ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

इन्धन आयात परिमाण घट्याे, लागत भने बढ्यो

२०७९ भदौ, ३०  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ओमप्रकाश खनाल

वीरगञ्ज । मोतीहारी–अमलेखगञ्ज पेट्रोलियम पाइप लाइनबाट जोडिएको वीरगञ्ज इन्धन आयात हुने मुख्य नाका हो । यहाँबाट चालू आर्थिक वर्ष (आव) २०७९/८० को पहिलो महीनामा पेट्रोलियम पदार्थको आयात घटेको छ । 

खपतका आधारमा मुख्य मानिएका इन्धनको आयात परिमाण घटे पनि त्यसका लागि खर्च भने बढेको भन्सारको तथ्यांकले देखाएको छ । अन्तरराष्ट्रिय बजारमा तेलको भाउ उकालो लागेपछि आयात घटे पनि खर्च बढेको हो । 

चालू आवको पहिलो महीना साउनमा वीरगञ्ज नाकाबाट मात्रै पेट्रोलियम पदार्थ आयातका लागि १६ अर्ब ६० करोड रूपैयाँ बाहिरिएको छ । यो मूल्य गत आव २०७८/७९ को सोही अवधिमा ११ अर्ब ४० करोड रूपैयाँ मात्रै थियो । गत वर्षको पहिलो महीनाको तुलनामा अहिले पेट्रोलियम पदार्थका लागि ४५ प्रतिशत बढी रकम बाहिरिएको छ । चालू आवमा बढी खपत हुने डिजेल र पेट्रोलको आयात परिमाण कम देखिन्छ । वीरगञ्ज भन्सारको तथ्यांकअनुसार गत साउनमा ५० हजार १२५ किलोलिटर (केएल) डिजेलका लागि ६ अर्ब ८७ करोड रुपैयाँ खर्च भएको छ । अघिल्लो आवको साउनमा ६९ हजार १८० केल डिजल भित्र्याउन ४ अर्ब ८१ करोड रुपैयाँ लागेको थियो । 

त्यस्तै यस वर्ष ३१ हजार ६२० केएल पेट्रोलका लागि ३ अर्ब ६९ करोड रूपैयाँ बाहिरिएको छ । गत वर्षको पहिलो महीनामा २ अर्ब ४३ करोड रूपैयाँमा ३२ हजार ४६८ केएल पेट्रोल आयात भएको थियो । 

सिमेन्ट उद्योगको सहायक कच्चा पदार्थ कोइला आयात पनि निकै घटेको छ । तर, यसका लागि तिरिएको मूल्य भने ह्वात्तै बढेको देखिन्छ । 

गत वर्ष साउनमा ५ करोड ३६ लाख किलो कोइलाका लागि आयातकर्ताले ७७ करोड रूपैयाँ तिरेका छन् । यो वर्ष ४ करोड ४६ लाख किलो कोइला भित्र्याउँदा १ अर्ब २३ करोड रूपैयाँ बाहिरिएको छ । 

एलपी ग्यासको आयात झिनो परिमाणले बढेको छ । यस वर्ष साउनमा २ करोड २६ लाख ४३ हजार किलो यस्तो ग्यास आयात भएकोमा गत वर्षको सोही अवधिमा यो २ करोड २३ लाख १९ हजार किलो थियो । 

यो वर्षको पहिलो १ महीनामा ग्यास आयातका लागि २ अर्ब ९१ करोड रूपैयाँ खर्च भएको छ । अघिल्लो वर्ष यो रकम २ अर्ब १० करोड रूपैयाँ थियो । 

गत वर्षको साउनमा ५ हजार ७५४ केएल हवाई इन्धनका लागि ३८ करोड रूपैयाँ लागेकोमा यो वर्षको समीक्षा अवधिमा ८ हजार ५३२ केएल यस्तो इन्धनका लागि १ अर्ब १२ करोड रूपैयाँ गएको भन्सारको तथ्यांकले बताउँछ । 

गत वर्ष फर्नेस आयल, लुब्रिकेन्ट मोबिल, प्रशोधित कोइला, ट्रान्सफर्मर आयल, बेस आयल, अलकत्रा बिटुमिन, मट्टीतेललगायत २० प्रकारका पेट्रोलियम उत्पादन आयात भएको भन्सारले बताएको छ । 

व्यवसायीको आन्दोलन फिर्ता 

नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघले विरोधका कार्यक्रम फिर्ता लिएको छ । बुधवार उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडू, नेपाल आयल निगमका कार्यकारी निर्देशक उमेश थानी र महासंघका पदाधिकारीहरूबीच भएको छलफलमा ढुवानी भाडा समायोजनको विषय सम्बोधन गर्ने सहमति भएपछि व्यवसायीले आन्दोलन फिर्ता लिएका हुन् । 

असोज ७ गतेभित्रमा व्यवसायीको माग सम्बोधन गरिसक्ने सहमति गरिएको छ । उक्त सहमतिपछि इन्धन आपूर्ति सहज गर्न ढुवानी सुचारु गर्ने महासंघका अध्यक्ष खगेश्वर बोहरा र निगमका निर्देशक वीरेन्द्र गोइतले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)