ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

राष्ट्रिय बीमा कम्पनीलाई  पूँजी पुर्‍याउन सकस, कसरी जुटाउला थप सवा २ अर्ब रुपैयाँ पूँजी ?

लाभांश वितरण क्षमता हुँदा हुँदै १६ वर्षदेखि बाँडिएको छैन लाभांश

२०७९ भदौ, २१  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar प्रजिता बुढाथोकी

काठमाडौं । मुलुकभित्र सञ्चालनमा रहेका निर्जीवन बीमा कम्पनीमध्ये राष्ट्रिय बीमा कम्पनीलाई नियामक बीमा समितिले तोकेको चुक्ता पूँजी कायम गर्न सकस हुने देखिएको छ । 

बीमा समितिको निर्देशनबमोजिम कम्पनीले आगामी चैत मसान्तभित्र २ अर्ब ५० करोड रुपैयाँ चुक्ता पूँजी कायम गर्नुपर्नेछ । हाल कम्पनीको चुक्ता पूँजी २६ करोड ६६ लाख ३९ हजार रुपैयाँ छ । उसलाई थप २ अर्ब २३ करोड ३३ लाख ६१ हजार रुपैयाँ पूँजी आवश्यक छ । 

यो सरकारी स्वामित्वको निर्जीवन बीमा कम्पनी हो । राष्ट्रिय बीमा संस्थानबाट अलग भएर २०७१ साउन १८ देखि निर्जीवन बीमा व्यवसाय गर्दै आएको कम्पनीले पछिल्लो आर्थिक वर्षको वित्तीय विवरण स्वीकृत गर्न नसक्दा लाभांश वितरण गर्न पाएको छैन । बीमा समितिले तोकेबमोजिमको पूँजी कायम गर्न अन्य निर्जीवन बीमा कम्पनीले आवश्यक योजना तय गरिसक्दा यस कम्पनीको योजना अन्योलमा छ । 

बीमा समितिले लाभांश वितरण गर्न नपाउने शर्तमा यस कम्पनीको आर्थिक वर्ष (आव) २०७२/७३ सम्मको वित्तीय विवरण स्वीकृत गरेको छ । 

बीमा समितिका प्रवक्ता राजुरमण पौडेल पछिल्ला आर्थिक वर्षको सम्पूर्ण वित्तीय विवरण स्वीकृत भएपछि मात्र कम्पनीलाई लाभांश वितरणको बाटो खुल्ने बताउँछन् । ‘सरकारी स्वामित्वको कम्पनी भनेर छूट हुने अवस्था छैन,’ उनले भने, ‘अरू कम्पनी जसरी नै सरकारी स्वामित्वको कम्पनीले पनि तोकिएको पूँजी कायम गर्नुपर्ने छ ।’ तोकिएको अवधिमा पूँजी कायम गर्न नसके कम्पनीलाई कारबाही हुने प्रवक्ता पौडेल बताउँछन् । सरकारी स्वामित्वका कम्पनी नै जिम्मेवारीबाट पछि हटे अरूलाई कसरी कार्यान्वयन गराउने भन्दै उनले सरकारसमेत यो विषयमा गम्भीर हुनुपर्ने बताए ।

कम्पनीका निमित्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुवास कोइरालाले नियामक निकाय बीमा समितिको निर्देशन अक्षरशः पालना गर्न कम्पनी तयार रहेको बताए । कम्पनीको स्वामित्व अर्थ मन्त्रालयसँग समेत जोडिएकाले पूँजी वृद्धिका लागि अर्थबाट राय प्राप्त भएपछि मात्र प्रक्रिया अघि बढाउने उनको भनाइ छ । कम्पनीले अर्थ मन्त्रालयसँग राय मागेको र हालसम्म केही प्रतिक्रिया प्राप्त नभएको कोइरालाले जानकारी दिए । 

लाभांश वितरणको क्षमता भएर पनि समयमै वित्तीय विवरण स्वीकृत गराउन नसक्दा बीमा समितिले तोकेको अवधिमा पूँजी पुर्‍याउन सकस हुने उनको प्रतिक्रिया छ । आव २०६२/६३ मा ११४ दशमलव १७ प्रतिशत बोनस शेयर र ६ प्रतिशत नगद लाभांश वितरण गरेको कम्पनीले त्यसपछि लाभांश वितरण गरेको छैन ।

२०७४ देखि बीमाक्षेत्रमा पूँजी वृद्धिको अभियान शुरू भएको हो । पहिलो चरणको अभियानमा बीमा समितिले जीवन बीमा कम्पनीलाई २ अर्ब र निर्जीवनका लागि १ अर्ब रुपैयाँ चुक्ता पूँजी कायम गर्न भनेको थियो । पहिलो चरणको अभियानदेखि नै राष्ट्रिय बीमा कम्पनी पूँजी वृद्धिमा पछि पर्दै आएको छ । 

कम्पनीका लगानीकर्ता डम्बरुवल्लव घिमिरे अब पनि कम्पनी पछि परे लगानीकर्ताको विश्वास गुम्ने बताउँछन् । यसअघि १२० प्रतिशत लाभांश पाउन वञ्चित भएका लगानीकर्तालाई आगामी दिनमा फेरि पनि निराश नबनाउन उनले आग्रह गरे । 

यो कम्पनीले आव २०६३/६४ देखि २०६७/६८ सम्मको मुनाफाबाट १२० प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको थियो । तर, यथार्थ वित्तीय विवरण नआएसम्म लाभांश वितरण गर्न नपाउने भन्दै बीमा समितिले प्रस्तावित लाभांश वितरणमा रोक लगाएको थियो । 

कम्पनीले २०७५ असोज १९ गते आव २०६३/६४ देखि २०६७/६८ सम्मको वार्षिक प्रतिवेदन पारित गर्दै ३०औं वार्षिक साधारणसभा सम्पन्न गरेको थियो । उक्त सभामा प्रस्तावित १२० प्रतिशत लाभांश वितरणको प्रस्ताव नल्याएको भन्दै लगानीकर्ता आक्रोशित भई सभा बिथोल्न खोजेका थिए । लगानीकर्तालाई सोही वर्ष लाभांश प्रस्तावसहित साधारणसभा बोलाउने आश्वासन दिएको कम्पनीले त्यसपछि साधारणसभा नै बोलाएको छैन ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)