ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

नयाँ स्टक एक्सचेन्ज र  ब्रोकर लाइसेन्स यसै साताभित्र, नयाँ स्टकको ३० % शेयर सर्वसाधारणले पाउने

२०७९ भदौ, २८  
बजार समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar प्रजिता बुढाथोकी

भदौ २८, काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले नयाँ स्टक एक्सचेन्ज र धितोपत्र दलाल व्यवसायी (ब्रोकर) लाइसेन्स यसै साताभित्र खुला गर्ने भएको छ । बोर्डका अध्यक्ष रमेशकुमार हमालले यसै साताभित्र नयाँ स्टक एक्सचेन्ज र नयाँ ब्रोकर लाइसेन्सका लागि आवेदन माग गर्ने जानकारी दिएका हुन् । 

उनका अनुसार नयाँ स्टक एक्सचेन्जका लागि ३ अर्ब रुफैयाँ चुक्ता पूँजी कायम गरिएको छ । नयाँ ब्रोकरका लागि न्यूनतम २० करोडदेखि अधिकतम १ अर्ब ५० करोड रुफैयाँसम्म पूँजी तोकिएको छ । ब्रोकरहरूले पूँजीको आधारमा तीन प्रकारको लाइसेन्स पाउने अध्यक्ष हमालको भनाइ छ । 

बोर्डले प्रस्ताव गरेको ब्रोकरको पूँजी संशोधन भई १५ करोडदेखि १ अर्ब रुफैयाँ कायम भएको भन्ने विभिन्न सञ्चारमाध्यममा आएको समाचारमा भने सत्य नभएको उनले स्पष्ट पारे । बोर्डले प्रस्ताव गरेको पूँजीको आधारमै नयाँ ब्रोकर लाइसेन्स वितरण गर्न सरकारले सहमति दिएको हमालले बताए । 

बोर्डले सीमित दायराको पहिलो तहको ब्रोकरका लागि २० करोड, शेयर खरीद विक्रीसँगै डीपीका रूपमा काम गर्ने लगानी परामर्श सेवा एवं लगानी व्यवस्थापन गर्ने र मार्जिन कारोबार सेवासमेत दिने पूर्ण दायरासहितको दोस्रो तहको ब्रोकरको चुक्ता पूँजी ६० करोड र तेस्रो तह स्टक डिलरका लागि १ अर्ब ५० करोड रुफैयाँ चुक्ता पूँजी हुने गरी नियमावली संशोधन गरेको थियो । 

बोर्डले प्रस्ताव गरेको हरेक वर्ष ब्रोकर लाइसेन्सको आवेदन खोल्ने विषय भने परिवर्तन भएको हमालले जानकारी दिए । बोर्डले हरेक ३ वर्षमा ब्रोकर लाइसेन्स वितरण गर्ने गरी नियमावली संशोधन भई पारित भएर आएको छ । ‘अब तोकिएको मापदण्ड पूरा गर्ने जो कोहीले लाइसेन्स पाउनेछन्,’ उनले भने, ‘नयाँ लाइसेन्स वितरणपश्चात् बजारसँग सम्बद्ध सबै सरोकारवालालाई अवसर सृजना हुन्छ ।’

नयाँ स्टक एक्सचेन्जलाई लाइसेन्स दिने नियमावलीले सर्वसाधारणलाई उक्त स्टकको ९० करोड रुफैयाँ बराबरको शेयर पाउने व्यवस्था गरेको हमालले बताए । ३ अर्ब रुफैयाँ पूँजीमा नयाँ स्टकले ७० प्रतिशत संस्थापकतर्फ र ३० प्रतिशत सर्वसाधारणतर्फ स्वामित्व कायम गर्नुपर्ने गरी संशोधित नियमावली पारित भएको छ । वैदेशिक रोजगारीमा रहेका नेपालीलाई प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) मा १० प्रतिशत आरक्षणको व्यवस्था पनि यसै सातादेखि लागू गर्ने तयारी बोर्डले गरेको छ ।

लगानीकर्ता संघहरूले धेरै वर्षदेखिको लगानीकर्ताको माग र बजारको आवश्यकतालाई बोर्डले सम्बोधन गर्न लागेको भन्दै धन्यवाद दिएका छन् ।

नेपाल इन्भेस्टर्स फोरमका अध्यक्ष तुलसीराम ढकाल, शेयर लगानीकर्ता संघ नेपालका कार्यवाहक अध्यक्ष ताराप्रसाद फुल्लेल र नेपाल पूँजीबजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेलले संयुक्त विज्ञप्ति जारी गर्दै नयाँ स्टक र ब्रोकर लाइसेन्स वितरण बजार विकासका लागि कोसेढुंगा साबित हुने बताए । बजार विकासका लागि पछिल्लो समय भएका कामको नेतृत्व लिने नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालको तीनओटै संघले प्रशंसा गरेका छन् ।

नेप्सेलाई पूँजी सीमा लागू नहुने

नयाँ स्टक एक्सचेन्जका लागि तोकिएको ३ अर्ब रुफैयाँ बराबरको चुक्ता पूँजी हाल सञ्चालनमा रहेको स्टक एक्सचेन्जलाई लागू नहुने भएको छ । बोर्डले सोमवार सार्वजनिक गरेको धितोपत्र बजार सञ्चालन नियमावली, २०७९ (दोस्रो संशोधन)मा उक्त कुरा उल्लेख छ । नयाँ स्टक एक्सचेन्जले भने कारोबार सञ्चालन गरेको २ वर्षभित्र जारी पूँजीको कम्तीमा ३० प्रतिशत शेयर सर्वसाधारणमा प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) गर्नुपर्ने व्यवस्था संशोधित नियमावलीमा छ । 

सर्वसाधारणमा आईपीओ जारी गर्नुपर्ने व्यवस्था पनि हाल सञ्चालनमा रहेको नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) लाई लागू नहुने नियमावलीमा उल्लेख छ । नयाँ स्टक एक्सचेन्जमा कानूनबमोजिम स्थापना भएको प्राइभेट कम्पनी वा संगठित संस्थाले मात्र संस्थापक शेयर ग्रहण गर्न पाउने व्यवस्था गरिएको छ । कुनै एक कम्पनी वा संगठित संस्था वा त्यस्ता संस्थाको सञ्चालक वा शेयरधनी र निजको नजीकको नातेदार रहेका कम्पनीले कुल शेयर पूँजीको १५ प्रतिशतभन्दा बढी शेयर ग्रहण गर्न नपाउने व्यवस्थासमेत संशोधित नियमावलीमा छ ।

नयाँ स्टक एक्सचेन्जले कारोबारका लागि आवश्यक कारोबार प्रणाली र त्यससँग सम्बद्ध अन्य प्रविधिका सम्बन्धमा अन्तरराष्ट्रिय स्तरको ख्यातिप्राप्त धितोपत्र बजारसँग आवश्यक सहकार्य र प्राविधिक सहयोग लिन सक्ने व्यवस्था गरिएको छ । नेपाल सरकारको सहमतिविना कारोबार प्रणाली सर्भर, डाटा होस्टिङ विदेशमा राख्न नपाइने नियमावलीमा उल्लेख छ । 
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)