ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

वीरगञ्जमा ६५० बिघा जग्गामा नयाँ औद्योगिक क्षेत्र निर्माणको तयारी, छिटो अध्ययन गर्न निजीक्षेत्रको आग्रह

२०७९ भदौ, २२  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ओमप्रकाश खनाल

वीरगञ्ज । बारा–पर्सा औद्योगिक कोरिडोरमा नयाँ उद्योगका लागि जग्गा प्राप्त गर्न कठिन हुँदै गएको बेला वीरगञ्जमा नयाँ औद्योगिक क्षेत्र निर्माणका लागि सम्भाव्यता अध्ययन गरिने भएको छ । वीरगञ्ज उद्योग वाणिज्य संघले औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडलाई पत्र लेखेर सम्भाव्यता अध्ययनको कामलाई गति दिन आग्रह गरेको हो । 

बारा–पर्साका उद्योगीको आग्रहमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले यस क्षेत्रमा नयाँ औद्योगिक क्षेत्र निर्माणको प्रक्रिया अघि बढाएको हो । औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले संघलाई सम्भाव्यता अध्ययनका लागि सहजीकरण गरिदिन आग्रह गरेको थियो । जवाफमा औद्योगिक क्षेत्र निर्माण प्रक्रियाका लागि सबै खालको सहकार्य र सहजीकरणका लागि आफूहरू तत्पर रहेको कम्पनीलाई जानकारी गराएको संघका उपाध्यक्ष एवम् उद्योग समिति संयोजक हरि गौतमले बताए । संघले पत्रमार्फत सम्भाव्यता अध्ययनको काम चाँडो अगाडि बढाउन आग्रह पनि गरेको छ ।

वीरगञ्ज महानगरपालिकाको वडा नम्बर ३१ स्थित गुठी संस्थानको स्वामित्वमा रहेको ६५० बिघा जग्गामा औद्योगिक क्षेत्र स्थापनाका लागि अध्ययन गर्न लागिएको हो । अध्ययनका लागि बनाइने कार्यदलमा गुठी संस्थान, वीरगञ्ज महानगरपालिका, मालपोत, भूमिसुधार, नापीलगायतका निकायको सहभागिता रहनेछ । 

कार्यदलको प्रतिवेदनका आधारमा मन्त्रिपरिषद्बाट निर्णय भएपछि औद्योगिक क्षेत्र निर्माण अघि बढ्नेछ । मन्त्रालयले गत वैशाख १५ मै विस्तृत सम्भाव्यता अध्ययन गर्न निर्देशन दिएको थियो । बारा–पर्सा कोरिडोरमा जग्गाको आकाशिँदो मूल्य, उद्योग र स्थानीयबीच बढ्दो द्वन्द्व, ढल तथा पानी निकासमा समस्यालगायत कारणले स्थानीय उद्योगीले नयाँ औद्योगिक क्षेत्रको माग गरेका हुन् । वीरगञ्ज मधेशकै सबैभन्दा ठूलो औद्योगिक कोरिडोर भएकाले यहाँ औद्योगिक क्षेत्र अति आवश्यक भएको संघको भनाइ छ । 

सबैभन्दा ठूलो नाका, औद्योगिकीकरण तथा व्यापार सहजीकरणका पूर्वाधारहरू उपलब्ध हुनु, वीरगञ्ज क्षेत्र देशको मध्यभागमा रहनुजस्ता कारणले यहाँ औद्योगिक क्षेत्रको सान्दर्भिकता बढेको संयोजक गौतमले बताए । ‘तराई–काठमाडौं द्रुतमार्ग निर्माण भइसकेपछि यो क्षेत्रमा सम्भावना अझ बढ्ने निश्चित छ,’ गौतमले भने ।  

नयाँ औद्योगिक क्षेत्रमा ढल निकास तथा फोहोर पानी प्रशोधन, बाटोघाटो, बैंक, औद्योगिक सुरक्षा बल, विद्युत् आपूर्तिलगायतको एकीकृत व्यवस्था हुनुपर्ने माग निजीक्षेत्रको छ । वीरगञ्ज महानगरले संस्थानसँग सो जग्गा भाडामा लिएर औद्योगिक क्षेत्र स्थापना गर्ने निर्णय यसअघि नै गरिसकेको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)