ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

भारतलेको नीतिले नेपाली उद्योग प्रभावित, नेपाल निकासी हुने धान चामलमा शुल्क नलगाउन निजीक्षेत्रको आग्रह 

२०७९ भदौ, २६  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
फाइल फोटो
author avatar ओमप्रकाश खनाल

भदौ २६,वीरगञ्ज । भारतले धान र चामल निकासीमा लगाएको शुल्क र कनिका निर्यात प्रतिबन्धले नेपालको उद्यम व्यापारदेखि आम मानिसको भान्छासम्म प्रभावित हुने दाबी निजीक्षेत्रले गरेको छ । भारतले लिएको नीति कम्तीमा नेपालका लागि लागू नगर्न स्वदेशी उद्यमीले आग्रह गरेका छन् । 

उद्योगी व्यापारीले यसका लागि भारत सरकारसँग तत्काल प्रभावकारी पहल गर्न नेपाल सरकारको ध्यानाकर्षण गराएका छन् । चामल उत्पादन र आयातको केन्द्र मानिएको बरा–पर्साका उद्योगी व्यापारीले यस्तो आग्रह गरेका हुन् । 

भारतको अर्थ मन्त्रालयअन्तर्गतको राजस्व विभागले गत बिहीवार एक सूचना निकालेर धान र चामलको निर्यातमा २० प्रतिशत शुल्क तोकेको छ । कनिका निकासीमा भने प्रतिबन्ध नै लगाएको छ । लगत्तै शुक्रवार बारा र पर्साका उद्योगपति व्यापारीको प्रतिनिधिमूलक संस्था वीरगञ्ज उद्योग वाणिज्य संघले पत्रकार सम्मेलन गरी भारतीय नीतिले नेपालमा पर्ने समस्याको तत्काल निकास खोज्न सरकारको ध्यानाकर्षण गरायो । 

‘केही समयअघि गहुँ निर्यातमा प्रतिबन्ध लगाएको थियो । अहिले धान र चामल निर्यातमा २० प्रतिशत निकासी शुल्क लगाएको छ । कनिकाको निकासी त प्रतिबन्धित नै भयो । यसले नेपाली खाद्यान्न उद्योग नराम्ररी प्रभावित हुनेछन्,’ संघका अध्यक्ष सुबोधकुमार गुप्ताले भने । भारतले समयसमयमा गर्ने नीतिगत हेरफेरबाट नेपाली उद्योगी व्यवसायी र आम जनता प्रभावित हुने गरेको उनले बताए । 

गत आर्थिक वर्ष २०७८/७९ मा मात्रै भारतबाट ५ लाख २० हजार टन चामल र साढे ५ लाख टन धान आयात भएको संघले बताएको छ । सोही अवधिमा ५० हजार टन कनिका आयात भएको थियो । भारतले निकासी नियन्त्रणको अभिप्रायले लगाएको शुल्कका कारण अब धान, चामल र कनिकाको मूल्य वृद्धि हुने उद्यमीले बताएका छन् । कनिकाको आयात महँगो भएपछि मदिरा उद्योग समस्यामा पर्ने संघको भनाइ छ । ‘भट्टीमा आधारित उद्योगले भुस आयात गर्छन् । यस्ता उद्योगमा समेत नकारात्मक प्रभाव पर्ने देखिन्छ,’ गुप्ताले भने । 

धान, चामल, गहुँलगायत खाद्यान्नमा भारतमाथिको निर्भरता बढिरहेको अवस्थामा भारतको यो नीतिले नेपालमा यस्ता वस्तुको मूल्य आकाशिने दाबी उद्यमीले गरेका छन् । 
भारतको पछिल्लो नीतिले चामलको मूल्य ह्वात्तै बढ्ने चामल आयातकर्ता सगरमाथा एग्रो ट्रेडिङका सञ्चालक श्यामसुन्दर रुंगटाको दाबी छ । 

भारतले निकासीमा लगाएको शुल्क कम्तीमा नेपालका लागि हटाउन आग्रह गरिनुपर्ने रुंगटाको आग्रह छ । त्यो सम्भव नभए सरकारले आयातमा लिने भन्सार महसुल केही समयका लागि हटाएरै भए पनि उपभोक्तालाई राहत दिनुपर्ने रुंगटाले सुझाए । 

भारत विश्वकै सबैभन्दा सस्तो धान चामल उत्पादक भएकाले यो नीतिले भारतीय क्षेत्रबाट धान चामलको अवैध ओसारपसार तीव्र हुने चिन्ता अध्यक्ष गुप्ताको छ । यसबाट सरकारको राजस्वसमेत गुम्ने उनले बताए । 

नेपालमा सञ्चालित सानाठूला गरी करीब २ हजार ५०० चामल उद्योग बन्द हुने र उपभोक्ताले महँगीको भारी बोक्नुपर्ने उद्यमीले बताए । ‘सरकारले भारतलाई कम्तीमा नेपालका लागि सो नीति लागू नगर्न आग्रह गर्नुपर्छ,’ गुप्ता भन्छन् ।


 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)