ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

गरिबले खाने चामल निर्यातमा भारतले लगायो प्रतिबन्ध, अन्य चामल निर्यातमा २० % शुल्क

२०७९ भदौ, २४  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar रमा सुवेदी

नयाँ दिल्ली (भारत) । भारतले टुक्रिएको चामल अर्थात् कनिका चामलको निर्यातमा रोक लगाएको छ । यो चामल अफ्रिकी मुलुकमा खाानको लागि प्रयोग हुन्छ । तर नेपालमा भने दाना उद्योग र रक्सी उद्योगमा खपत हुने गर्छ ।

यो सिजनमा धान उत्पादन हुने केही राज्यमा चरम सुख्खाका कारण धान बाली प्रभावित भएको छ । धान खेतीको क्षेत्रफल घटेको छ । उत्पादन घटेर घरेलुस्तरमा आपूर्ति कसिलो हुने हो कि भन्ने चिन्ताबीच कनिका चामलको भाउ दोब्बर बने पछि सरकारले टुक्रा चामलको निर्यात रोकेको हो । अर्कोतिर गैर–बासमति चालमको निर्यातमा पनि २० प्रतिशत शुल्क लगाएको छ । भारतले आन्तरिक आपूर्ति सहज बनाउन निर्यात शुल्क वृद्धि र कनिका चामलको निर्यातमा पूर्ण प्रतिबन्ध लगाएको बुझिएको छ ।

यो प्रतिबन्ध लागू हुनु अघि ढुवानी भइसकेका वा ढुवानी महसुल तिरिसकेका वा ढुवानीका लागि जहाजहरू भारतीय बन्दरगाहमा आएर बसिसकेका, रोटेशन नम्बर जारी भइसकेका वा भन्सारमा कन्साइन्मेन्ट बुझाइसकेको अवस्थाको ढुवानीलाई भने सेप्टेम्बर १५ सम्म निर्यातको अनुमति दिइएको छ । 

भारतको पछिल्लो कदमको सोझै प्रभाव नेपालमा पर्दछ । नेपालले भारतबाट वार्षिक ७/८ अर्ब रुपैयाँ बढीको चामल आयात गर्दै आएको छ । त्यसमध्ये अहिले निर्यात प्रतिबन्ध लगाएको कनिका चामलको हिस्सा र निर्यात शुल्क बढाइएको चामलको हिस्सा कुनै वर्ष आधा आधा र कुनै वर्ष ६०/४० रहेको भन्सार विभागको तथ्याङ्कमा देखिन्छ ।

गत आर्थिक वर्षमा नेपालले विदेशबाट २९ अर्ब ४ करोड ५७ लाख रुपैयाँ बराबरको कुल ५२ करोड ८३ लाख ७५ हजार केजी मूल्य बराबरको गैर–बासमति चामल आयात गरेको छ । यो मध्ये भारतबाट मात्रै २८ अर्ब ८५ करोड ८४ लाख रुपैयाँ बढीका ५२ करोड ५९ लाख ७७ हजार केजी गैर–बासमति चामल आयात भएको छ । अब यो चामल आयात गर्दा २० प्रतिशत अतिरिक्त शुल्क तिर्दा नेपालीको भान्सा थप प्रभावित हुने छ ।

नेपालले कनिका चामलको आयात भने डेढ अर्ब रुपैयाँको गरेको छ । १ अर्ब ५३ करोड ६४ लाख ९१ हजार रुपैयाँ बराबरको ५ करोड ३ लाख ८५ हजार ८९३ केजी टुक्रे चामल आयात भएको छ । जुन अधिकांस कुखुराको दाना र रक्सी उद्योगमा खपत हुने गरेको छ ।

भारतमा पनि पर्याप्त वर्षा नहुँदा ५ प्रतिशत खेत बाँझै

यस वर्ष भारतमा धान खेति गरिएको क्षेत्रफल गत  वर्षको भन्दा कम हुन सक्ने अनुमान गरिएको छ । यसले धानको उपज र बजारमा धान तथा चामलको भाउ वृद्धिलाई समेत प्रभावित पार्न सक्ने अनुमान गरिएको छ । केही राज्यमा वर्षा न्यून हुँदा खेतिपातीको यो सिजनको अहिलेसम्मको अवधिमा धान खेति गरिएको जग्गा गत वर्षको तुलनामा ५ दशमलव ६२ प्रतिशतले घटेर ३ करोड ८३ लाख ९९ हजार हेक्टर आसपास आएको हुन सक्ने कृषि मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो तथ्यांकले देखाएको छ । 

सुख्खाका कारण यो वर्ष भारतमा धानको उत्पादन ७० देखि ८० लाख टनले घट्न सक्ने खाद्य सचिव सुधान्शु पान्डेको अनुमान छ। अवस्था निकै खराब रहयो भने उत्पादन १ करोड २० लाख टनसम्म कम हुने सक्ने उनको भनाइ छ । भारत चीनपछि विश्वको दोस्रो ठूलो धान उत्पादक देश हो । विश्वको चामल व्यापारमा यसको हिस्सा ४० प्रतिशत छ । आर्थिक वर्ष २०२१/२२ मा भारतले कुल २ करोड १२ लाख टन चामल निर्यात गरेको थियो ।

यीमध्ये ३९ लाख ४० हजार टन बासमति चामल थियो । सो अवधिमा त्यहाँबाटट ६ अर्ब ११ करोड डलर बराबरको गैर–बासमति चामल निर्यात भएको सरकारी तथ्यांकले देखाएको छ । गत आवमा भारतले १५० भन्दा धेरै देशमा गैर–बासमति चामल निर्यात गरेको थियो ।  नयाँ महसुल सेतो र खैरो चामलमा लाग्नेछ । भारतले निर्यात गर्ने कूल चामलमा यी चामलको अनुपात ६० प्रतिशतभन्दा धेरै छ । 

स्थानीय स्तरमा आपूर्ति सुनिश्चित गर्न पछिल्लो समय विश्वभर देशहरुले कयौं खाद्य वस्तुको निर्यातमा रोक लगाइरहेका छन् । भारतले नयाँ शुल्क लगाएपछि सीमापारबाट आउने क्रेताका लागि भारतीय चामल महँगो बनेको छ । यसले गर्दा क्रेताहरु थाइल्यान्ड र भियतनाम लगायत अन्य देशहरुतर्फ लाग्ने देखिन्छ । तर यस अघि नै यी देशलाई चामलको ढुवानी बढाउन सकस थियो ।

सन २०२१ मा भारतले २ करोड १५ लाख टन चामल बेचेको थियो । यो विश्वका अन्य चार ठूलो चामल निर्यातकर्ताहरु थाइल्यान्ड, भियतनाम, पाकिस्तान र अमेरिकाको कूल निर्यातभन्दा धेरै थियो । भारतको चामल विश्वमै सस्तोमध्ये पर्दछ । भारतको टुक्रा चामलको सबैभन्दा ठूलो बजार चीन हो । गत वर्ष चीनले भारतसँग ११ टन टुक्रे चामल किनेको थियो ।

सेनेगल र जिबुटी लगायत अफ्रिकी देशहरुले पनि मानव खपतको लागि भारतसँग टुक्रा चामल किन्दै आएका छन् । मेको शुरुमा केन्द्र सरकारले स्थानीय स्तरमा खाद्य सुरक्षाको जोखिम टार्न गहुँको निर्यातमा रोक लगाएको थियो । केही समय अघि मैदा, सुजी, होलमिल आटा र रिसल्टेन्ट आटा लगायत गहुँबाट बनेका अन्य उत्पादनको निर्यातमा समेत रोक लगाइएको छ । युक्रेनमा रुसले हमला गरेयता विश्वमा आपूर्ति घटेर गहुँको मात्रै होइन मकै, भट्मास लगायत अन्य मुख्य अन्नको भाउ समेत बढेको छ । युक्रेन र रुस विश्वको शीर्ष गहुँ आपूर्तिकर्ता हुन् । एजेन्सीको सहयोगमा 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)