बन्दरगाह र रेल पूर्वाधारमा काम गरिरहेको अडानी समूहले सञ्चालन गरेका धाम्रा र मुन्द्रा दुवै बन्दरगाह नेपालको समुद्रपार व्यापारको लागत घटाउन सहयोगी हुने आयातकर्ता बताउँछन् । नेपालको पश्चिमी नाकाबाट ढुवानीका लागि मुन्द्रा बन्दरगाह उपयुक्त हुने टेमानी बताउँछन् ।

धाम्रा बन्दरगाह नेपालका लागि तेस्रो मुलुकबाट आउने बल्क र कन्टेनर दुवै कार्गोका लागि अन्य बन्दरगाहको तुलनामा सहज हुने आयातकर्ताले बताएका छन् । केही वर्षयता धाम्रामा कन्टेनर कार्गो सञ्चालनको पूर्वाधारमा लगानी बढाइएको छ । यो बन्दरगाहले सन् २०२५ सम्ममा कन्टेनर र बल्क कार्गोका लागि ३५ ओटा बर्थ स्टेशन तयार गर्ने भएको छ ।

नहरमा आधारित कोलकाताको कमजोर पूर्वाधार र विशाखापत्तनम् बन्दरगाहको लामो दूरीको विकल्पका रूपमा धाम्रा बन्दरगाहलाई उपयोग गर्न सकिने उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका पूर्वसहसचिव रविशंकर सैंजू बताउँछन् । यो बन्दरगाह उपयोगमा आएपछि बल्क कार्गोेका लागि प्रयोग भइरहेको हल्दिया बन्दरगाहमा रेल अभावमा भोग्नुपरेको समस्या समाधान हुने आयातकर्तासमेत रहेका वीरगञ्ज उद्योग वाणिज्य संघका उपाध्यक्ष माधव राजपाल बताउँछन् । धाम्रा हल्दियाबाट १५० किलोमीटरमात्रै टाढा छ ।

समुद्री किनारमा रहेको धाम्रा र मुन्द्रामा पानीको गहिराइ कोलकाता, हल्दिया र विशाखापत्तनम्को तुलनामा बढी छ । बढी गहिराइका कारण यी बन्दरगाहमा ठूला पानीजहाज आउन सक्छन् । धाम्रामा पानीको न्यूनतम गहिराइ १८ मीटर छ । विशाखापत्तनम्मा भने यो १४ मीटर छ ।

नहरमा आधारित कोलकाता र हल्दियामा पानीको गहिराइ क्रमशः ६ र ८ मीटर छ । पानी कम भएकाले कोलकाता र हल्दियामा ठूला पानीजहाज आउन सक्दैनन् । यहाँ आउने कार्गो सिंगापुर वा कोलोम्बोमा ट्रान्ससिपमेन्ट गेरर फिडर भेसल्समा ल्याउँदा लागत बढी परेको आयातकर्ता बताउँछन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [1]
User Image

Arbind thakue

[Sep 4, 2022 09:28am]

Ramro



   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)