ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

तथ्यांक प्रयोगसम्बन्धी कार्यविधि स्वीकृत

२०७९ असोज, ७  
बजार समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar प्रजिता बुढाथोकी

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) को धितोपत्र कारोबारसम्बन्धी आधिकारिक तथ्यांक विक्री गर्ने बाटो खुलेको छ । नेपाल धितोपत्र बोर्डले नेप्सेले २ वर्षअघि पेश गरेको ‘तथ्यांक प्रयोगसम्बन्धी कार्यविधि–२०७७’ लाई स्वीकृति प्रदान गर्दै तथ्यांक विक्री गर्ने बाटो खुला गरिदिएको हो ।

बोर्डका प्रवक्ता रूपेश केसीले बोर्ड सञ्चालक समितिले स्वीकृत गरेको उक्त कार्यविधि नेप्से सञ्चालक समितिले पारित गरी लागू गर्न सक्ने जानकारी दिए । उनले कार्यविधिमा उल्लिखित शुल्कसम्बन्धी विवरण भने नेप्सेले नै सार्वजनिक गर्न सक्ने बताए । प्रवक्ता केसीका अनुसार नेप्सेले विभिन्न १४ देखि १५ ओटा शीर्षकका आधारमा शुल्क लिन सक्ने गरी बोर्डले कार्यविधि स्वीकृत गरेको हो । 

बोर्डले नेप्सेको महत्त्वपूर्ण तथ्यांक अनधिकृत रूपमा तानेर नि:शुल्क प्रयोग गरिरहेकाहरूको लागि आगामी दिन भारी पर्ने गरी कार्यविधि स्वीकृत गरेको हो । नेप्सेका प्रवक्ता मुराहरि पराजुलीले नेप्सेले वेबसाइटमार्फत नि:शुल्क रूपमा तथ्यांक सार्वजनिक गरिरहे पनि उक्त तथ्यांक कुनै कम्पनी वा व्यक्तिले आफू अनुकूल प्रस्तुत गर्न चाहन्छ भने अब शुल्क तिर्नुपर्ने बताए । नेप्सेले आफ्ना तथ्यांक प्रयोग गर्ने क्षेत्रअनुसारको शुल्क निर्धारण गरेको र केही शुल्कमा बोर्डले थप गरेर पठाएको प्रवक्ता पराजुलीले जानकारी दिएका छन् । बोर्डले स्वीकृत गरेको तथ्यांक प्रयोगसम्बन्धी कार्यविधि नेप्से सञ्चालक समितिले पारित गरेपछि सार्वजनिक गरिने पराजुलीको भनाइ छ ।

पराजुलीका अनुसार नेप्सेले तयार गरेको कार्यविधिमा सञ्चारमाध्यम, डाटा भेन्डर, इन्भेस्टमेन्ट कम्पनी तथा विश्वविद्यालयसँगै विदेशी कम्पनी र व्यक्तिले समेत शुल्क तिरेर तथ्यांक खरीद गर्न सक्ने व्यवस्था छ । ३० सेकेन्डभन्दा ढिला नहुने रियल टाइम डाटा, १५ मिनेटभन्दा ढिला नहुने रियल टाइम डाटा र नेप्सेको ऐतिहासिक १ वर्षदेखि ५ वर्षसम्मको डाटाका लागि फरकफरक शुल्क निर्धारण गरी कार्यविधि बनाइएको थियो । 

उक्त कार्यविधिमा तथ्यांक उपलब्ध गराएबापत कम्पनीको प्रकारअनुसार १० हजारदेखि १ लाख रुपैयाँसम्म शुल्क लिने प्रस्ताव गरिएको थियो । बोर्डले उक्त प्रस्तावित शुल्क ६ गुणाले बढाएर कार्यविधि स्वीकृत गरेको खबर बाहिरिए पनि बोर्ड र नेप्सेबाट भने आधिकारिक जानकारी प्राप्त भएको छैन । 

विदेशमा अधिकांश मुलुकका स्टक एक्सचेन्जले आधिकारिक तथ्यांक शुल्क लिएरै उपलब्ध गराउने दाबी नेप्सेले गरेको छ । बोर्डले तथ्यांकका लागि शुल्क लिनु उपयुक्त नहुने भन्दै नेप्सेले पेश गरेको कार्यविधि २ वर्षसम्म स्वीकृत गर्न सकेको थिएन । अन्तरराष्ट्रिय बजारलाई राम्रोसँग नियालेका हालको बोर्ड अध्यक्ष रमेशकुमार हमालको पहलमै कार्यविधि स्वीकृत भएको अनुमान जानकारहरूको छ । नेप्सेलाई प्रतिस्पर्धी बनाउन नयाँ स्टक एक्सचेन्जको लाइसेन्स खुला गरिसकेको बोर्डले नेप्सेको आम्दानी बढ्ने गरी कार्यविधि स्वीकृत गरेको हो । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)