ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

कवाडी करमा महानगरका ठेकेदारको मनपरी, आयातित कच्चा पदार्थमा पनि कर उठाउँदै

२०७९ भदौ, २३  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ओमप्रकाश खनाल

वीरगञ्ज । वीरगञ्ज महानगरका ठेकेदारले कवाडी करमा मनपरी मच्चाएका छन् । महानगरले चालू आर्थिक वर्ष (आव) २०७९/८० का लागि कवाडी कर उठाउने ठेक्का दिएको मेदान्त कन्स्ट्रक्सनले सम्झौताविपरीत कर उठाएको भेटिएको हो । 

महानगरको ठेकेदारले तोकिएका वस्तुभन्दा बाहिर गएर जबर्जस्ती कर उठाइरहेको छ । कवाडी करको ठेक्का लिएको ठेकेदारले भारतबाट आयातित औद्योगिक कच्चा पदार्थमा समेत जबर्जस्ती कर असुलेको छ ।

भारतबाट नेपालको आईसीपी भन्सार हुँदै भित्रिएको कोइलामा कवाडी कर लिएको फेला परेको हो । कर संकलन केन्द्रमा खटिएका ठेकेदारका कर्मचारीले भन्सारबाट निस्किएको भारतीय नम्बरको ट्रकलाई रोकेर प्रतिट्रक २०० भारू लिएको व्यवसायीले बताए । यही भदौ १७ गते आईसीपी भन्सारबाट कोइला जाँचपास गराएर नेपाल छिरेको जेएज १० बी ए ३२७४ नम्बरको ट्रकका चालकसँग स्थानीय बहुअरी चोकमा यस्तो अनधिकृत रकम लिइएको हो ।

रसिदमा नियमतः नेपाली रुपैयाँ उल्लेख हुने भए पनि ठेकेदारका कर्मचारीले यस्तो रकम भारुमा असुल्ने गरेको चालकले गुनासो गरेका छन् । वीरगञ्ज भन्सारबाट दैनिक निस्किएका सयौं गाडीसँग यसरी अनियमित रूपमा रकम लिने गरेको हो । 

कर्मचारीले कर रसिदमा ट्रकको पूरा नम्बरसमेत उल्लेख गर्दैनन् । उक्त दिन भित्रिएको ट्रकको नम्बरसमेत ३२७४ मात्र लेखिएको छ । यस्ता ट्रकले ‘दादागिरी’ कर तिर्नुपरेको गुनासो आयातकर्ताको छ । 

पैसा असुल्न सडकमा खटाइएका ठेकेदारका कर्मचारीले जबर्जस्ती रकम असुल्ने र प्रतिवाद गरेमा चालकलाई हातपातमै उत्रिने गरेको आयातकर्ताले बताए । महानगरले वीरगञ्जका १३ स्थानमा कर संकलन स्थल तोकेर ठेकेदार खटाएको छ । 

महानगर क्षेत्रभित्र उत्पत्ति, संकलन तथा व्यावसायिक उपयोग, कारोबार हुने जडीबुटी, कवाडी तथा जीवजन्तु कर र सिमेन्टको विक्रीमा शुल्क उठाउन ठेक्का दिएको छ । ठेकेदारले ठेक्काको शर्त मिचेर आयातित औद्योगिक कच्चापदार्थ, सहायक कच्चापदार्थ र महानगर क्षेत्रभन्दा बाहिर उत्पादन भएको सिमेन्टमा समेत कर लिएको भेटिएको छ ।

वीरगञ्ज महानगर राजस्व प्रशासनका प्रमुख मनोज कर्ण ठेकेदारले आयातित कच्चा पदार्थमा कवाडी कर लिन नपाउने बताउँछन् । नियमविपरीत कर लिएको प्रमाणित भए ठेक्का रद्द गरिने पनि उनले स्पष्ट पारे । 

तर, ठेकेदारको मनपरीबारे महानगरको नेतृत्वलाई पटकपटक जानकारी दिए पनि सुनुवाइ नभएको वीरगञ्ज उद्योग वाणिज्य संघका एक पदाधिकारीले बताए । 

हालै बारा जिल्लाको एक सिमेन्ट उद्योगले वीरगञ्ज पठाएको सिमेन्टमा स्थानीय गण्डकमा प्रतिबोरा १ रुपैयाँको दरले कर असुलेको थियो । उद्योग व्यवस्थापनले प्रतिवाद गरेपछि त्यो उद्योगको उत्पादनमा कर नलिन ठेकेदार सहमत भएको छ । स्थानीय स्रोत उपयोग गरी उत्पादन भएको वस्तुमा शुल्क लिन सकिने भए पनि महानगरले स्थानीय स्रोत उपयोग नगरी उत्पादित सिमेन्टमा शुल्क लिइरहेको छ । यो आफैमा गैरकानूनी काम भएको उद्यमीहरूको तर्क छ ।

महानगरले कवाडी करको ठेक्का सञ्जयकुमार गुप्ता सञ्चालक रहेको कम्पनीलाई दिए पनि ठेक्काको हर्ताकर्ता वीरगञ्ज नगवाका अयुब नाम गरेका व्यक्ति हुन् । उनीसँग करमा मनपरी भएकोबारे सोध्दा कर उठाउन खटिएका कर्मचारीले बदमासी गरेको हुन सक्ने बताए । उनले त्यस्ता कर्मचारीलाई हटाउने पनि बताए ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)