ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

खसी बजारमा बालेनले डोजर चलाउने डर : खसी बोका लिनै गएनन् व्यवसायी, 'यो दशैं कुभिन्डोसँग !'

२०७९ असोज, ४  
समाचार उपभोक्ता
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar गणेश सुवेदी

काठमाडौं । नेपालीहरूको सबैभन्दा ठूलो चाँड दशैं शुरू हुन अब ६ दिन मात्रै बाँकी छ । अर्थात घटस्थापाना शुरू हुन ६ दिनभन्दा कम समय मात्रै बाँकी छ ।

काठमाडौं उपत्यकामा खाद्य व्यवस्था तथा व्यापार कम्पनीले घटस्थापनाकै दिनदेखि खसी, बोका र च्याङ्ग्रा बेच्न शुरु गर्छ । कम्पनीले हरेक वर्ष दशैंमा मात्रै करीब ३ हजार हाराहारी खसी बोका र च्याङ्ग्रा बेच्दै आएको छ । यहिँबाट दशैंको चहलपहल ह्वात्तै बढ्ने गरेको पाइन्छ ।

तर खाद्य संस्थानले बेच्ने खसी, बोका र च्याङ्ग्रा काठमाडौंमा खपत हुने कुल खसी बोकाको ५ प्रतिशत हाराहारी मात्रै हो । उपत्यकामा अहिले दशैंको लागि मात्रै करीब ६० हजार खसी बोका र च्याङ्ग्रा खपत हुने गरेको व्यवसायीहरू बताउँछन् ।

बाँकी ९५ प्रतिशत भन्दा बढी माग निजी  क्षेत्रले नै धान्ने गरेको छ । निजी क्षेत्रको पनि सबैभन्दा बढी हिस्सा कलंकी स्थित खसी बजारले लिने गरेको छ ।

तर, यो पटक काठमाडौं उपत्यकामा करीब ७० प्रतिशत खसी बोका आपूर्ति गर्ने कलंकी खसी बजारका व्यवसायीहरू खसी बोका लिन गाउँ गएकै छैनन् ।

व्यवसायीहरू डोजरसँग डराएपछि...

काठमाडौं महानगरपालिकाले खसी बजार खाली गर्न गत भदौ २ गते नै सूचना जारी गरिसकेको छ । असोज ७ गते उक्त सूचना जारी गरेको ३५ दिन पूरा हुँदै छ । विभिन्न ठाउँमा महानगर प्रमुख बालेन शाह आफै अघि सरेर डोजर चलाएको देखेका कलंकीका व्यवसायीहरू खसी बजारमा पनि कुनै पनि बेला डोजर चल्न सक्छ भन्ने त्रासमा छन् । त्यसै त्रासले गर्दा उनीहरू खसी बोका ल्याएर कहाँ राख्ने भन्ने अन्यौल भएपछि खरीदका लागि गाउँ नगएको व्यवसायीहरूले बताएका छन् ।

निजी जग्गामा सञ्चलन भइएको उक्त बजार हटाउन महानगरले विगतमा समेत पटक पटक सूचना जारी गरेको थियो । तर, व्यवसायीले भने अटेर गर्दै आएका थिए । पछिल्लो समय काठमाडौंका विभिन्न स्थानमा  महानगर प्रमुख शाह नै डोजर लिएर निस्किएपछि व्यवसायीकहरू झस्किएका छन् ।

उनीहरुले कम्तीमा ठूला चाड दशैं तिहारसम्म समय दिए छिट्टै नै अर्को व्यवस्था गर्ने भन्दै महानगरसँग अनुरोध गरेको चौपाया खरीद विक्री केन्द्र कलंकीका व्यवस्थापक जीवनराज खतिवडाले अभियानलाई बताए ।

'दशैं मुखैमा भएकाले महानगरसँग कम्तीमा ठूला चाडसम्म समय दिनुहोस भनेका छौं । मेयरलाई भेट्न सकेका छैनौं । त्यसैले के गर्ने के नगर्ने अन्यौलमा छौं,' उनले अगाडि भने । 

उनले बजारको ठेगान नै नभएकाले व्यवसायीहरुले खसी बोका खरीद गर्ने वा नगर्ने भन्ने निर्णय नै गर्न नसकेको बताए । त्यसैकारण यो वर्ष दशैंमा समयमै खसी बोका आउने सम्भावना न्यून रहेको उनको भनाइ छ ।

'यतिबेलासम्म व्यापारी साथीहरू खसी बोका खरीदको लागि गाउँ गाउँ पसिसक्नुपर्ने हो । तर, अहिलेसम्म पूर्वतयारी नै छैन । खसी बोका ल्याएर अरू सामान राखे जसरी राख्न नसकिने भएकाले माल मगाइसकेपछि कहाँ राख्ने भन्ने समस्या हुन्छ ।' उनले भने । 

काठमाडौं उपत्यकामा खपत हुने मासुको करीब ७० प्रतिशत माग धान्दै आएको कलंकी खसी बजारले प्रयाप्त मात्रमा खसी ल्याउन नसकेपछि यो वर्ष कतै कुभिन्डो र फर्सीसँग दशैं मनाउनु पर्ने त होइन भन्ने त्रास सर्वसाधारणमा परेको छ ।

पहिले जस्तो सिधै सर्वसाधरणले ल्याएर खसीबोका विक्री गर्नसक्ने अवस्था अहिले छैन । पहिले पहिले १०/१५ ओटा मात्रै खसीबोका भएपानि किसान आँफैले ल्याएर विक्री गर्न सक्थे । पछिल्लो समय सरकारले ल्याएका नयाँ नयाँ नियमका कारण सामान्य किसानले २/४ ओटा खसी सडकमा ल्याएर बेच्न सक्ने अवस्था नभएको उनको भनाइ छ ।

सरकारले खसी बोका खरीदविक्रीका लागि कर कार्यलय, यातायात, भेटनेरी कार्यलयको सिफारिस, परीक्षण गरेको प्रमाणपत्र, फर्म दर्ता नभई विक्री गर्न नपाउने लगायतका नियम ल्याएकोले प्रक्रियागत झनझटका कारण सर्वसाधरणले खसीबोका ल्याउनै नसक्ने खतिवडाको जिकिर छ ।
 
च्याङ्ग्रा पनि कम आउने, गतवर्ष भन्दा अझै महंगो हुने 
यता बजारको ग्यारेन्टी नहुँदा बाहिरबाट आउने च्याङ्ग्राको पनि टुङ्गो नभएको खतिवडा बताउँछन् ।

च्याङ्ग्रा त झन किसानले आफै ल्याउनै नसक्ने र व्यवसायीहरू जाने वा नजाने अहिलेसम्म ठेगान छैन् । गत वर्ष नै च्याङ्ग्रा महँगो भएका कारण कम विक्री भएको र अहिले अझै महँगो देखिएकाले च्याङ्ग्रा कम आउने खतिवडाको आंकलन छ ।

अर्को कारण भनेको अहिले नेपालमै उत्पादित च्याङ्ग्रा निकै कम भइसकेका छन् । दशैं तिहारमा तिब्बत (चीन)बाट च्याङ्ग्रा नल्याइ काठमाडौंको माग धान्न सकिन्न । तर अहिले चिन तर्फका नाका समेत बन्द रहेकाले च्याङ्ग्रा कम आउने खतिवडाको भनाइ छ ।

'एकातर्फ मौसमको कारण बाढी पहिरोलगायतको खतरा त छ । चिनियाँ नाका बन्द हुँदा उताको च्याङ्ग्रा पनि आउँदैन ।  १/२ जना साथी च्याङ्ग्रा लिन मुस्ताङ गएका थिए, च्याङ्ग्रा उतै महँगो छ ।' खतिवडाले भने, 'गत वर्ष हामीले यहाँ प्रतिकिलो १२/१३ सय रुपैयाँमा विक्री गरेका थियौं । महँगो भयो भनेर विक्री गर्नै गह्रो भएको थियो । अहिले त उतै प्रतिकिलो १३/१४ सय रुपैयाँ पर्छ । च्याङ्ग्रा महँगो भएकै कारण यसपटक खाद्यले पनि  च्याङ्ग्रा नल्याउने भन्ने सुनेको छु।  त्यसैले यसपाली च्याङ्ग्रा कम आउँछ ।' 

काठमाडौं उपत्यकामा दशैंको लागि मात्रै ६० हजारभन्दा बढी खसी बोका खपत हुने गरेको अनुमान छ । घटस्थापनादेखि नवमीसम्मको अवधिमा दैनिक ५ देखि ७ हजारसम्म खसी बोका विक्री हुने गरेका छन् ।नेपालमा वार्षिक ३० देखि ३५ लाख हाराहारी खसी बोका खपत हुने गरेको सरकारी निकायको अनुमान छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)