ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

नयाँ अन्तरराष्ट्रिय विमानस्थल : नाफामा चल्न दशक बढी लाग्ने प्रक्षेपण

२०७९ भदौ, २२  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
पोखराको नवनिर्मित अन्तरराष्ट्रिय विमानस्थल
author avatar हिमा वि.क.

काठमाडौं । अर्बौं लगानीमा तयार भएका मुलुकका दुई अन्तरराष्ट्रिय विमानस्थलहरू नाफामा चल्न १० देखि १५ वर्ष लाग्ने प्रक्षेपण गरिएको छ । झन्डै सात दशकको पर्खाइपछि निर्माण सम्पन्न भई सञ्चालनको चरणमा रहेको तथा सञ्चालनमा आइसकेको विमानस्थलले नाफा कमाउन उक्त समय लाग्ने नेपाल नागरिक उड्डयन प्राधिकरणको प्रक्षेपण हो ।

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलपछि दोस्रो अन्तरराष्ट्रिय विमानस्थलको रूपमा भैरहवास्थित गौतमबुद्ध सञ्चालनमा आएको हो । पोखरा अन्तरराष्ट्रिय विमानस्थल आगामी पुस १७ (सन् २०२३ को जनवरी १) देखि सञ्चालन गर्ने गरी प्राधिकरणले तयारी गरेको छ । समानान्तर रूपमा सञ्चालनमा आउने यी विमानस्थलमा अर्बौं रुपैयाँ खर्च भएको छ । जग्गाको मुआब्जादेखि विमानस्थल निर्माणका साथै उपकरण खरीदमा उक्त खर्च भएको हो । यी परियोजना निर्माण शुरू भएदेखि नै व्यावसायिक योजना बनाएको प्राधिकरणको भनाइ छ ।

तर, बीचमा कोभिड–१९ महामारीले समयमै काम सम्पन्न हुन सकेन । जसले गर्दा यी विमानस्थल बनाउने म्याद दुई वर्षभन्दा बढी थपिएको थियो । ‘दुइटा विमानस्थलको निर्माण बिजनेश प्लान नै बनाएर अघि बढाइएको हो,’ प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले भने, ‘बीचमा कोभिड आयो । खोपका कारण संक्रमण विस्तारै कम भयो, तथापि यसको त्रास अझै कायम छ ।’

यी विमानस्थलमा आउने अन्तरराष्ट्रिय एयरलाइन्स नै भएकोले तिनीहरू आउन नेपाल सुरक्षित हुनुपर्ने उनले बताए । ‘केही वर्षमै नाफामा जाने भन्ने हुँदैन यसकारण पनि पोखराको विमानस्थल नाफामा चल्न १५ वर्ष लाग्छ । गौतमबुद्ध १० वर्षमै नाफामा जाने देखिन्छ,’ उनले भने, ‘हवाई यात्रुको संख्या वार्षिक रूपमा बढिरहेको छ । ‘अन्तरराष्ट्रियतर्फ वार्षिक १० प्रतिशतको वृद्धिदर देखिन्छ भने आन्तरिकतर्फ यो १५ देखि २० प्रतिशत छ । यात्रु बढ्दा थप एयरलाइन्स आउँछन् भन्ने प्रक्षेपण हो ।’

हवाई यात्रुको संख्यामा वृद्धि, लुम्बिनीमा बौद्ध धर्मावलम्बी आउने सम्भावना, श्रम बजारमा जाने यात्रुलक्षित उडानले छिट्टै नै गौतमबुद्ध नाफामा जान सक्ने उनको भनाइ छ । यस्तै पोखरा पर्यटकीय नगर, चिनियाँले नै बनाउनुका साथै नेपाल आउने चिनियाँ पर्यटकमध्ये ५० प्रतिशत पोखरा नै जाने गरेको र चिनियाँ एयरलाइन्स उक्त विमानस्थलमा उडान गर्न इच्छुक देखिएको हुँदा त्यहाँ पनि निकै सम्भावना रहेको निरौलाले बताए । अहिले पोखरामा रात्रिकालीन उडान हुँदैन । नयाँ विमानस्थल सञ्चालनमा आएपछि रात्रिकालीन उडान पनि गर्न सकिने भएकाले पोखरा पनि व्यस्तमध्येमा पर्ने उनको अनुमान छ । भारतीय, बंगलादेशी, भुटानी पर्यटकले पोखरालाई ‘वेडिङ डेस्टिनेशन’को रूपमा रूचाएको पाइन्छ ।

पोखरा अन्तरराष्ट्रिय विमानस्थल २०२३ जनवरी १ (आगामी पुस १७) देखि सञ्चालन गर्ने घोषणा प्राधिकरणले गरिसकेको छ । विमानस्थलको पूर्वतर्फ पर्ने डाँडाको ४० मीटर उचाइ काट्न प्राधिकरणले गत बिहीवार टेन्डर आह्वान गरिसकेको छ । टेन्डरको काम सकिन र प्रक्रियामा जान कात्तिकसम्म लाग्ने उसको भनाइ छ । क्यालिब्रेशन उडान गर्न भने सबै डाँडा काट्नु पर्दैन ।

४० मीटर काट्नुपर्ने डाँडालाई १४ मीटरसम्म कटान गर्दा पनि क्यालिब्रेशन उडान गर्न सकिने निरौला बताउँछन् । क्यालिब्रेशन उडान ३/४ दिनमै सकिनेछ भने चिनियाँ एयरलाइन्सले नै यस्तो उडान गर्नेछ । रिट्ठेपानी डाँडा कटान र ६०० रूख व्यवस्थापन गर्न वन विभाग र प्राधिकरणबीच असारमा समझदारी भइसकेको छ । सोहीअनुसार प्राधिकरणले टेन्डर आह्वान गरेको हो ।

गौतमबुद्धमा जजिरापछि विज आउँदै, पोखरामा पनि चासो
गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलबाट अहिले कुवेतको जजिरा एयरलाइन्सले सातामा ३ उडान गरिरहेको छ । जजिराले भदौ ३१ देखि दैनिक उडान गर्ने तालिका पाएको छ । उक्त विमानस्थलमा पहिलो अन्तरराष्ट्रिय उडान गरेको जजिराले नै सातै दिन उडान गर्ने प्राधिकरणले जानकारी दिएको छ । हंगेरीको विज एयरले पनि गौतमबुद्धमा अनुमति पाएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले विजले कात्तिक १३ देखि सातामा ३ दिन उडान गर्ने जानकारी दिए ।

गौतमबुद्धमै एयर अरेबियाले पनि छिट्टै उडान गर्ने चासो देखाएको छ । पुस १७ देखि सञ्चालनमा आउने भनिएको पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा पनि उडान गर्न चिनियाँ, भारतीय र भुटानी एयरलाइन्सले चासो देखाएको प्राधिकरणले जानकारी दिएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)